समाज

संकटमा नेपालकै पहिलो चट्टान अभिलेख

सुनीता साखकर्मी |
असोज १८, २०७७ आइतबार १३:५८ बजे

भक्तपुरको नालाछापस्थित हलाल गाउँमा रहेको चट्टान अभिलेख । तस्विर : सुनीता/इकागज


भक्तपुर । १० वर्ष अघिसम्म इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ विद्यार्थीलाई पढाउने गर्थे, ‘नेपालमा चट्टान अभिलेख छैन ।’ चट्टान अभिलेख हेर्न मन लागे भारत जान सुझाउँथे । २०६६ पछि भने उनले त्यसरी पढाउनु परेन । किनकि पुरुषोत्तम आफैले २०६६ को पुसमा नेपालकै पहिलो चट्टान अभिलेख भेट्टाए ।
 
विद्यार्थीहरूको सूचना पछि उनी चाँगुनारायण नगरपालिका-९ ताथलीको नालाछाप पुगे । ढुंगामा लेखिएको अक्षरहरूको अध्ययनसँगै उनले नेपालको पहिलो चट्टान अभिलेख भेट्टाए । तर पछिल्लो समय त्यो अभिलेखको अस्तित्व संकटमा परेको छ ।

नालाछापको हलालगाउँको पुरातात्विक एवम् ऐतिहासिक महत्वको अभिलेख संरक्षण भएन । अभिलेख कुदिँएको ढुंगामा मानिसहरू अनेकथरि लेख्दैछन् । साथै हावा, पानीले ढुंगामा लेखिएका अक्षर र कुदिँएका चित्र पनि मेटिन थालेका छन् । ढुंगाको पत्रपत्र निस्कन थालेको छ ।
 
प्रा.डा. श्रेष्ठका अनुसार, उक्त अभिलेख मल्लकालीन हो । नालाछापको बासुकी नागस्थान र पल्लो ठूलो पाखो सामुदायिक वनको करिब १०० मिटर क्षेत्रफलमा यत्रतत्र १५ वटा अभिलेख छरिएका छन् । करिब ६ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाइ, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षर समेत कोरिएका छन् ।
 
ती अभिलेखमा मल्लकालीन राजा वा पुजारीहरूको मन्दिर, धारा र कलात्मक बस्तुका निम्ति ढुङ्गा लिन गएको विवरण उल्लेख भएको श्रेष्ठ बताउँछन् । ती क्षेत्रमा उत्खनन गर्न सके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने श्रेष्ठको भनाइ छ ।


‘मैले विद्यार्थीहरूलाई संस्कृति विषय पढाउने क्रममा अभिलेखको बिषयमा पढाउँदै थिए, त्यही क्रममा मेरा विद्यार्थी मुना केसी र किशोर श्रेष्ठले आफ्नो घर नजिकै पनि ढुंगामा लेखिएको बताएपछि म त्यहाँ गए,’ श्रेष्ठ भन्छन्, ‘मैले ती चट्टानमा काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका जगत्ज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ललगायत पशुपतिका भट्टको समेत अभिलेख कुँदिएको पाएँ ।’ 

नालाछापको बासुकी नागस्थान र पल्लो ठूलो पाखो सामुदायिक वनको करिब १०० मिटर क्षेत्रफलमा यत्रतत्र १५ वटा अभिलेख छरिएका छन् । करिब ६ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाइ, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षर समेत कोरिएका छन् ।

प्रताप मल्लले नेपाल संवत् ७७८ मा उक्त ढुंगामा अभिलेख कुँदाएका थिए । उक्त अभिलेखमा उनले चाँगुनारायणमा गरुढ, नारायणलगायत मूर्ति र कलाकृति बनाउनको लागि यी ढुंगा छानिएको र यस ढुंगालाई कसैले बिगारेमा पञ्च महापाप लाग्ने समेत उल्लेख छ ।

त्यस्तै भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेपाल संवत ८३१ मा केही चट्टानमा अभिलेख कुँद्न लगाएका छन् । उनले भक्तपुरको बत्सला मन्दिर बनाउन त्यहाँको ढुंगा आफूले प्रयोग गर्ने लेखिएको छ । त्यस्तै भूपतिन्द्र मल्लले आफ्ना बुवाको कामलाई निरन्तरता दिन उनले पनि ढुंगामा अभिलेख कुँदाएका थिए । पशुपतिका पुजारी भट्टको समेत यहाँ अभिलेख रहेको उनले बताए ।
 
