समाज

कोभिडको तेस्रो लहर

काठमाडौँ उपत्यकामा जोर-बिजोर लागू भएपछि झन् बढ्यो संक्रमण

सार्वजनिक स्थानमा भीडभाड कम र खोपलाई तीव्रता दिएको दाबी

अतिन आचार्य |
माघ १३, २०७८ बिहीबार १५:१८ बजे

फाइल फोटो

काठमाडौँ- मुलुकभरमा सबैभन्दा बढी कोभिड-१९ संक्रमितको संख्या उपत्यकामा छ । दैनिक तीन हजारको हाराहारीमा संक्रमण थपिने गरेका छन् । कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएका छन् ।

ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको संक्रमणकाे चेन टुटाउन भन्दै  काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सवारीसाधनमा ८ गतेदेखि जोर-बिजोर प्रणाली लागू गरिसकेका छन् । संक्रमितको संख्यामा वृद्धि भए पनि तर, सडकमा सवारीसाधनको संख्या कम भए पनि संक्रमण दरमा कमी आएको छैन । साना-साना सवारीसाधनमा मानिसहरू झुण्डिएर यात्रा गर्न बाध्य छन् ।


जोर-बिजोर प्रणाली लागू भएपछि मात्र उपत्यकामा २२ हजार ९०५ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १७ हजार १८०, ललितपुरमा ३ हजार ७०७ र भक्तपुरमा २ हजार १८ संक्रमित थपिएका छन् । त्यसैगरी सक्रिय संक्रमित ५५ हजार ८०९ जना छन् । काठमाडौँमा ४० हजार १२, भक्तपुरमा ५ हजार ७२८ र ललितपुरमा १० हजार ६९ जना छन् ।

व्यवसायी, जनस्वास्थ्य विज्ञ तथा सर्वसाधारणले जोर-बिजोर प्रणाली लागू भएपछि पनि संक्रमणदर नघटेको तर, झन बढी सास्ती भोग्‍नुपरेको भन्दै गुनासो गरिरहेका छन् । संक्रमितको संख्या 'चेन ब्रेक' हुन्छ भनेर लगाइएको जोर-बिजोर प्रणाली पनि प्रभावकारीता बन्‍न सकेको छैन । सडकमा सवारीसाधनको संख्या घटाउँदैमा संक्रमितको संख्या घट्ने वैज्ञानिक आधार पनि बनिसकेको छैन ।

सार्वजनिक यातायातमा यात्रुहरू खचाखच भरिएर यात्रा गर्न अहिले पनि बाध्य छन् । बसभित्र भौतिक दूरी कायम हुन सकेको छैन । जसले संक्रमणको 'ब्रेक' भन्दा पनि झन फैलने जोखिम बढाइरहेको छ । उपत्यकामा सबैभन्दा बढी भीडभाड बिहानी कार्यालयको समयमा हुने गरेको छ । आफ्नो कार्यालयमा समयमा उपस्थिति जनाउनुपर्ने भएकाले मानिसको चाप बढी हुन्छ ।

जसले संक्रमणदर रोक्नेभन्दा पनि अझ बढाउने देखिएको छ । तर, प्रशासनले भने सडकमा यातायातको साधन कमी भएपछि बाहिर  संक्रमण दर घट्न थालेको बताउँदै आएको छ ।

'जोरबिजोर प्रणाली लागू भएपछि यात्रुले स्वास्थ्य मापदण्ड अपनाए'

सवारीसाधनमा जोर- बिजोर लागू भएपछि यात्रुहरूले जनस्वास्थ्यको मापदण्ड अपनाउन थालेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा दाबी गर्छिन्। 'सांकेतिक रुपमा सबैलाई जनस्वास्थ्यको मापदण्ड भित्र रहेर काम गर्न भनिएको हो,' उनले भनिन,' सबैले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गरेका छन् ।'

