समाज

३२ किलो गाँजासहित ६ जना पक्राउ

इकागज |
फागुन १६, २०८० बुधवार २१:४७ बजे

काठमाडाै‌ँ- देशका विभिन्न स्थानबाट ३२ किलाे गाँजासहित ६ जना पक्राउ परेका छन् ।

बाराकाे सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 


धादिङकाे गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

सर्लाहीकाे लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।


Author

थप समाचार
x