समाज

जनयुद्धमा ३५ लडाइँ लडेका विजय: जिन्दगीका पाना पल्टाउँदै, अटो चलाउँदै

जितेन्द्र थापा |
पुस १४, २०७८ बुधवार १२:७ बजे

सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा माओवादीको पहिलो प्रदेश सम्मेलन चल्दै थियो । सिटी हलमा सम्मेलन चलिरहँदा बजारमा हसियाँ हथौँडा अंकित नेकपा माओवादी केन्द्र लेखिएका टोपी र टिसर्ट लगाएका राता मान्छेको चहलपहल निकै थियो । पहिले पहिले गाउँमा क्रान्ति गर्न चटक्कै छाडेका राता मान्छेहरू सहरमा देखिन थालेका छन् । राता मान्छेका नेताहरू कुर्सी र सत्ताका लागि गाउँ र जंगलबाट सहर पसेका छन् ।

तर विगतमा रातै लगाएर कालो–निलो अनुहार बनाएका राता मान्छे भने पेट पाल्नकै लागि सहरमा भौतारिरहेका छन । यतिखेरका राता मानिसहरूका तुलनामा पहिलेका मानिसहरूका कथा–व्यथा आकाश–पातल जस्तै फरक छ । हालका राता मान्छेको रहन–सहन र जीवनशैली फेरियो । पहिलेका राता मान्छेलाई साँझ बिहानको छाक टार्न पनि मुस्किल र हम्मे परेको छ ।


राता मान्छेहरूको भेला भएको सिटीहलदेखि मंगलगढी चोकसम्म प्रदेश सम्मेलनका राता मान्छेको भीड हुँदा एक जना अटो–चालकले एक टकमा तीनै राता मान्छेहरूलाई हेरिरहेका थिए । जो दैनिकी गुजार्न तीनपांग्रे गाडीको सहारा लिइरहेका छन् । उनैको मोबाइलमा राता मान्छेले गाउने क्रान्तिको गीत बजिरहेको थियो ।

कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन 
कसले भन्छ, योद्धाहरूको जित हुँदैन, 
एक दुई हार हुन सक्छ
तर, मुटु स्पात बन्छ, 
वीरहरूको मुटुभित्र संसार फेर्ने साहस हुन्छ ......।

माओवादीका कलाकारले जनयुद्धताका यो गीत सिर्जना गरेका हुन् । त्यतिबेलाको सामना सांस्कृतिक परिवारले गाउँ–गाउँमा यो गीत गाउँदै धेरै युवालाई जनयुद्धमा होमिन प्रेरित गर्ने गरेको थियो । त्यसैमध्येका एक हुन्, विजय पुन मगर । युद्ध जितेर पनि हारेका विजय । जसको घर जाजरकोट हो । वीरेन्द्रनगर सुर्खेतमा घर खर्च चलाउन र बालबच्चाको पेटमा हाल्ने चारो र शरीर ढाक्ने लुगा–कपडाका लागि अटोरिक्सा चलाउँछन् । अनि बेला–बेला उनी क्रान्तिकारी गीत सुन्दै ‘जनयुद्ध’ कथा सम्झिन्छन् ।

युद्धको अन्योलता
मलिन अनुहार, थकित ज्यान, हरियो रङको अटो, टाउकोमा उनको टोपी, घाँटीमा गलैँचा, शरीरमा बाक्लो कपडा र साइट झोला बोकेर गीतकै धुनमा उनी मस्त छन् । जिन्दगीको गहिराईमा उनी डुबेका छन् । मोबाइलमा गीत बजिरहेकै छ । गीतको धुनको गहिराईमा उनी डुबेको जस्तो देखिन्छन् । जिन्दगीको तीता मीठा पलहरू गीतको धुनसँगै केलाउदै अटोमा अढेस लागेका उनका मनमा युद्धका अनेकौ अन्यौलता छ ।

