समाज

पुराना कर्मचारीहरुले पुनर्वहालीको माग गर्दै रेलवे कार्यालयमा गरे तालाबन्दी

सुभाष कर्ण |
माघ १४, २०७८ शुक्रबार १७:२७ बजे

जनकपुरधाम – पुरानो तालिम प्राप्त कर्मचारीहरुलाई पुनर्वहाली गर लगायतका माग गर्दै रेलवेका पुराना कर्मचारीहरुले जनकपुरधामस्थित नेपाल रेलवे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन्।

आन्दोलनरत रेलवेमा कार्यरत पुराना कर्मचारीहरुले महाप्रबन्धक निरञ्जन झाले आफू आबद्ध जनता समाजवादी पार्टीका कार्यकर्ताहरुलाई भर्ना गर्न आफूहरुलाई हटाइएको आरोप लगाउँदै पुनर्वहालीको माग गर्दै बिहीवारदेखि रेलवेको कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका छन ।


गत करिब दुई सातादेखि रेलवे कार्यालय परिसरमा धर्ना दिँदै आएका पुराना कर्मचारीहरुले प्रहरी राखेर नयाँ कर्मचारीहरुलाई दिइरहेको तालिम बन्द गर्नुपर्ने, पुरानो कर्मचारीहरुलाई बहाली गर, पुराना पारिश्रमिक भुक्तानी गर र महाप्रबन्धक झाले राजीनामा दे लगायतका माग गर्दै धर्नामा बसेका छन् ।

धर्नाको दुई साता बित्न लाग्दा सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि बाध्य भएर रेलवेको कार्यालयमा तालाबन्दी गरेको रेलवेका पुराना कर्मचारी मञ्जय गोइतले बताए । उनले भने, 'मन्त्रीको निर्देशनमा आफूहरुलाई महाप्रबन्धक झाले हटाएर आफू आबद्ध पार्टीका नयाँ ५५ जना कार्यकर्तालाई नियुक्त गरी तालिम दिइरहेको छ।'

गोइतले थप्दै भने, 'एक सय ५१ जना कर्मचारी दरबन्दी रहेकोमा नयाँ ५५ जनालाई राखेकोमा आफूहरुलाई कुनै आप छैन । तर एक दशकभन्दा बढी समयसम्म विगतमा रेलवेमा काम गरिसकेका कर्मचारीहरुलाई पनि समायोजन गरेर राख्नुपर्छ । आफूहरुको माग सम्बोधन नभए कुनै पनि हालतमा रेल सञ्चालन हुन दिने छैनौँ।'

ती रेलवे कर्मचारीहरुले मुख्यमन्त्रीको कार्यालय, प्रमुख जिल्ला र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालय भौतिक पुर्वाधार तथा मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरु भन्छन्, 'आफूहरुको मागलाई बेवास्ता गरिए भने रेल संचालन गर्न दिने छैनौँ।'

केपी ओली नेतृत्वको सरकारको बेला तत्कालीन रेलवे महाप्रबन्धक गुरु भट्टराईले २०७० सालसम्म खटेका कर्मचारीहरु मध्ये ७० जना र ८१ जना नयाँ गरी विभिन्न तहका गरी १ सय ५१ जनालाई कर्मचारीको रुपमा नियुक्त गरेको थियो ।

गएको वैशाख महिनादेखि श्रावण महिनासम्म किस्तारुपमा एक महिनाको प्रशिक्षण दुई महिनासम्म डियुटीमा समेत खटाइएको थियो । तर सोही बीचमा झा नयाँ महाप्रबन्धकमा नियुक्त भएपछि उनले आर्थिक भार बढी भयो भनेर एक प्रेस विज्ञप्ति जारी भट्टराईले नियुक्त गरेका सबैं कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी पुस २८ गतेदेखि तालिम दिन लगाएका छन् ।

'आफू २०५८ सालदेखि २०६८ सालसम्म करिब १० वर्ष काम गर्‍याैँ, रेल बन्द भएपछि आफूहरुलाई रेल सञ्चालनमा आएपछि पुनः बहाली गर्ने शर्तमा हटाइयो । रेल सञ्चालनकै क्रममा तत्कालीन महाप्रबन्धक भट्टराईलाई नियुक्त गरियो, तर आफ्ना पार्टीका कार्यकर्तालाई भर्ना गर्न आफूहरुलाई बिना कुनै जानकारीको हटाइएको छ ।',पुराना कर्मचारी मध्येका अजयकुमार गोइतले भने,'आफूहरु प्रक्रिया पुरा गरेर तालिम लिई दुई महिनासम्म डियूटी समेत गरे, नियुक्त भएदेखि ५ महिना खटेका छौं पुराना तीन महिनाको तलब समेत बांकी छ।'
 
यसैबीचमा दलीय स्वार्थ पुरा गर्न आफूहरुलाई हटाउनु उचित नरहेको भन्दै आफूहरुलाई पुर्नबहाली नगरे रेल सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

पछिल्लो पटक पुराना कर्मचारीसहितकालाई दिइएको तालिममा एक करोड १५ लाख रुपैया खर्चिएको थियो । नयाँ तालिममा समेत एक करोडको हाराहारीमा कम्पनीले खर्च गर्न लागेको छ ।

यसअघि पुरानो लिएका तालिम लिएकाहरुलाई के कति कारणले हटाएर नयाँ भर्नाका तालिम दिइरहेको प्रसंगमा रेलवेका महाप्रबन्धक झाले संचारकर्मीहरुसंग कुरा गर्दै नयाँ पुरानो कर्मचारी के हो भन्ने कुरा आफूलाई थाहा छैन, लोक सेवा आयोगले करारमा कर्मचारी भर्ना गर्न पाइँदैन भनेपछि तिनीहरुलाई कानून सम्मत हटाएर दैनिक ज्यालादारीमा कमर्चारी भर्ना गरेर तालिम दिन लागेको बताएका थिए ।

उता रेलवेका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले भने रेल खरिद भइसकेपछि पुरानो कर्मचारीको पीरमार्का बुझेर तिनीहरुमध्ये सक्नेलाई घरबाट बोलाएर लोक सेवा आयोगको विज्ञापनअनुसार निवेदन दिलाएर तालिम दिई उत्तीर्ण भएकाहरुलाई डियूटीमा खटाएका थिए । तर अहिले दलीय स्वार्थमा आफ्ना पार्टीका कार्यकर्ता भर्ना गर्ने ती पीडित कर्मचारीहरुलाई हटाउनु सरासर गलत रहेको बताएका छन ।

यसअघि स्टेशन मास्टर, गेट म्यान, गैंगम्यान, इन्चार्ज इन्जिनीयर र टिकट म्यान, टीटी लगायतका आधा दर्जनभन्दा बढी पदमा तालिम दिइएको थियो । अहिले पनि एक महिनासम्म सो तालिम केन्द्रमा गेट म्यान, गैंगम्यान, प्वाईन्ट, किम्यान र स्टेशन मास्टरको तालिम भइरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x