समाज

चावहिल र मित्रपार्कमा आकाशे पुल बन्‍ने

इकागज |
माघ ९, २०७८ आइतबार १२:३६ बजे

काठमाडौँ- चावहिल र मित्रपार्कमाआकाशेपुल बन्‍ने भएको छ । काठमाडौँ महानगरपालिका वडा ७ मा अवस्थित आइतबार प्रमुख विद्यासुन्दर शाक्यले दुई वटा पुलको एकैपटक शिलान्यास गरेका हुन् ।

चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुई पुलको निर्माण हुने भएको हो । शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भीडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको बताए ।


'काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उनले भने,' स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।'

उनले मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिए । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्र्यौ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,उनले भने, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।'

सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने शाक्यको विश्‍वास छ । बढी भिडभाड र दुर्घटना हुने चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ ।

 काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठले अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भएको भन्दै आज चावहिल चोक र मित्रपार्कमा शिलान्यास भएको जानकारी दिए । जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

 

 

 

 


Author

थप समाचार
x