नपल्टाइएका किताबका पानाहरू 
हाल उमेरले ४८ वर्ष पुगेका उनी दश वर्षे ‘जनयुद्ध’मा होमिएका कमाण्डर हुन् । जाजरकोटको भेरी नगरपालिका–२ स्थायी ठेगानाका विजय पुन मगर । २०५२ फागुन १ गते २० वर्षको उमेरमा जनयुद्धमा होमिएको उनको संघर्ष कथा छ ।

उनले आफ्नो जीवनको कथा सुरु गर्नै लागेका थिए । मोबाइलमा गीत परिवर्तन भयो । तर गीतको भाका भने फेरिएन । अर्काे क्रान्तिकारी गीत बज्यो । एउटै गीतको अर्काे टुक्का । जो आफैँमा नयाँ र फरक संगीत तथा रगत उमाल्ने खालको छ ।

आकास गज्र्याे, धर्ती फाट्यो 
जनयुद्धको बिगुल बज्यो 
मसान घाटमा मुर्दा जाग्यो 
चिस्यानबाट धुँवा उड्यो 
मेची उल्र्याे, काली व्युझ्यो
हिमाल–तराई–पहाड उठ्यो
माओवादी जनयुद्धमा भोकानाङ्गा सारा जुट्यो
कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ...। 

यो गीत बजिरहँदा प्रश्न गरेँ, ‘यही गीत यति धेरैपटक किन सुन्नुहुन्छ ?’
टुलुक्क हेर्दै उनले भने, ‘यो गीत सुन्दा जनयुद्धको झल्को आउँछ । गरिब, निमुखा र सर्वहारा वर्गको राज्य स्थापना र तिनै गरिब, निमुखा र सर्वहारा वर्गलाई दबाएर राख्ने, हक अधिकार खोस्नेका विरुद्ध गरेको युद्धको याद आउँछ ।’ 

उनी यत्तिमै रोकिएनन् ... । उनी निरन्तर निरन्तर बोली रहे । हामीले सुनिरह्यौँ । जिन्दगीका बेलीवृत्तान्त झन् दुःखद् स्मरण । त्यो युद्धको स्मरणमा अझै पनि उनको मुख रातो पिरो हुन्छ । 
वीरेन्द्रनगरको व्यस्त चोक मंगलगढी चोकमा गाडीहरूको ट्याँ... टुटु....आवाजले ध्वनी प्रभावित भइरहेको थियो । 

व्यवहारमा क्रान्ति अपुरै छ
उनले अगाडि थपे, ‘दश वर्षसम्म सशक्त रूपमा आन्दोलन त गर्‍यौँ। तर, आन्दोलनले पूर्णता पाएन । नेतृत्वकर्ताबाट धोका पाइयो । पुन देशमा नारी सुरक्षित छैनन्, देश सुरक्षित छैन । अन्याय, अत्याचारले सीमा नाघेको छ । 

उनी भन्छन्, ‘यो गीतका शब्दले पुरानो साहस, जोशजाँगर र त्यो रातो–तातो रगत उम्लिएर आउछ, त्यसैले सुन्छु ।’ उनी ‘जनयुद्ध’का योद्धा हुन् । कागजमा युद्ध सफल ठानिएपनि व्यवहारमा क्रान्ति अपुरै छ । उनले त्यही गुनासो सुरुमै राखे । अनि आफनो बाध्यता सुनाए, ‘चार जनाको परिवार छ । त्यो परिवार पाल्न अटोरिक्सा चलाएर जिन्दगीका पानाहरू पल्टाइरहेको छु ।’ 

१० वर्षे जनयुद्धमा कैयौँ घर, कैयौँ बस्ती जलेका थिए । नेपाली आमाका कोख रित्तिएका थिए । १७ हजार नेपाली आमाका सन्तान अकालमै सहीद हुनुपरेको थियो । नेपाली आमा बलात्कृत हुनु परेको थियो । नेपाली वीर छोराछोरी अन्याय अत्याचार र दमनविरुद्ध लड्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म युद्धमा होम्मिएका थिए । त्यही मोर्चाका एक सिपाही हुन विजय ।

