समाज

भारतमा उपचार गर्न आएका अफगानीहरू कसरी भित्रिए नेपाल ?

'आफ्नो मुलुकको राजनीतिक अवस्था खराब भएकाले नेपाल प्रवेश'

अतिन आचार्य |
कात्तिक ८, २०७८ सोमवार १८:३८ बजे

फाइल तस्बिर

काठमाडौँ - तालिवानले सत्ता कब्जा गरेपछि अफगानीहरू आफ्नो मुलुक छाडेर विभिन्‍न मुलुकमा शरणा लिन जान थालेका छन् । अमेरिकी सेनाले अफगानीस्तान छोडेपछि तालिवानले सत्ता कब्जामा लिएर सम्हाल्दै आएको छ । तालिबानले सत्ता आरोहण गरेपछि त्यहाँका नागरिकहरू पश्‍चिमा मुलुक र आसपासका सुरक्षित मुलुक गएका छन् । 

नेपाल र भारतबीच खुला सीमा र काठमाडौँमा राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको कार्यालय (यूनएचसीआर) रहेका कारण पछिल्लो समय अफगानी नागरिकहरू नेपाल नै प्रवेश गर्न थालेका छन्। यूएनचसीआरको शरण र भरणपोषणसमेत पाउने हुनाले छिमेकी मुलुक भारत हुँदै उनीहरू नेपाल प्रवेश गर्न थालेकाे हाे । अहिले नेपाल प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।    


सोमबार गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार ११ अफगानी नागरिक काठमडौँमा पक्राउ परेका छन् । आठ पुरुष र तीन महिलासहित ८ वर्ष, ११ र १७ वर्षको किशोरी समेत छन् । त्रिभुवन विमानस्थल अगाडिको फेसबुक होटलबाट अफगानीहरू पक्राउ परेका हुन् । उनीहरू सुनौली नाका हुँदै काठमाडौँ आएका थिए ।

पछिल्लो समय खुला सीमाका कारण नेपालमा विभिन्न मुलुकका नागरिकहरू सहजै आउन थालेका छन् । भारत हुँदै म्यानमार र अफगानीहरू प्रवेश गर्ने क्रम बढ्दै गएको हो । खुला सीमा र शरणार्थीको मान्यता पाउने लालसामा परी विदेशी नागरिकहरू काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा आउने गरेका छन् ।

शरणार्थी वा असाइलम सिकर बनेर अमेरिका, क्यानडा तथा अष्‍ट्रलिया जाने प्रलोभनमा परी यसअघि पनि रोहिंग्या शरणार्थी आएका थिए । पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरू पश्‍चिमा मुलुक गइसकेका कारण पनि नेपाल भित्रने छन् । नेपाल सरकारले हालसम्म दुई मुलुकका नागरिकलाई मात्र शरणार्थीको मान्यता प्रदान गरेको छ । भुटानी र तिब्बतीयन नागरिकले मात्र शरणार्थीको रुपमा नेपालभित्र सहज हिंडडुल गर्न पाएका छन् ।

खुला सीमा रहनु मुख्य कारण

समय-समयमा नेपालमा किन शरणार्थीको रुपमा छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्छन त ? गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेल खुला सीमा रहनु नै मुख्य कारण रहेको मान्छन् । अन्य मुलुकमा जस्तो नेपालको सीमा क्षेत्र कडा नरहेकाले नेपालमा विदेशीहरू सहजै प्रवेश गर्ने गरेका छन् ।

शंकास्पद नागरिक तथा परिपचयपत्र नभएका नागरिकलाई खुला सीमबाट प्रवेश गर्न कडाइ गरिने पोखरेलले बताए । 'बीओपीमा थप कडा गरिन्छ,' उनले भने,' अपरिचित अनुहार शंकास्पद लागेमा प्रहरीलाई नियन्त्रणमा लिनलाई पनि निर्देशन दिइएको छ ।'

नेपाल प्रवेश गरिएका अफगानीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरू कसरी र कोमार्फत नेपाल आए त्यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान गरी कारबाही गरिने र थप प्रमाण फेला परेमा अध्यागनको नियमविपरीत पाइएमा उनीहरूलाई स्वदेश फर्काउन सकिने गृह मन्त्रालयले जनाएको छ ।

यसअघि रोहिंग्या शरणार्थीलाई विभिन्न व्यक्तिहरूले प्रलोभनमा पारी पूर्वी नेपालको सीमाबाट प्रवेश गराएका थिए । उनीहरूले रोहिंग्यासँग बंगलादेशी ५० हजार टाका लिएका थिए । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको कपन र बालाजु क्षेत्रमा टहरा बनाइ रोहिंग्या शरणार्थी बस्दै आएका छन् ।

सरकारले रोहिंग्याको यकिन तथ्यांक पनि छैन । मानवीयताको नाताले शरणार्थीलाई शरण दिएको प्रवक्ता पोखरेलले बताए । सरकारले चाहेमा जुनसुकै समयमा पनि उनीहरूलाई हटाउन सकिने उनले प्रस्ट पारे ।  

सीमा सुरक्षामा कडाइ गरिने

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार कसरी अफगानी नागरिक प्रवेश गरे त्यसको अध्ययन भइरहेको छ । विदेशी नागरिक प्रवेश गरेका कुराहरू सार्वजनिक भएपछि सुरक्षा व्यवस्था कडा गरिएको उनको भनाइ छ ।

'परिचयपत्र हेरेर मात्र विदेशीलाई प्रवेश दिने तयारी गरेका छौ,' उनले भने,' काठमाडौँ पुगेका नागरिकहरू यहीँ नाकाबाट प्रवेश गरेका हुन होइनन् त्यसको अध्ययन गरिन्छ ।' खुला सीमा भएकाले यातायातका साधनबाट मानिसहरू प्रवेश गर्ने गरेको पाण्डेले जानकरी दिए । तर, अब भने सीमा जाँचमा  कडाइ गरिने उनले बताए । प्रशासनले शंकास्पद व्यक्तिलाई परिचयपत्र हेरेरमात्र प्रवेश दिने गरी निर्देशन जारी गर्ने भएको छ ।

देशको अवस्था खराब भएकाले नेपाल प्रवेश 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार प्रारम्भिक अनुसन्धानमा अफगानीहरू भारत हुँदै नेपाल प्रवेश गरेका छन् । उनीहरूको साथमा कागजपत्र नभएकाले प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

भारतसम्म उपचारका लागि उनीहरूले बताएको महतोले इकागजलाई बताए । आफ्नो मुलुकको राजनीतिक अवस्था खराब भएकाले उनीहरू स्वदेश फर्कनुभन्दा नेपाल प्रवेश गर्नु उचित ठानेर नेपाल आएको अनुसन्धानमा खुलेको छ ।

उनीहरू मानवबेचविखनको गिरोहमा नपरेको महतोले सुनाए । नेपालबाट अन्य मुलुक जान पाइने उदेश्यले उनीहरू यहाँ प्रवेश गरेको हुन सक्ने उनको भनाइ छ । उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाइसकेको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x