समाज

महतवा : थारू जातिको सरकार

वसन्त आचार्य |
फागुन १५, २०७७ ७:२ बजे

गत वर्ष माघ १ गतेको दिन प्रदेश सांसद डिल्ली चौधरीको डुम्रिगाउँ घरमा गाउँभरिका थारूहरू जम्मा भए । सुँगुरको मासु र जाँड ल्याएर गाउँलेहरू भेला भएका थिए । उनीहरूले महतवा समेत रहेका  चौधरीलाई मन अघाउने गरी गाली गरे । एक वर्षसम्म मनमा गुम्सिएका कुराहरू खोल्नका लागि जाँडले उनीहरूलाई थप वल समेत दियो । सबैले मनभरी गाली गरिसकेपछि पुन: चौधरीलाई नै नयाँ महतवा छाने । थारू समुदायमा महतवा यस्तो व्यक्ति हो जसलाई गाली गर्न र चित्त नवुझेको कुरा गर्नका लागि माघ १ गते नै कुर्नुपर्दछ । अनि त्यही माघ १ ले उसलाई नवीकरण गर्ने या नयाँ छान्‍ने भन्‍ने निधो समेत गर्दछ ।

मुलक संघीयतामा गएसँगै अहिले तीन तहका सरकार छन् : संघ, प्रदेश र स्थानीय तह । तर यी तिन सरकार भन्दा पर अर्को सरकार पनि छ महतवा । यो थारू समुदायका लागि राज्य जस्तै हो । थारू समुदायका मानिसहरू महतवालाई सरकार प्रमुख जस्तै मान्‍छन् अनि उसले दिएका सबै निर्देशन खुरुखुरु पालना गर्छन् ।


पहिलेको तुलनामा महत्व विस्तारै खुइलिदै गएको भएपनि महतवा प्रथा जीवित भने रहेको छ । थारू जातिमा सबैको नेतृत्व गर्ने सर्वमान्य व्यक्तिलाई महतवा भनिन्‍छ । त्यही महतवाले राज्यभित्र पनि छुट्टै राज्य चलाउँछ  । महतवा छुट्टै राज्य हो भन्‍नका लागि केही दृष्टान्त छन् :

दुई वर्ष अगाडि हेकुली गाउँमा सिँचाइ पानीको अभाव थियो । खेतमा पालैपालो सबैले पानी लगाउँथे । यो नियम महतवाको उपस्थितिमा सबैले पास गरेका थिए । महतवाले भन्यो भने त्यो कानुन नै हुन्‍छ थारू समुदायका लागि । तर एक जना किसानले भने रातको समय पारेर अरुको खेतमा जाने पानी आफ्नो खेतमा हालेछ । त्यसलाई पत्ता लगाइयो । गल्ती खासै ठूलो थिएन । चोर्ने वालाको घरमा गएर चल्ला मारियो अनि त्यसको टुक्रा सबैका घरमा पुर्‍याइयो ।

गाउँका एक युवाले विवाह गरेकी श्रीमतीलाई वास्ता गर्न छाडे । दिन बित्दै जाँदा थाहा भयो उनले अर्की श्रीमती ल्याएका रहेछन् । श्रीमतीले महतवा कहाँ उजुरी हालिन् । सबै जम्मा भए । युवतीले युवकले दिएका सबै गहना र लत्ताकपडा उसलाई नै छाडेर गइन् । खुटमा लगाएको चप्पल समेत उनले छाडिन् । महतवाको नियम अनुसार उनले श्रीमानसँग सम्पत्तिको नाममा केही पनि पाइनन् ।

श्रीमान घरमा नभएको मौकामा उनकी श्रीमतीले अर्को मानिससँग यौन सम्बनध राखिन् । यो कुराका वारेमा गाउँमा चर्चा हुन थाल्यो । एक कान दुई काम मैदान हुन थालेपछि यो कुरा महतवासम्म पनि पुग्यो । उनले दुवैजनालाई बोलाए । श्रीमानले श्रीमतीलाई एकपटकलाई क्षमा दिने विन्ति विसायो । महतवाले त्यसलाई अनुमोदन पनि गरे तर अर्काकी श्रीमतीसँग सम्बनध राख्‍ने मान्‍छेले ठूलो गल्ति गरेकाले उसलाई भने सजाय दिइयो । महतवाको सजाय गल्ती अनुसार घरमा पालिएको जनावर मारेर सबै घरमा पुर्याउने प्रचलन हुन्थ्यो । उनको घरमा रहेको सुँगुर काँटेर सबैका घरमा पठाइयो ।

