समाज

पत्रकार महासंघले भन्यो:

‘सिभिल अस्पतालको लापरबाहीले पत्रकार एलबी विश्वकर्माको मुत्यु भएको हो’

इकागज |
माघ १४, २०७८ शुक्रबार २२:४८ बजे

काठमाडौँ : टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निश्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ ।  

नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राही मैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सर्वोच्च अदालतले कोभिड–१९ बाट सङ्क्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न २०७७ असोज १५ गते आदेशसमेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासङ्घले सरकारसँग आग्रह गरेको छ ।  


सरकारले सरकारी अस्पतालमा पटकपटक पत्रकारको निःशुल्क उपचार हुने भनी गरेको घोषणाको व्यावहारिक कार्यान्वयन गर्नतर्फ ध्यान दिन पनि महासङ्घले सरकारसँग आग्रह गरेको छ । यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने महासङघको ठहर छ । टिभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासङ्घको माग छ ।   

स्व. पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । भविष्यमा पर्न आउने समस्याका लागि थप योगदान र सक्रियताका लागि प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ । मृतक पत्रकार विश्वकर्मासँग आश्रित परिवार श्रीमती र साढे तीन वर्षको छोराको हेर विचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाइको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासङ्घले आग्रह गरेको छ ।  

पत्रकार विश्वकर्माको जीवन बचाउने सन्दर्भमा कुनै पनि भूमिका खेल्नबाट वञ्चित भएकोमा महासङ्घले दुःख व्यक्त गरेको छ । यदी कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या छ भने पत्रकार महासङ्घको सम्पर्कमा आउन पनि महासङ्घको आग्रह छ । पत्रकार विश्वकर्माको माघ ६ गते बिहान मृत्यु भएको थियो । 
 


Author

थप समाचार
x