हाम्रो दोस्रो प्रश्नमा त्यसरी जनयुद्धमा ज्यान फालेर लागेका विजयको उद्देश्य के थियो ? हाम्रो यो प्रश्नको जवाफ उनका निम्ति सजिलो थिएन । तर पनि उनी भन्छन्, ‘म जनयुद्धमा होमिनुको उद्देश्य गरिब, निमुखा र सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्न थियो । त्यही उद्देश्य बोकेर म लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आमनेपाली जनयुद्धमा होमियौँ ।’

आखिर जनयुद्ध लडेर उनले के पाए त ?
हाम्रो प्रश्नमा उनले सिँधा सिँधा भने, ‘गरिब, निमुखा र सर्वहारा वर्गका निम्ति युद्ध लडे, सबैले लड्यौँ । त्यसको बदला नेतृत्व पक्षबाट धोका भयो । पहिलो श्रीमती गुमाएँ । बहिनी र ज्वाँई पनि सहिद भए । उनीहरू देशका लागि सहिद भए । मैले आधा ज्यान लिएर जीवन गुजारिरहेको छु ।’

उनले मुश्किलले त्यो उत्तर दिए । मान्छे बाहिरबाट सबै राम्रै देखिन्छन् । तर भित्र त्यो हुँदैन । भित्र अर्कै कुनै दुःख र पीडाको पहाड पो लुकेको हुन्छ । उनको मनको पीडाको पहाड देख्यौँ । हामी निशब्द भएपछि उनले आफैँ जनयुद्धको बेलीबिस्तार लगाएः 

सुरुवातदेखि अन्त्यसम्म उनकै शब्दमा
‘म २०५२ फागुन १ गते जनयुद्ध घोषणाकै दिन २० वर्षको कलिलै उमेरमा जनयुद्धमा होमिए । गरिब निमुखा र सर्वहारा वर्गमाथिको थिचोमिचो अन्याय अत्याचारले समा नाघेको थियो । यसको अब अन्त्य गर्नुपर्छ । सर्वहारा वर्गको राज्यसत्ता पुनस्थापना गर्नुपर्छ भन्ने जोश जाँगर अत्यधिक थियो ।

तातो रगतलाई उमाल्दै असत्यको अन्त्य गर्ने पक्षमा अघि बढेँ । गरीब, निमुखा र सर्वहारा वर्गमाथि शासन जमाउन खोज्ने शासकहरूको अन्त्य गर्न पूर्वमेची उठ्यो । अनि पश्चिम काली व्युझ्यो । हामी जनयुद्धमा होमियौँ । अन्यायविरुद्ध लड्नुपर्छ भन्ने लागेर नै युद्धमा होमिएका हौँ ।

पहिले कांग्रेस, जनमोर्चाबीच ठूला किसिमको अन्तर्विरोध थियो । हामी जनमोर्चा कम थियौँ । कांग्रेस अलि बढी थिए । राप्रपा र जनमोर्चा पार्टी एक भएर गाउँमा सहकार्य गर्दा कांग्रेसमा हामीलाई दबाउने प्रवृत्ति हाबी थियो । 

उतिखेर सामान्यतया भन्दा गाउँघरमा बटिया लगाउने चलन थियो । बटिया भनेको ठूला भनिनेले सानालाई हेप्ने । एक पाथी कोदो लगेबापत ब्याज लगाउने अनाजको कुरा हुन्थ्यो । त्यो बेला अहिलेजस्तो खाद्य चामल थिएन । भोकमारी हुने, अनिकाल पर्ने, यस्तो हुँदा त्यहाँका टाठा–बाठा साहु धनीहरूले गरिबलाई कोदो लिएबापत एक पाथी कोदोको आठ पाथी दश पाथी कोदो तिराउने चलन थियो । त्यो अन्याय थियो । अब यसरी हुँदैन अब अन्यायविरुद्ध लड्नुपर्छ भन्ने भएर लडेका हौँ ।