केही समय अगाडि हेकुलीमा वस्ने संस्कृतिविद् अशोक चौधरीको आमाको मृत्यु भयो । गाउँका महतवाले सबैलाई जम्मा पारे । अनि उनले हरेक दिन घरको काममा सघाउनका लागि दैनिक ३ जनाका दरले गाउँलेलाई तोके । गाउँलेहरू १३ दिनसम्म दैनिक पालैपालो उनको घरमा सघाउन गए । घरमा केही अभाव हुँदा उनीहरूले सामुहिक रूपमा जुटाउने काम समेत गरे ।

आदिम कालदेखि सुरु भएको महतवा प्रथा अझै पनि जीवित छ । प्रदेश सभासद एवम् पूर्व राज्यमन्त्री डिल्ली चौधरीका अनुसार दाङ्गदेखि पश्चिम तिरका जिल्लामा मात्रै ६२ सयको हाराहारीमा यस्ता महतवाहरू रहेका छन्  । हरेक थारू गाउँमा महतवाहरू अहिले पनि पुर्खाको विँडो मात्रै थामिरहेका छन् तर यो कहिलेसम्म थामिने हो उनीहरूलाई नै थाहा छैन । उनीहरूसँग सत्ता छ, पद छ तर पावर छैन, पछिल्लो समय सम्मान पनि कम हुँदै गएको छ । एकै ठाउँमा भेला भएर महतवा छान्‍ने थारू समुदायका मानिसहरू अहिले विभिन्‍न नाममा विभाजित हुन थालेका छन् ।

‘महतवा केवल नाममा मात्रै सीमित रहेको देखिन्‍छ’ थारू संस्कृतिविद अशोक थारूलाई लागेको कुरा हो यो । पछिल्लो समय थारू समुदायका विभिन्‍न मानिसहरू खण्डित हुँदै जान थालेपछि अहिले उनीहरूलाई महतवा समेत जोगाउँन धौ धौ भएको छ । महतवाले गरेको निसाफ माथि कुनै पनि प्रश्न नगर्ने थारू समुदायका मानिसहरू समस्या पर्दा अहिले महतवा कहाँ जान कम गरेका छन् । ‘हाम्रो गाउँमा महतवा बन्‍ने मान्‍छे नभेटिएर अहिले कोही पनि छैन,’ तुलसीपुर  ६ बरुवागाउँका नारायण चौधरीले भने ।

प्रदेश सांसद डिल्ली चौधरी विगतको तुलनामा महतवा प्रथाको लोकप्रियतामा केही ह्रास आएको भएपनि पुरै नहराएको वताउँछन् । उनका अनुसार अहिले महतवाहरूले मुख्य गरेर ५ वटा काम गरिरहेका छन् । पुजा आजा गर्ने कामको नेतृत्व पहिलो काम, मान्‍छे मर्यो, कसैको घरमा विवाह भयो या कुनै पुजा भयो भने मानिसहरूलाई खटाउने र सघाउने दोस्रो काम, माघी, दसैँलगायतका अन्य चाडमा मासुको व्यवस्थापन गर्ने तेस्रो काम, बाटो बनाउने, कुलो पानीको व्यवस्था गर्ने चौथो काम, झैझडा पर्दा सकभर गाउँघरमै सबैलाई भेला पारेर मिलाउने अन्तिम काम ।

यसरी हराउँदैछन् 
ज्योति चौधरीको घर दंगीशरण ३ बिजुलीपुरमा रहेको छ । उनी पेशाले लेखापढी व्यवसायी हुन् । महतवाको भुमिकावाट भर्खरै बाहिर आएका उनी थारू समुदायको लापरवाही नै महतवा प्रथा हराउनुको कारण मान्‍छन् । ३ वर्षसम्म महतवा बनेको ज्योतिसँग निकै रमाइला अनुभव छन् । उत्तिकै दुखपूर्ण पनि । ‘महतवाको कामै छैन भनेर हेला गर्न लागेपछि मैले छाडेको हुँ,’ उनले दुख पोखे । थारू जातिमा छोरीको विवाह भएपछि रक्सी, भाले र गुन्द्री चढाउने संस्कार छ । त्यो सबै सम्मानका लागि दिने गरिन्‍छ । भुइह्यारमा चढाइपछि महतवालाई सम्मान स्वरूप टक्राउनु पर्दछ । महतवा थारू समुदायका देवता जस्तै मानिन्‍छन् । तर उनलाई गाउँलेले कोसेली दिनुहुँदैन भनेपछि उनको मन विरक्तियो । चल्ला र गुन्द्री भन्‍ने सामान्य कुरा हो सम्मान मुख्य कुरा हो । त्यसैमाथि प्रश्न गरेपछी उनले महतवा पद नै छाडिदिएको वताए । ‘सम्मान हुँदैन भने सम्मानित पदमा बस्नुको अर्थ के भयो र ?’ उनले भने ।

