समाज

रिपोर्ट

मोटर साइकल हुइँक्याउने तन्‍नेरीहरू दुर्घटनाको सिकार हुँदै

दुई वर्षमा २७ हजार ९ सय ५६ मोटरसाइकल दुर्घटना

सृजना खड्का |
कात्तिक २५, २०७८ बिहिवार १५:१२ बजे

 काठमाडौँ -  दसैँ सकिए लगत्तै सुदीप बस्याल र उनका पाँच–छ जना साथी बुटवलबाट शे–फोक्सुन्डोतिर लागे । ब्याचलर्स गर्दै गरेका २२ वर्षीय सुदीप कलेज बिदाको सदुपयोग गर्न साथीसँग घुमघाममा निस्किएका थिए । शे–फोक्सुन्डोबाट फर्किंदै गर्दा सुर्खेतमा सुदीप र उनको परिवारले नसोचेको घटना बेहोर्नुपर्‍यो । उनी मोटरसाइकल दुर्घटनामा परे । मोटरसाइकल उनको मिल्ने साथीले चलाएका थिए । उनी तिनै साथीको पछाडि बसेर घुम्‍न गएका थिए । दुर्घटनामा मोटरसाइकल चालक साथीको खुट्टामा गम्भीर चोट लाग्यो । सुदीपले भने ज्यान गुमाए ।

यो घटना घटेको एक हप्ता भयो । सुदीपको परिवार अहिले शोकमा छ । सुदीपका दाइ केशव बस्यालका अनुसार सुदीपका साथी अहिले अस्पतालमा छन् । ‘सुदीपको त घटनास्थलमै ज्यान गयो,’ उनी भन्छन्, ‘उसलाई हामीले अस्पतालसम्म पनि लैजान पाएनौँ । अहिले हामी केही बोल्न सक्ने अवस्थामै छैनौँ ।’


ललितपुर, बालकुमारी बस्ने अनिशा सिटौलाको यो तिहार निकै खल्लो भयो । अघिल्लो तिहारमा भाइटिका लगाएर उनका दाजु अनिश मुस्ताङ घुम्‍न निस्किएका थिए । मोटरसाइकलमा साथीहरूसँग मुस्ताङ गएका अनिश कहिल्यै नफर्किने गरी परिवारबाट बिदा भए । तिहारकै दिन आफ्नो हातबाट सप्तरंगी टिका लगाएर सकुशल घरबाट निस्किएका दाजु कहिल्यै नफर्किने गरी जालान्, अनिशाले सोचेकी थिइनन् । तर, दाइ मोटरसाइकल दुर्घटनामा परेको जानकारी जब उनको फोनमा आयो, उनले न आफूलाई सम्हाल्न सकिन्, न परिवारलाई । घटना घटेको वर्ष दिन बित्यो । तर, अनिशको परिवार अहिले पनि शोकमा छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार सवारी साधनमध्ये सबैभन्दा धेरै दुर्घटनामा पर्ने साधन मोटरसाइकल हो । प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा १० हजार ८ सय ६९ मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १७ हजार ८७ मोटरसाइकल दुर्घटनामा परेका छन् । यी दुई आर्थिक वर्षमा मात्रै २७ हजार ९ सय ५६ मोटरसाइकल दुर्घटनामा परेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखामा मात्रै यो दुई आर्थिक वर्षमा १५ हजार १ सय ८ मोटरसाइकल दुर्घटनामा परेको तथ्यांक छ । महाशाखाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । महाशाखाले दुर्घटनाको प्रमुख कारणमा चालकको लापरवाही र तीव्र गति भएको निष्कर्ष निकालेको छ । 

दुर्घटना निरीक्षक केपी शर्मा युवापुस्तामा सो–अफको प्रचलन निकै बढेकाले मोटरसाइकल दुर्घटनाको संख्या वर्षेनी वृद्धि भएको बताउँछन् । ‘अहिलेको जेनेरेसन आफ्नो उमेरले नै धान्‍न नसक्ने ठूला र महँगा बाइक चलाउँछन्,’ उनी भन्छन्, ‘ती बाइक धेरै सीसीका हुन्छन् । दौडिने क्षमता बढी हुन्छ । जति एक्सिलेटर बटार्यो कुद्छ । यस्तो अवस्थामा उनीहरू कतिबेला दुर्घटनामा पर्छन् भन्‍नै सकिँदैन ।’