अझ पनि जनयुद्ध पूरा भएको छैन । गरिब, निमुखा र सर्वहाराका दिन आएनन् । आए पनि उनै धनी, साहु शासकहरू नै जमजमाएका छन् । पुराना शासक फेरिए । पुराना शासकको बदला नयाँ शासकले गरिब निमुखा सर्वहारा वर्गमाथि थिचोमिचो, अत्याचार, दमन गर्ने प्रवृत्ति हाबी भयो । यसको अन्त्य गर्न फेरि एउटा क्रान्तिको आवश्यक छ, त्यो क्रान्ति सफल पार्न फेरि युद्धमा होमिन तयार छु ।

हिजो समाज परिर्वतन गर्न हामी लडेका हौँ । पार्टीले पनि त्यो काम गर्छ भन्ने आत्मविश्वास थियो । आत्मविश्वास भएकै कारण हामी युद्धमा होमिएका थियौँ । शान्ति सम्झौतामा गइसकेपछि हामीले सर्वहारा वर्गको राज्य व्यवस्था हुनुपर्छ भन्ने जो बुझाइ थियो । त्यो अब संसदीय व्यवस्थामा गइसकेपछि माओवादी हुँदा जनतालाई बोलेका बचनहरू अपूर्ण हुँदा वितृष्णा पैदा भएको छ । खल्लोपना भएको छ । 

युद्ध लडेर केही पाउनुपर्छ भन्ने मेरो कुनै स्वार्थ थिएन । हामी युद्ध लड्नुको एउटै उद्देश्य थियो, सर्वहारा वर्गको सिङ्गो संसार राज्य सत्ता ल्याउने छौँ । हारेपछि यो हड्डीले भरिएको शरीर खेर जानेछ भन्ने उद्देश्य रहेको हुनाले युद्ध लडेका थियौँ । हामीले मैले केही पाउनुपर्छ भन्ने स्वार्थ होइन । यहाँको भ्रष्टाचार अन्याय, गरिबी र अत्याचारको अन्त्य भएर स्वच्छ समाजको हुनुपर्छ भनेर रगत बगाउन तयार भएका थियौँ । तर हाम्रो त्यो उद्देश्य पूरा हुन सकेन ।

यदि यो किसिमको वातावरण बनेको भए हामीले साँच्चिकै युद्ध लडेर परिर्वतन गरेका हौँ भन्ने लाग्थ्यो । तर त्यसो भएन । हामी जीवनका कहाली लाग्दो मोडमा छौँ । न त घरको न त घाटको भनेझैँ । दश वर्षे जनयुद्ध लडेर न त गरिब, निमुखा सर्वहारा वर्गको राज्य सत्ता नै स्थापना भयो । न त जनयुद्धका हामी कमाण्डरको दैनिकी परिर्वतन आयो । जीवन संघर्षपूर्ण यात्राबाट ओरालो बाटोतिर लागेको छ । अ जति नै ब्रेक लागेर रोक्दा पनि नरोकिने स्थितिमा छ । 

जिउँदो सहिदको प्रमाण छैन
जनयुद्धमा लडेर घाइते भएकालाई पार्टीले हिजो जिउँदो सहिद पनि भन्यो । त्यो बेला हाम्रो एउटा गर्व गर्ने कुरा थियो । आफूले आफूलाई गर्व गरिरहेका थियौँ । तर, त्यसको परिचय गर्ने आधार भएन ।  घाइते अपाङ्ग अशक्त हुँदा सामाजिक रूपमा पर्ने प्रभाव पनि हो । जन्मजात अपाङ्ग हुँदा स्वतः रूपमा हेपिन्छ । हामीले पनि अनुभूति गर्ने त्यो कुरा हेपाहाको अनुभूति हुने ।

पार्टीमा अपाङ्ग भइसकेपछि हामी हिजो जस्तो काम नगर्ने भएपछि ओझेलमा परेका छौँ । पार्टीले घाइते परिवार सहीद परिवार जनताका एजेण्डा बिर्सेका छन् । हामी कता कता हराएको जस्तो अनुभूति हुन्छ । जनयुद्धमा तनमन लगाएर लडियो । पार्टीले बिर्सेजस्तो लाग्छ । हामीलाई जिउँदो सहिद त भनियो । तर, हामीसँग त्यस्तो कुनै प्रमाणपत्र छैन । हामीलाई जिउँदो सहिदको प्रमाणपत्र दिएको भएता पनि पछिसम्म इतिहास रहन्थ्यो । पछिको पुस्ताले हाम्रा पुर्खा यसरी लडेका रहेछन् भन्ने इतिहास हुन्थ्यो । त्यो पनि छैन । 