तुलसीपुर ६ बरुवागाउँमा पनि करिव ७ वर्ष पहिले महतवाको मृत्यु भएपछि अहिलेसम्म कोही पनि महतवा बनेको छैन । ‘गाउँलेहरूलाई मतलव छैन, भुईह्यार समेत बनाएका छैनन अनि कसरी महतवा हुन्‍छन् त ?’ नारायण चौधरीले भने । महतवा नै नभएपनि नयाँ पुस्ता यसबाट टाढै रहेको उनले वताए । ‘हाम्रो समुदायमा महतवा पनि हुन्‍छ र ?’ बरुवागाउँमै वस्ने आश्मा चोधरी (१५) ले उल्टै प्रश्न गरिन् ।

एक समय थियो थारू समुदायको संस्था, सरकार या भगवान जे भनेपनि महतवा नै थियो । उनीहरू हरेक समस्याको समाधान गर्ने व्यक्तिका रूपमा महतवालाई नै लिने गर्दथे । कुन दिन कुन देवताको पुजा गर्ने भन्‍ने निर्णय पनि महतवाले नै गर्ने गर्दथ्यो । तर राजनीतिक परिवर्तनसँगै विस्तारै विभिन्‍न संघसंस्था खुल्नुका साथै थारू समुदाय पनि राजनीतिक कारणले वदलिदै जान थाले । थारू समुदायमै क्रिश्चियन धर्मको प्रभावका साथै  दश दर्षे द्वन्द्वले समेत यो प्रथालाई किराना लगाउने काम गर्‍यो ।

कुनै एक दलप्रति आस्था राख्नेले अर्को दलप्रति आस्था राख्ने महतवालाई स्विकार गर्न नसक्ने अवस्था आयो । यसका साथै केही अन्याय पर्दा पनि सजिलै कानुनी उपचार पाउने भएपछि उनीहरू अड्डा अदालत धाउन थाले । विस्तारै देखासिकी गर्दा गर्दै अहिले नयाँ पुस्ताले यसलाई लत्याउँदै जान थाल्यो । सबैले मान्‍ने अनि सम्मान गर्ने महतवाको महत्व घट्दै जान थालेपछि अहिले महतवा को बन्‍ने भन्‍ने समस्या पर्न थालेको छ । महतवा बन्‍नका लागि हानथाप हुने समुदायमा नयाँ पुस्ता टाढिन थालेका छन् । राजा र भगवान् जस्तो पदमा पनि कसैले बस्‍न नमान्‍नु भनेका आफैमा दूर्भाग्यपूर्ण कुरा बनेको छ ।

यस्तो थियो अधिकार
वाइसे चौविसे राज्य हुने बेलामा होस् या राणाकालमा थारू समुदायका हरेक समस्याको समाधान महतवाले गथ्र्यो । राज्यले समेत सन्धिपत्रमा लेखेर महतवाको आधिकारीकता दिएको थियो । वर्षभरि कुन चाड कुन तिथीमा कसरी मनाउने भन्‍ने निर्णयदेखि कुलोपानीको विवादसम्मका कुरा पनि महतवाको जिम्मामा हुन्थ्यो । थारू संस्कृतिविद अशोक महतवा प्रथालाई राज्यका अगसँग दाजेर हेर्छन । राजा या राष्ट्रपतिको ठाउँमा महतवा, प्रधानमन्त्रीको गाउँमा अघवा र सांसदको ठाउँमा गरदुर्याहरू रहने गरेका छन् । ‘हरेक घरबाट गरदुर्या छानिन्‍छन तिनले अघवा र महतवा छान्‍छन्’ संस्कृतिविद अशोकले सबैको इच्छा अनुसार दोहोर्याउने गरेको समेत वताए । उनले महतवा बन्‍ने मन भएपनि अग्रजका सामु कसैले कुरा खोल्न नसक्ने पनि बताए ।

व्यवस्थित गर्नुको साटो राज्यले कानुनलाई मात्रै आधार बनाएर महतवालाई महत्व दिन नसकेको उनीहरूको आरोप छ । 

सबै जनतालाई खुसीसँग राख्ने महतवालाई राज्यले लालमोहर समेत दिने गर्दथ्यो । त्यस्ता महतवाहरू अरुभन्दा अझ बढी शक्तिशाली हुनेगर्दथे । उनीहरूको कार्यक्षमताको आधारमा राज्यले त्यस्ता मोहरहरू दिने गर्दथ्यो । सबैले छान्‍ने गरेको भएपनि धेरै जसो महतवाहरू वंशाणुगत गुणका आधारमा हस्तान्तरण हुने गरेको पनि संस्कृतिविद् चौधरीले जानकारी दिए । उनले काम गर्न सकिँदैन भन्‍ने लागेमा या मृत्यु भएमा मात्रै महतवाले पद छाड्ने गरेको पनि वताए । थारू समुदायमा विधान अलिखित हुने भएकाले महतवाले भनेको कुरा नै कानुन हुने प्रचलन रहेको छ ।

