समाज

नेपालगञ्‍जमा सुन पक्राउ पर्दा विमानस्थलमा यात्रुलाई प्रहरीको सास्ती

स्क्यानर बिग्रेमा उडान स्थगित गरिने

अतिन आचार्य |
भदौ २८, २०७८ सोमबार १८:५० बजे

काठमाडौँ- एक साताअघि नेपालगञ्जको राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुनसहित झापा र मोरङका दुई युवालाई पक्राउ गर्‍यो । काठमाडौँबाट श्री एयरलाइन्सको विमानबाट उनीहरू नेपालगञ्‍ज पुगेका थिए ।  

झापाका अमिर लगुन विश्‍वकर्मा र मोरङका बुद्धिमान खातीलाई प्रहरीले पक्राउ गरेको थियो । खातीले जुतामा सुन लुकाएर लगेका थिए । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलबाट सहजै पार भएको सुन नेपालगञ्ज विमानस्थल पुगेर मात्र नियन्त्रण आएको थियो ।


उक्त सुन एक्सरे मेशिन र मेटल डिटेक्टरले समेत ‘डिटेक्ट’ गरेर पत्ता लगाएको थिएन । तर, सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएका थिए ।नेपालगञ्‍जमा सुन पक्राउ परेपछि काठमाडौँस्थित आन्तरिक विमानस्थलमा सुरक्षा जाँचको व्यवस्था कडाइ हुन थालेको छ । जब-जब विमानस्थलबाट आपराधिक गतिविधि घटना सार्वजनिक हुन्छन तब चेकजाँचमा कडाइ गर्न थालिन्छ ।

सुरक्षाकर्मीले विमानस्थलभित्र अपनाइने मापदण्ड अनुरुप हवाई यात्रुलाई कडाइका साथ चेकजाँच गर्न थालिएको छ । सुरक्षाको नाममा यात्रुलाई लाइनमा राखी शंकास्पद नभएका तथा ज्येष्‍ठ नागरिकलाई समेत सुरक्षा जाँचमा कडाइ गर्न थालिएको हो ।

विमानस्थलमा यात्रुलाई परीक्षण गर्दा लामो समयसम्म लाइन बसाएर कठिनाइ  सिर्जना हुन थालेको छ । विमानस्थलमा 'नो-कोभिड' भनेर फारम भरेता पनि गरे जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा भिडभाडबाट कोभिड सर्ने उच्च जोखिम छ ।

विमानस्थलमा यात्रुलाई भरपर्दो तरिकाले चेकजाँच नगर्दा समय-समयमा यात्रुहरू पक्राउ नपर्नु सामान्य जस्तै भएको छ । सुन बरामद नेपालगञ्जमा भयो तर,  काठमाडौँबाट विभिन्न स्थान जाने यात्रुहरूले कष्‍ट भोग्‍न थालेका छन् । जब विमानस्थलबाटै सुन बाहिरिन्छ तब चेकजाँचमा कडाइ सुरु हुन्छ ।

पुलिसले झोला चेकजाँच गर्दा सामान बाहिर फालिदिएपछि

पछिल्लो समय यात्रुलाई परीक्षण गर्ने क्रममा झोला र जुत्तासमेत खोल्न लगाइ परीक्षण गर्न थालेका छन् । प्रहरीले यात्रुको चेक जाँचमा कडाइमा गरे पनि यात्रुहरू सन्तुष्‍ट हुन सकेका छैनन् ।  प्रहरीले यात्रुलाई परीक्षणका नाममा अनावश्यक दुःख दिन थालेको सोमबार बिहान आन्तरिक विमानस्थल काठमाडौँबाट पोखरा जाने यात्रु सागर थापाले बताए ।

'प्रहरीले झोला खोलेर परीक्षण गर्दा सामग्री जथाभावी बाहिर निकाली गरिदिने गरेका छन्,' उनले इकागजसँग भने,' विमानस्थलमा भएको भिडभाडलाई नियन्त्रण गर्न पनि कुनै संयन्त्र परिचालन गरेको छैन् ।'

सुरक्षाको दृष्‍टिकोणले परीक्षण गरे पनि कोभिडको कुनै प्रोटोकल नअपनाएको थापाले बताए । उनले प्रहरी तथा व्यवस्थापकले विमानस्थलमा परीसरमा यात्रुको लाइन व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।

विमानस्थलमा  यात्रुको चेकजाँचमा कडाइ

एक साताअघि नेपालगञ्‍ज विमानस्थलबाट सुनसहित युवा पक्राउ परेपछि यात्रुको चेकजाँचमा कडाइ गरिएको त्रिभुवनस्थलका प्रहरी वरिष्‍ठ उपरीक्षक राजनाथ बाँस्तोलाले बताए । विमानस्थलमा यात्रुलाई आवश्यकता र सुरक्षाको मापदण्डभित्र रहेर मात्र परीक्षण गरिएको दुःख दिने कुनै पनि मनसाय नभएको उनको भनाइ छ ।

नेपालगञ्जमा सुनसहित पक्राउ गरिएको घटनालाई लिएर त्रिभुवन विमानस्थलको आन्तरिक ट्रमिनलमा रहेको सुरक्षा व्यवस्थालाई लिएर अनुसन्धान भइरहेको बास्तोलाले जानकारी दिए । प्रहरीको कारण परीक्षणका नाममा यात्रुलाई दुःख दिने काम नगरेको उनले दाबी गरे ।

विमानस्थलको क्षमताअनुसार यात्रुलाई राखी चेकजाँच गर्ने काम भइरहेको बास्तोलाको भनाइ छ । 'प्रहरीले चेकजाँच गर्दा अहिलेसम्म कुनै पनि यात्रुको विमान छुटेको छैन, ' उनले भने । एयरलायन्सले उडान भर्नुभन्दा एक घण्टा अघि यात्रु पुगेमा समस्या नहुने बाँस्तोलाले बताए । हाम्रो काम भनेको विमानस्थलमा सुरक्षा प्रदान गर्ने रहेको उनले दाबी गरे ।

'स्क्यानर बिग्रेमा उडान समय अवरुद्ध हुन्छ'  

विमानस्थलमा यात्रुलाई चेकजाँच गर्नक लागि आवश्यक सम्पूर्ण सामग्री राखिएको त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए । उनकाअनुसार स्क्यानर मेसिन,वार्क स्क्यानर र हाते स्‍क्यानन राखिएको छ । सबै परीक्षण गरेपछि मात्र प्रवेश अनुमति दिने गरेको छ ।

'आवश्यक सम्पूर्ण भौतिक संरचना निर्माण गरिसकेपछि मात्र विमानस्थलमा यात्रुलाई प्रवेश दिने गरेको छ,' शेर्पाले भने,' मेसिन हो समय-समयमा काम नगर्न सक्छ । प्राविधिकले दैनिक मर्मत गर्छन् ।'

विमानस्थलको स्क्यानर बिग्रेमा यात्रुलाई प्रवेशको अनुमति नदिने शेर्पाले बताए । अहिलेसम्म बिग्रेको सामग्री नराखिएको उनको भनाइ छ । स्क्यानरले काम नगर्ने भएमा यात्रु प्रवेशमा रोक लगाउने समेत काम गरिएको उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x