शर्मालाई सडकमा युवापुस्ताको बाइक रेस देखेर दुःख लाग्छ । ‘टेलिभिजनको रेस हेरेर वास्तविक जीवनमा रेस गर्न खोज्नेहरू दुर्घटनाको नजिक हुन्छन्,’ उनी भन्छन् ।
ट्राफिक व्यवस्थापनमा सफल मानिएका पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू आफ्ना सन्तानले मोटरसाइकल कसरी चलाउँछन् भन्‍नेतर्फ अभिभावकले ध्यान नदिएको बताउँछन् । ‘छोराछोरीले मोटरसाइकल घरबाट निकालेको थाहा हुन्छ,’ उनी भन्छन्, ‘तर, उनीहरू कहाँ गए, कोसँग गए थाहा हुँदैन । यस्तो कुरामा अभिभावकको पनि ठूलो भूमिका हुन्छ ।’

दोस्रो कारण, उनी लाइसेन्समा भएको हेलचक्र्याइँले धेरै युवापुस्ता मोटरसाइकल दुर्घटनाको सिकार हुने गरेको बताउँछन् । ‘मोटरसाइकलको लाइसेन्स लिने बेलामा धेरैले पास गर्नका लागि मात्रै ट्राफिक नियम पढ्छन्, ट्रायल सिक्छन्,’ उनी भन्छन्, ‘ट्रायल सेन्टरमा पास हुनु भनेको सडकमा पास हुनु होइन । आठ घुमाएर लाइसेन्स लिँदैमा कोही दुर्घटनामा पर्दैन भन्‍न सकिँदैन ।’

दुर्घटना निरीक्षक शर्मा सडकमा मोटरसाइकल गुडाउने ४० प्रतिशत युवापुस्तामा लाइसेन्स नभएको उनी बताउँछन् । साथै, मोटरसाइकल दुर्घटनाको केसमा सडकको हात नभएको उनको तर्क छ । ‘अहिलेका युवापुस्ता टुर भन्दै चार–पाँच ओटा मोटरसाइकल भेला गर्छन्,’ उनी भन्छन्, ‘बाइक चलाउने बेला ध्यान सडक र सवारीमा भन्दा फोटो, भिडियो र क्यामेरामा हुन्छ । यस्ता क्रियाकलापले पनि दुर्घटना हुने गरेको पाइएको छ ।’ 

‘गुडाउन बनाएको साधनलाई गुडाउनै हुँदैन भन्‍न मिल्दैन,’ उनी थप्छन्, ‘यो समाधान पक्कै होइन । तर, कसरी गुडाउने त्यसमा ध्यान पुर्‍याउनुपर्छ । यसका लागि अहिलेको पुस्तालाई चाहिने भनेको जनचेतना नै हो ।’ 

पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथू दुर्घटनामा पर्ने धेरै युवापुस्ता अविवाहित हुने गरेको बताउँछन् । ‘घरमा न श्रीमती न छोराछोरी भनेर उनीहरू बेवास्ता गर्छन्,’ उनी भन्छन्, ‘८–१० लाखको बाइक किनिदिने बुवाआमाले दुर्घटना भयो भने खर्च पनि बेहोर्छन् भनेर उनीहरू जथाभावी गर्छन् । जिम्मेवारी बोध गर्दैनन् ।’ 

त्यस्तै, आफूलाई थाहा नभएको नयाँ रुटमा हिँड्दा बाटोको बनावट थाहा नभएर पनि धेरैजना दुर्घटनामा परेको उनी बताउँछन् । ‘त्यस्तो बाटोमा तँभन्दा म के कम भन्दै बाइक दौडाउँदा दुर्घटनामा हुन्छ,’ उनी भन्छन्, ‘ढोकाबाट छिर्नुपर्ने मान्छे हतार गरेर झ्यालबाट छिर्‍यो भने के हुन्छ ? हो, त्यस्तै दुर्गति सडकमा लापरवाही तरिकाले चलाउने चालकको हुन्छ ।’

मोटरसाइकलमा लामो यात्रा गर्दा आफू जाने ठाउँ कति किलोमिटर छ ?, धेरै दुर्घटना हुने क्षेत्र कुन–कुन हुन् जस्ता विषयमा विचार पुर्‍याउनुपर्ने हाछेथूको सल्लाह छ । ‘टाढाको बाटो यात्रा गर्दा सुरक्षाका उपाय अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘मोटरसाइकलको कन्डिसनदेखि हेल्मेटको गुणस्तरसम्मको कुरा विचार पुर्‍याउनुपर्छ ।’ 

यस्तो छ तथ्यांक 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x