३५ वटा युद्ध लडेको कमाण्डर हुँ
२०५२ फागुन २ देखि २०६२/०६३ सम्म ३५ वटा लडाइँ लडे । कैयौँ आफन्त गुमाए। जनयुद्धमा होमिएर धेरै कुरा गुमाए । राज्य पक्षको कैयौँ गोलीको निशानाबाट उम्के । श्रीमती, बहिनी र ज्वाइँ गुमाए । आफ्नो जीवनकालका युद्ध लडेर कैयौँ चिज गुमाए । दश वर्षे लामो युद्धमा उनलाई सबैभन्दा ठूलो युद्ध रुकुमको खारा भन्ने ठाउँमा लडेको युद्ध ताजै छ । 

लडाइँको क्रममा दाङको पञ्चकुलो, बाँकेको कुसुम, जाजरकोटको लाहा, सुर्खेतको औलचिङ्ग, जुम्लाको सदरमुकाम, डोल्पाको दुनै, रुकुमको खारा, दैलेखको नौमुले, बर्दियाको खरीखोला, कालिकोटको कोटबाडा, अछामको मंगलसेन लगायत ३५ वटा ठाउँहरूबाट बचेर यहाँसम्म जिन्दगीका अध्याय पार गरेको छु । अझै यात्रा कठिन छ । निरन्तर जिन्दगीका पाना पल्टाउँदै अटो चलाउँदै घर–व्यवहार धानेको छु ।

२०५५ कार्तिक ११ गतेको दिन थियो । श्रीमती घरमा बसेकी थिइन । म युद्धमै थिए । गर्भवती भएको तीन महिना भएको थियो । त्यही अवस्थामा प्रहरीले घरमा बसेको श्रीमतीलाई कुट्दै, तार्दै घरबाट लगेर विभत्स हत्या गरेर लासको टुक्रा टुक्रा पारेर खाल्डोमा जलाएको थियो । त्यसपछि फेरि लडाइँ सशक्त रूपमा चल्यो । २१ वर्षको उमेरमा बर्दियाको भिडन्तमा बहिनी र ज्वाइँ सहिद भए ।

मानव समाजको संरचना र मेरुदण्ड भनेको राजनीति हो । जुनसुकै क्षेत्रमा पनि राजनीति हुन्छ । हुँदै आएको छ । मानिस समुदायको चेतनशील प्राणी पनि हो । स्वच्छ रूपमा राजनीति हुनुपर्छ भन्ने मान्यता छ । विशुद्ध रूपमा व्यवसाय गर्दा त परिवार पाल्न गाह्रो हुन्छ । राजनीति भनेको देश र समाज परिर्वतन गर्ने मुख्य कुरा हो ।

राजनीतिमा नेतृत्व गर्ने नेतृत्वदायी भूमिका खेल्ले कम्युनिष्ट पार्टी हो वा होइन ? सर्वहारा वर्गको नेतृत्व गर्ने हो वा होइन । राजनीति भनेको घरको छाना हो । तर यतिखेर त फोहोरी खेल बनेको छ । कम्युनिष्टको राजनीतिमा झन् बढी फोहोर देखेँ ।

२०५८ सालमा रुकुमको खारामा दुई पटक भिडन्त भयो । दुवै पटक असफल भयो । म पनि पहिलो पटक गएको थिए । राज्यपक्षसँग भिडन्त भएको थियो । माओवादी पक्षले हार्नु र क्षति हुनु भनेको त्यहाँ दुस्मनको साँध–सीमाना राम्रोसँग अध्ययन तथा अनुसन्धान नगर्नु नै थियो । 

