समाज

बाघ सर्वेक्षण

निकुञ्‍जभित्र ६० दिन बिताउँदै सर्वेक्षक, काैशिला भन्छिन्- डर होइन, उत्सुक छौँ

इकागज |
मंसिर २०, २०७८ ९:४३ बजे

चितवन - गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा । कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्छिन् । उनी चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिने गरेकी छन् । वन्यजन्तुको बासस्थानमा पुगेर तिनको गणना गर्नु आफैमा जोखिम हो । तर, पनि यस्तो जोखिमपूर्ण कामबाट उनी कहिल्यै पछि हटेकी छैनन् । गत चैतमा गैँडा गणना गरेकी मोक्तान सोमबारदेखि बाघ सर्वेक्षणमा खटिँदै छिन् । 

राष्ट्रिय बाघ सर्वेक्षण-२०२२ आइतबारदेखि सुरु भएको हो । आइतबार वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले औपचारिक रुपमा बाघ सर्वेक्षणको उद्घाटन गरे । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर गर्ने बाघ सर्वेक्षणका लागि तीन वटा कम्प्लेक्स बनाइएको छ ।


नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा लोपोन्मूख सूचीमा सूचीकृत पाटेबाघ पाइन्छ । चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स छन् ।  

चितवन–पर्सा कम्प्लेक्समा आइतबारदेखि बाघ सर्वेक्षण सुरु भए पनि मोक्तान सोमबारबाट फिल्डमा जाँदै छन् । चितवन राष्ट्रिय निकुञ्जको गेम स्काउटमा कार्यरत मोक्तान निकुञ्जको आन्तरिक क्रियाकलापका रुपमा पनि बाघको अवस्थाको बारेमा सर्वेक्षण भइरहने बताउँछिन् ।

सन् २०१८ मा भएको बाघ सर्वेक्षणमा पनि उनले ‘पार्ट टाइम’ सर्वेक्षण गरेकी थिइन् । अहिले पूरै दिन बाघ सर्वेक्षण गर्दै छिन् । पूरै दिन अर्थात् एउटा क्याम्पमा २० दिन बसेर उनले बाघको सर्वेक्षण गर्ने छिन् । तीन वटा क्याम्पमा बसेर सर्वेक्षण गर्नुपर्ने उनको जिम्मेवारी छ ।

चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा, बाँके बर्दियालाई चार वटा र शुक्लाफाँटा–लालझाडीलाई एक वटा ब्लकका विभाजन गरिएको छ । ब्लकलाई पनि दुई किमी लम्बाई र दुई किमी चौडाई भएका ग्रीडमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश ८९५, ८१४ र २६० वटा ग्रीड रहेका छन् ।

चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्र हेरी एक जोडी स्वचालित क्यामरा जडान गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिक खटिएका छन् ।

कौशिला चितवन निकुञ्जमा नौ वर्षदेखि कार्यरत छन् । उनको पहिलो क्याम्प नवलपरासीअन्तर्गत पर्ने थुन्सिमा परेको छ । क्याम्पमा उनीसहित सात जना रहन्छन् । ‘हाम्रो मुख्य भूमिका क्यामरा ट्रयापिङ हो । हिँडेरै ठाउँठाउँमा पुगेर क्यामरा जडान गर्नुपर्छ,' उनी भन्छिन्, ‘क्यामराको अनुगमनमा जाँदा दिनमै ४० किलाेमिटर पनि हिँड्न पर्ने हुन सक्छ ।’

एउटा क्याम्पले २६ जोडी क्यामराको नियमित अनुगमन गर्नुपर्ने उनी बताउँछिन् । जिपिएसका माध्यमबाट सर्वेक्षकले क्यामरा जडान गरेका हुन्छन् । क्यामराको व्याट्री र मेमोरि कार्डको अवस्था हेर्न जाँदा सर्वेक्षकले जिपिएसकै माध्यमबाट क्यामरा राखेको स्थानको पहिचान गर्नुपर्छ । 

एउटा ग्रीडमा कम्तिमा १५ दिनसम्म क्यामरा राख्नुपर्छ । त्यसपछि सर्वेक्षक अर्काे क्याम्पमा जानेछन् । कौशिलाको दोस्रो क्याम्प अमुवा पोष्ट नजिक छ । तेस्रो क्याम्प पर्साको भाटामा परेको उनले बताइन् ।

‘एउटा क्याम्पबाट क्यामरा संकलन गरेर उठ्न २० दिन जति लाग्छ । यस हिसाबले तीन वटा क्याम्पमा हामीले ६० दिन बिताउँछौँ,' उनले भनिन् । सर्वेक्षण गर्दा ठाउँ अनुसार निकुञ्जको कोर इलाकादेखि सामुदायिक वनका क्षेत्रसम्ममा क्याम्प बनाएर बस्नुपर्ने उनले बताइन् ।

