समाज

सम्बन्ध विच्छेदको चेपुवामा सन्तान

इकागज |
भदौ १४, २०७८ सोमबार १८:३० बजे

सम्बन्ध विच्छेद दम्पतीको लागि कठिन परिस्थिति हो । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूमा मात्र नभई उनीहरूका छोराछोरीमा पनि उत्तिकै देखिन्छ । सम्बन्ध विच्छेद केवल दम्पतीमा मात्र सीमित छैन । यसको असर पूरै परिवारमा फैलिन्छ । जसको प्रभाव लामो समयसम्म रहन्छ ।

सम्बन्ध विच्छेदलाई लिएर आमाबुवाले लिने निर्णयमा बालबालिकाको प्रतिक्रिया र उनीहरूलाई पार्ने प्रभाव उमेरअनुसार फरक-फरक हुन्छ । 


परिवर्तन स्वीकार्न समय लाग्‍ने 

आमाबुवाको डिभोर्सपछि छोराछोरी कि आमासँग बस्छन् कि बुवासँग । एकजनासँग बस्ने वित्तिकै उनीहरू नयाँ वातावरणमा घुलमिल हुनुपर्ने हुन्छ । नयाँ घर, नयाँ स्कुल, नयाँ साथी सबैकुरा नयाँ र नौलो हुने भएकाले उनीहरूलाई परिवर्तन स्वीकार गर्न समय लाग्छ । नयाँ वातावरणमा घुलमिल हुन केही कठिन हुन्छ । 

भावनात्मक रूपमा संवेदनशील 

आमाबुवाको सम्बन्ध विच्छेदपछि छोराछोरी भावनात्मक रूपमा संवेदनशील हुन्छन् । उनीहरूलाई स-सानो कुराले पनि छुन्छ । उनीहरूले आफ्ना भावनालाई विभिन्न माध्यमबाट पोखिरहेका हुन्छन् । दुईजना अभिभावकमध्ये एकजना गुमाउनुको पीडाले उनीहरूमा यो अवस्था आउँछ । यस्तो अवस्थामा उनीहरूको कुरा सुन्ने कोही मान्छे चाहिन्छ । उनीहरूलाई बुझ्‍ने प्रयास गर्नुपर्छ ।

सामाजिक गतिविधिमा रुचि नराख्‍ने 

सम्बन्ध विच्छेदले बालबालिकालाई व्यक्तिगत, पारिवारिक र शैक्षिक जीवनमा मात्र नभएर सामाजिक जीवनमा समेत असर गर्छ । उनीहरू समाजबाट झेल्नुपर्ने प्रश्नहरूको सामान गर्नु नपरोस् भनेर सामाजिक रूपमा खासै खुल्न रुचाउँदैनन् । सम्बन्ध विच्छेदलाई लिएर समाज उदार नभएकाले यो आफ्नो मात्रै परिवारको समस्या होला भन्ने सोच्छन् । 

रिस र चिडचिडापन

आमाबुवाको सम्बन्ध विच्छेद हुँदा बालबालिका स्वयम् विभिन्न भावनात्मक उतारचढावबाट गुज्रिरहेका हुन्छन् । आफूभित्र भइरहेको अनुभूतिलाई व्यक्त गर्ने क्रममा उनीहरू रिसाउने र झर्को मान्ने गर्न थाल्छन् । यस्तो बेलामा उनीहरू आफैसँग रिसाउँछन् । आफ्ना आमाबुवा र साथीभाइसँग झर्को मान्न थाल्छन् । यो समयमा उनीहरूको निकै ख्याल राख्नुपर्छ ।

मानसिक रुपले विक्षिप्त 

आमाबुवाबीच हुने डिभोर्सले बालबालिकालाई विचलित बनाउँछ । परिवारमा खलल आउँदा त्यसको असर बालबालिकामा पनि पर्छ । त्यसको असर बालबालिकामा पनि देखिन्छ । शारीरिक मात्रै नभई मनोवैज्ञानिक समस्यासँग पनि उनीहरू जुधिरहनुपरेको हुन्छ । डर, चिन्ता र डिप्रेसन जस्ता समस्या उनीहरूमा देखिन सक्छ ।  

पढाइ खस्किने 

स्कुले जीवन बिताइरहेका बालकालिकालाई आमाबुवाको सम्बन्ध विच्छेदले पढाइमा केन्द्रित हुन गाह्रो हुन्छ । जसको कारण कतिपयको पढाइ खस्किँदै जाने संभावना हुन्छ । 

तर, कहिलेकाहीँ भने ठीक यसको विपरित पनि हुन सक्छ । सम्बन्ध विच्छेदसँग बालकालिकाको उदासीसँगै सकारात्मक पक्ष पनि जोडिएको छ । कतिपय अवस्थामा सम्बन्धविच्छेदले बालबालिकालाई झन् राम्रो पढ्न उत्प्रेरित गर्छ ।

दैनिक हुने झै-झगडाबाट मुक्त हुँदा उनीहरुले पढ्ने वातावरण पाउँछन् । स्वतन्त्र महसुस गर्छन् । यस्तो अवस्थामा सम्बन्ध विच्छेद नै बालबालिकाको लागि अवसर बन्न सक्छ ।
 


Author

थप समाचार
x