प्युठानको लिस्नेमा भिडन्त भयो । तयारी नहुँदै भिडन्त भयो । त्यसपछि त्यहाँबाट फर्केर रुकुमको गामको भिडन्त केही सफल भएको थियो । त्यो बेला प्युठान कब्जा गर्ने उद्देश्यले सर्वेमा प्युठान गएका थियौँ । जनमुक्ति सेनाहरू बसेको ठाउँमा आर्मी र जनमुक्ति सेनाबीच भिडन्त भयो । गामको आर्मी ब्यारेकमा पुगेर हामीले कब्जा गयाँै । त्यहाँ कब्जा गर्दा विजय प्राप्त भएको महसूस भयो । त्यसपछि रुकुमको साखमा हान्ने तयारीका साथ गएका थियौँ ।

साखबाट यता थवाङ हान्ने तयारी थियो । तर, भयो उल्टो । त्यहाँको दुई वटै शक्ति रुकुमको खारामा ओगट्यो । भूगोल अध्ययनको कमजोरीका कारण आक्रमणमा पर्‍यौँ । म प्लाटुन कमाण्डर भएर कमाण्डर गर्दै गर्दा आँखा अगाडि नै कैयौँ साथी भुइँमा लडे । लड्दै गर्दा सुरक्षाकर्मीको गोली मेरो पाखुरामा लाग्यो । म त्यही बेहोस भएँ ।

जिन्दगी जति कठिन र पीडादायी भए पनि अतित रसिलो छ । त्यो बेला लडाइँ गर्दै गर्दा सर्वहारा वर्गको राज्य सत्ता आउँछ भनी लड्दा रमाइलो थियो । ती बितेका दिनहरू कठिन कहाली लाग्दा र डरलाग्दा थिए । साथीहरू गुमाउँदा त्यस्तो अनुभूति गर्ने भएन । हामी सहिद हुनु पनि लाइन लाग्नु पथ्र्यो । ती लडाइँमा सँगै लडेका साथीहरू को कता होलान् ? के गर्दै होलान् ? निकै सम्झना आउँछ । 

सेना समायोजनमा पर्न सकिनँ
२०६२/६३ मा सेना समायोजन गर्दा प्रमाणीकरण गर्नुपथ्र्याे । त्यो भएन । त्यो नहुँदा गुनासो छ । त्यसपछि सैन्य कमाण्डबाट पनि बाहिर रहेँ । पार्टीको जिम्मेवारीबाट बाहिर रहे । दुबै जना परिवार घाइते हो । जेनतेन जिन्दगी चलाइरहेका छौँ । 

इतिहासका लागि जनयुद्ध नै ठूलो लाग्छ । इतिहास साक्षी राख्दा जनयुद्ध नै धेरै ठूलो हो । जनताका आशा अपेक्षा पूरा गर्न र सर्वहारा वर्गको राज्य सत्ता पुःस्थापना गर्न जनयुद्धमा होमिएको हो । अझै व्यक्तिगत रूपमा पुँजी पनि आवश्यक छ । यो समयमा माक्र्सवाद होइन, जनतालाई दाल र भातको आवश्यक छ । जिउँदो रहे मात्र केही गर्न सकिन्छ । त्यसका लागि आवश्यक पर्छ खाना ।

नेपाललाई सिंगापुर होइन, नेपाल नै बनाउनुपर्छ । नेपालका नेताले सिंगापुरको परिकल्पना गरिरहेका छन् । त्यहाँको परिकल्पना गरेर नेपाल कसरी अघि बढ्छ ? नेपालका नेतृत्वले नेपाललाई सिंगापुरको मोडेलमा होइन, नेपालको मोडेलमा तयार पार्नुपर्छ । खाडी मुलुकको परिकल्पना गरेर हुँदैन । खाडी मुलुकको परिकल्पना होइन, नेपालको परिकल्पना गरेर नेपाल नेपालजस्तो बनाउने चेष्टा गरेको भए हाम्रा शरीरमा लागेका घाउ निको हुन्थ्यो । सबै दुःख पीडा भुल्ने थियौँ ।


Author

थप समाचार
x