समाज

(फोटो फिचर)

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

इकागज |
जेठ १९, २०८० शुक्रबार १७:५ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भीडका कारण दुर्घटनाका घटनाहरू बढ्न थालेका हुन् ।

चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढाएको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो ।


कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिबार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताए ।  उनले भने, 'सवारी साधन साइडमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक र सेल्फि खिच्ने गर्छन् । शनिबार र बिदाको दिन त यहाँ धेरै भीडभाड हुन्छ । त्यस्तोमा त सवारी साधन पास हुन समेत समस्या हुन्छ । यसले  दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’

पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ । २०५० सालमा जापानीज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ ।

तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५०० मिटर र १० मिटर चौडाइ रहेको छ । पछिल्लो समय कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ ।​

 


Author

थप समाचार
x