समयक्रमसँगै महतवालाई कानुनी मान्यता दिएको राज्यले नै उसका सबै अधिकार खोस्यो । उनीहरू राज्यले आफुलाई उपेक्षा गरेको मान्‍छन् । व्यवस्थित गर्नुको साटो राज्यले कानुनलाई मात्रै आधार बनाएर महतवालाई महत्व दिन नसकेको उनीहरूको आरोप छ । राणाकालसम्म कानुनी हैसियत समेत राख्‍ने उनीहरूको अधिकार पञ्चायत कालबाट शून्यमा झर्‍यो । आस्था र विश्वासका आधारमा त कति पो टिक्न सक्थ्यो र विस्तारै ओरालो लाग्दै जान थाल्यो ।

अहिले के गर्छन् ? 
महतवाको अधिकार खुम्चिएर हराउँदै गएको भए पनि महतवा प्रथा भने अहिले पनि हराएको छैन । हरेक थारू गाउँमा माघीको अवसर पारेर महतवा छान्‍ने चलन भने उस्तै छ । तर पहिले जस्तो रौनक भने अहिले हुँदैन । महतवा को बन्‍ने भन्‍ने होडबाजी होइन बन्दैन भन्‍ने होडबाजी चल्ने गरेको छ । तर पनि उनीहरूले केही सानातिना काम भने गरेर समाजमा सुव्यवस्था कायम गरिरहेका छन् । थारू समुदायका झै झगडा खासै प्रहरी कार्यालयमा पुग्ने गरेका छैनन् । ‘हामीले अहिले पनि गाउँमै मिलाउने प्रयत्न गर्छाै, अदालत या प्रहरी कार्यालयमा हेर्ने हो भने थारू समुदायका मुद्दा निकै कम छन्’ सांसद चौधरले भने ।

कुलो पानीको समस्या मात्रै होइन, विभिन्‍न पूजाआजाका लागि समेत महतवाको आवश्यकता खड्किदै गएको छ । कतिपय ठाउँमा थारू गाउँहरू हराउँदै गएकाले पनि महतवा हराउँदै गएको उनीहरूको भोगाई छ । ‘मुख्य गरेर कुलोपानीको समस्या समाधानका लागि महतवाको भूमिका धेरै हुन्थ्यो अव सबै खेतियोग्य जमिनमा घर बनेपछि झनै हराउन थाल्यो’ युवा नारायण चौधरीले भने । अहिले अधिकांश ठाउँमा महतवाको मुख्य काम भनेको भुइह्यार थान पुजा गर्ने र विभिन्‍न धार्मिक कार्यमा सहभागिता जनाउने मात्रै रहेको छ ।

बन्दैनन् भुइह्यार थान 
थारू जातिको वाहुल्यता रहेको दाङ्गमा विस्तारै थारूहरूले पुजा गर्ने मन्दिर अर्थात् भुइह्यार थान हराउँदै जान थालेका छन् । अन्य मन्दिर बन्‍नुका साथै थारूहरूले नै पहलकदमी लिन नसक्दा यस्ता भुइह्यार हराउँदै गएका हुन् । भुइह्यार नै नबनेपछि महतवाको महत्व नहुने भएकाले पनि महवता प्रथा हराउँदै गएको थारू अगुवाहरू तर्क गर्छन् । द्वन्द्वको समयमा महतवा प्रथाको महत्व कम भएकाले हराएको स्विकार्दै राष्ट्रिय अध्यक्ष समेत रहेका सभासद चौधरीले स्थानीय सरकारको पहलमा विभिन्‍न ठाउँमा भुइह्यार थान निर्माण हुँदै गएको बताउछन् ।

हिजो महतवाले गर्ने काम अहिले वडा कार्यालय, टोल विकास संस्था जस्ता निकायले गर्न थालेका छन् । पहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम महतवाले नै गर्थे । अहिले यी अधिकार क्षेत्र कटौती भएका छन् । अनौपचारिक रूपमा पुरानो चलनअनुसार काम गरे पनि वैधानिकता नहुने भएकाले महत्वका केही कमी आएको छ  ‘महतवाले कुनै निर्णय गरे पनि त्यसले कानुनी रूपमा मान्यता पाउँदैन । वैधानिकता नभएपछि महतवाको अधिकार क्षेत्र खुम्चिँदै गएको छ’ पूर्वमहतवा ज्योतिले भने । थारू जातिको ऐतिहासिक महत्व र परम्पराअनुसार स्थानीय सरकारको कुनै पनि संयन्त्रमा महतवाको सहभागिता स्वीकार गर्न सकेमा यो संस्कार जीवित हुन सक्ने आधार देखिन्‍छ ।


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x