जोर-बिजोर प्रणाली लागू नगरिएको भए संक्रमण झन तीव्र रुपमा फैलिएको शर्माले बताइन् । अहिले देखिएको संक्रमण अगाडि फैलिएको हुन सक्ने उनको भनाइ छ । केही दिनमा फैलिरहेको संक्रमितलाई समिक्षा गरी यो व्यवस्थाप्रति केही गर्न सकिने उनले सुनाइन ।

मुलुकको अर्थतन्त्रमा असर पर्ने भएकाले लकडाउन नगरिएको उनले बताइन् । पूर्ण रुपमा बन्द गर्दा राज्य र नागरिकलाई फाइदा नपुग्‍ने शर्माको भनाइ छ । 'सार्वजनिक स्थानमा मानिसहरूको भीडभाड कम भएको छ,' उनले भनिन्,' खोप अभियानलाई तीव्रता दिएको छ । मुख्यतया मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपरो ।'

'सोमबारदेखि सडकमा यातायातको साधन निकाल्छौ'

राष्‍ट्रिय यातायात महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सवारीसाधनले कोभिड संक्रमितको संख्या बढाउनेमा असहमति जनाए । संक्रमित मानिसले यात्रा नगरेमा कोभिड नसर्ने उनले विश्‍वास व्यक्त गरे ।

'जोरबिजोर व्यवस्था लागू गरेदेखि हामीले विरोध गर्दै आइरहेका छौ,' उनले भने,' आइतबार सम्ममा प्रशासनले केही निर्णय नगरेमा आगामी सोमबारदेखि हामी आफैँ निर्णय गर्नेछौ ।'

सरकारको माथिल्लो निकायमा सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपरो भनेर ज्ञापन पत्र बुझाइसकेको उनले बताए । दुई दिनमा जिल्ला प्रशासनले केही निर्णय गर्नेछ भनेर आशा गरेको उनको भनाइ छ ।

'सवारीसाधनमा भएको भीडले कोभिड सर्दैन'

जनस्वास्थ्यविद् डा.समिरमणी दीक्षित अहिले बढिरहेको संक्रमण रोक्‍न जोरबिजोर प्रणालीले काम नगर्ने बताउँछन् । सर्वसाधारणलाई आफ्‍नो काममा जानैपर्ने बाध्यता छ । सवारीसाधनमा मानिसको चाप बढ्ने भएकाले झन संक्रमण फैलने जोखिम रहको उनको दाबी छ ।

पछिल्लो समय संक्रमितको संख्या नघटे पनि प्रतिशतमा घटेको छ । कोभिड परीक्षण दर बढाउनुपर्ने दीक्षितको सुझाव छ । दुई-तीन सातामा संक्रमण घट्ने उनले विश्वास व्यक्त गरे । अहिले देखिएको संक्रमणले गम्भीर नबनाइ पाँच-सात दिनमा संक्रमणमुक्त हुने गरेको भनाइ छ ।

'सवारीसाधनको संख्या बढाएर ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्नुपर्छ,' दीक्षितले भने,' जोरबिजोरले संक्रमण नियन्त्रण होइन थप यसले संख्या बढाउन सहयोग गर्छ । मानिसको चाप बढी हुने भएकाले तीव्र रुपमा फैलन सक्छ ।'

खोप लगाएका मानिस पनि संक्रमित हुने भएकाले सबैले जनस्वास्थ्यको मापदण्ड गर्नुपर्ने उनको भनाइ छ । 'उपत्यकामा करिब ८० प्रतिशत मानिसमा संक्रमण देखिएको छ, खोप लगाएकामा संक्रमण देखिएकाले लकडाउन गरेर संक्रमि हुनबाट सुरक्षित भइदैन ,' दीक्षितले भने । सरकारले सामाजिक दूरी कायम गर्न लगाएर स्वास्थ्यको मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्‍चालन गर्न दिनुपर्ने उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x