‘हाम्रो घर समुदाय भनेजस्तै जनावरको पनि जंगल घर नै हो । त्यो उनीहरुको बस्ती हो,' उनी भन्छिन्, ‘वन्यजन्तुको घरमा जाँदा चुनौति त भइहाल्छ । तर पनि यो ठूलो अवसर हो ।’ सन् २०१८ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा २३५ वटा पाटेबाघ छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा छन् । 

चितवन निकुञ्जका खेल स्काउट कृष्ण पौडेलले पहिलो पटक बाघ सर्वेक्षण गर्दैछन् । निकुञ्जमा उनले जागिर गर्न थालेको चार वर्ष मात्रै भएको छ । ‘पहिलो अनुभव हो, एकदम उत्सुकता लागेको छ,' उनले भने । 

उनले पहिलो पटक तीन वटा क्याम्पमा बसेर बाघको सर्वेक्षण गर्ने छन् । बाघ प्राय गरी रातको समयमा एक ठाउँबाट अर्काे ठाउँमा ओहोरदोहोर गर्ने गर्छ । पहिलो क्याम्प टाइगर टप्समा रहेको छ । त्यहाँ उनको टिमले कम्तिमा १५ दिन बिताउने छ । 

ठाउँ-ठाउँमा जडान गरिएका क्यामरा संकलन गरी क्याम्प सार्न थप पाँच दिन लाग्छ सक्छ । त्यसपछि उनको अर्काे क्याम्प बोटे सिमरामा पर्छ । तेस्रो क्याम्प चाँहि अमलेखगन्जमा परेको छ ।

क्याम्पमा बस्ने सात तीमध्ये एक जनाले खाना पकाउने काम गर्छन् भने बाँकी सर्वेक्षकले क्यामरा जडान र त्यसको नियमित अनुगमन गर्नुपर्छ ।

‘क्यामरा जडान गरिसकेपछि कम्तिमा १५ रात राख्नुपर्छ । त्यसपछि त्यसलाई सार्ने हो । त्यसो हुनाले एउटा क्याम्पसमा हामीले २० दिनसम्म बिताउन सक्छौँ,' उनले भने । खानेकुराको बन्दोबस्त निकुञ्जले नै व्यवस्था गरिदिएको छ । 

एउटा क्याम्पमा बस्दा खानुपर्ने खानेकुरा र भाँडाकुडाको व्यवस्था निकुञ्जले गरिदिन्छ । अर्काे क्याम्पमा सर्दा थप खानेकुरा लिएर जानुपर्ने उनी बताउँछन् । बिहान ८ देखि ९ बजेसम्म खाना खाइसकेर क्यामरा जडान गर्नुपर्ने स्थानमा जाने उनले बताए । 

‘हामीलाई जीपीएस प्वाइन्ट दिइएको हुन्छ । त्यो प्वाइन्टमा पुगेर क्यामरा राख्नुपर्छ । बाघको मुभमेन्ट भएको स्थानमा राख्ने हो । त्यसका लागि हामी दिनमा २० देखि २५ किमी हिँड्नुपर्छ,' उनले भने ।

क्यामरा चार वर्ग किमीको फरकमा राखिन्छ । बाघको दुईतर्फकै पाटाको फोटो खिच्नुपर्ने भएकाले एक ठाउँमा जोडी क्यामरा राखिन्छ । 

सर्वेक्षक क्याम्पमा रातिको समयमा धुनी बालेर बस्छन् । पालो लगाएर कोहि सुत्ने र कोहि जागा बस्ने गर्नुपर्छ । सर्वेक्षणमा जानुअघि सर्वेक्षकलाई तीन दिनको व्यवहारिक अभ्यास सिकाइएको थियो । 

बाघ हिँड्ने बाटोबाट तीनदेखि चार मिटर पर दायाँबायाँ बुट्यानमा क्यामरा जडान गरिने छ । स्वचालित क्यामराले बाघ हिँडेको आवाज वा दृश्य परिवर्तनको आधारमा फोटो खिच्छ । एउटै बाघ धेरै पटकसम्म पनि क्यामरामा कैद हुन सक्छन् । 

बाघको पाटा पहिचान गरेर बाघको संख्या यकिन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् । ‘बाघमा फरक-फरक किसिमका पाटा हुन्छन् । बाघलाई चिन्ने उपयुक्त माध्यम नै उसको पाटा हो,' उनले भने । बाघको शरीरमा पाटा हुने भएकाले त्यसलाई पाटे बाघ पनि भन्ने गरिन्छ । 



Author

थप समाचार