समाज

बाटो भुलेकी महिला बलात्कार घटनाका तीन आरोपी पक्राउ

इकागज |
माघ १३, २०७८ बिहिवार २१:३३ बजे

विराटनगर - बाटो भुलेकी एक विवाहित महिलालाई बहिनीको घरमा पुर्याइदिने भन्दै फकाएर होटलमा पुर्‍याई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित तीनजना आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलका सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठसहित सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम वहादुर नेपाली भनिने सुधान्सु दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


उनीहरुले माघ ९ गते शुक्रबार बेलुका साढे ५ बजेको समयमा सुनसरीको इटहरीमा काम गरेर बलियास्थित बहिनीको घर जाने क्रममा बाटो अलमलिएकी ती महिलालाई गछिया खोलाको पुल नजिकबाट गाडीमा हालेर होटल पुर्‍याएर सामूहिक बलात्कार गरेको जनाइएको छ । 

घटनाको भोलीपल्ट शनिबारमात्रै पीडितकी बहिनीले प्रहरीमा घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई शनिबारै पक्राउ गरेपनि दर्जी भने फरार भएका थिए ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र इलाका प्रहरी बेलबारीबाट खटिएको प्रहरीको विशेष टोलीले इलामको सुर्योदय नगरपालिका–१२ तिनघरेमा लुकेर बसेका दर्जीलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनामाथि जबरजस्ती करणी अभियोगमा अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 


Author

थप समाचार
x