यी अभिलेखहरू सामेल गर्दै श्रेष्ठले ‘चट्टान अभिलेख र अन्य सम्पदा’नामक पुस्तक समेत प्रकाशन गरेका छन् । यसरी हेर्दा हलाल गाउँ ढुंगा खानीका रुपमा राम्रो रहेको उनले बताए । यो अभिलेख पत्ता लागेको एक दशक बितिसक्दा पनि यसको हेरचाह निम्ति उल्लेख्य काम भएको छैन । ‘हाम्रो दुर्लभ सम्पदाको संरक्षण नहुनु अफसोचको कुरा हो,’ श्रेष्ठ भन्छन्, ‘स्थानीय निकायले पनि यसमा ध्यान दिनुपर्ने हो । यसलाई व्यवस्थित गरेर प्रचार-प्रसार गर्न सकियो भने यसले आन्तरिक पर्यटन समेत बढाउन मद्दत गर्नेछ ।’
 
यसको संरक्षणका लागि पुरातत्व विभागले पनि काम गरिरहेको छ । विभागले दुई पटक यहाँ वरिपरि जाली राख्ने काम गरेको छ । तर ती जालीले मात्रै सम्पदा संरक्षण भएका छैनन् । गतवर्ष यहाँको सम्पदा संरक्षण गर्न पुरातत्व विभागले ५ लाख बजेट छुट्याएको पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका सहायक प्रमुख मोहनसिंह लामाले बताए । तर देश लकडाउनमा गएसँगै उक्त रकम खर्च भएन । त्यो रकम फिर्ता गयो ।
  
उनी भन्छन्, ‘लकडाउन भएपछि सरकारले रकममा कटौति गर्यो । चट्टान अभिलेखको लागि आएको पैसा खर्च गर्न पाइएन । अब यतिखेर काम गराएर पछि पैसा भुक्तानी भएन भने गाह्रो हुन्छ । काम अघि बढाउनेबारे छलफल भएको छ, तर कुनै निर्णय भएको छैन ।’
 
सहायक प्रमुख लामाका अनुसार, यो अभिलेख निजी जग्गामा छ । त्यसैले निजी जग्गामा भएका सम्पदामा सरकारी काम गर्नुअघि छलफल गर्नुपर्ने उनले बताए । तर राष्ट्रको सम्पदा जसको जग्गामा भएपनि सरकारले संरक्षणको लागि निर्धक्क रुपमा पहल गर्नुपर्ने इतिहासविद् श्रेष्ठ बताउँछन् ।

चट्टान अभिलेख संरक्षण गर्न पुरातत्व विभागले ५ लाख बजेट छुट्याए पनि मुलुक लकडाउनमा गएपछि खर्च हुन नसकी फिर्ता गयो ।

यो अभिलेख कुँदिएको ढुंगालाई स्थानीयहरूले ‘ठूलो ढुंगा’ भन्ने गरेको स्थानीय ७८ वर्षीय माधव पराजुली बताउँछन् । यो ढुंगा भन्दा केही तल उनको घर छ । त्यही ढुंगामाथि खेलेरै उनको बाल्यकाल बितेको थियो । पहिले यो ढुंगामा लेखिएका अक्षर थाहा नहुँदा धेरै वास्ता थिएन । तर जब यसको महत्व थाहा भयो, तबदेखि स्थानीय वासिन्दा यसलाई जोगाउन लागि परेको उनले बताए । ‘सानोमा हामीले पनि यसमा अंगारले लेखेर खेल्यौँ, जथाभावी लेखियो,’ उनी भन्छन्, ‘तर जबदेखि यसको महत्व थाहा भयो, तबदेखि यसलाई बचाउनुपर्छ भनेर सबैलाई भन्छु ।’

यही ढुंगाको ठ्याक्कै तल सानुबाबु विश्वकर्माको घर छ । उनलाई यो ढुंगामा लेखिएको अक्षर पढ्न आउँदैन । तर पनि यसमा लेखिएको अक्षर जोगाउनुपर्नेमा जोड दिन्छन् । ‘मलाई पो यो पढ्न आउँदैन, तर यसमा नेपालको इतिहास लेखिएको छ रे । यो धेरै महत्वपूर्ण ढुंगा हो रैछ,’ उनी भन्छन्, ‘यो ढुंगामा तारबार मात्रै लगाउने हुन्न । यो ढुंगा पहाडमा भएकाले यो ढुंगामुनि पहिरो जानसक्ने जोखिम पनि त्यति नै छ । त्यसैले तारबार, ट्रस्टका साथै वरिपरि पर्खाल पनि लगाउनुपर्छ ।’
 
इतिहासविद् श्रेष्ठ पनि यो क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नपर्नेमा जोड दिन्छन् । भन्छन्, ‘यस्ता सम्पदा फेरि बनाउँछु भनेर पाइदैन । त्यसैले भएकालाई जोगाउँ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x