समाज

बाटो अलमलिएकी युवतिलाई होटल पुर्‍याएर सामूहिक बलात्कार

बाबुराम भण्डारी |
माघ ९, २०७८ आइतबार १६:५५ बजे

होटल र युवतिलाई हाेटलमा पुर्‍याउन प्रयोग गरिएको गाडी ।

विराटनगर - बाटो भुलेकी ३० वर्षीया युवतिलाई आफन्तको घरमा पुर्‍याइदिने बहाना बनाएर होटलमा पुर्‍याएर सामूहिक बलात्कार गर्ने मध्येका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियामा अपहरण शैलीमा युवतिलाई होटल पुर्‍याएर बलात्कार गरेको आरोपमा स्थानीय श्रेष्ठ होटल एन्ड फेमिली लजका संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरीमा काम गरेर मोरङको सुन्दरहरैंचास्थित गछिया (बहिनीको घर) जाने क्रममा युवतिले बाटो भुलेको र होटल संचालक श्रेष्ठले उनलाई बहिनीको घरमा पुर्‍याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटलमा पुर्‍याएको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ । 


जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बलात्कारको घटनामा संलग्नता देखिएका र हाल फरार भएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपालीको खोजी भइरहेको जानकारी दिए । 

प्रहरीका अनुसार पक्राउ परेका अर्जुन श्रेष्ठले उनलाई होटलमा पुर्‍याएपछि बेहोस हुने गरी कुटपिट गरेपछि उनीहरूले सामूहिक बलात्कार गरेका हुन् । शनिबार बिहानमात्रै बहिनीको सम्पर्कमा पुगेकी युवतिले घटना विवरण सुनाएको र होटलको कोठामा रगत समेत देखिएपछि बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् ।

बलात्कृत युवतिको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्ने उदेश्यले युवतिसँगै अस्पताल आइपुगेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कुटपिटबाट पीडित युवतिको शरीरभरि निलडाम देखिएको र यौनांगमा समेत चोटपटक देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतबार म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रवक्ता मुकारुङले बताए ।

यसैबीच मोरङकै सुनवर्षी नगरपालिका–७ की अपांगता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय सुरेन्द्र ऋषिदेव पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार भएको जानकारी आएपछि गएको प्रहरी टोलीले सुरेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए । 

आरोपी सुरेन्द्रलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x