समाज

महोत्तरीको एनएमबी बैंकमा फिल्मीशैलीमा लुटपाट

इकागज |
जेठ १६, २०८० मंगलबार १८:२५ बजे

जनकपुरधाम- महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाका कर्मचारी र ग्राहकलाई बन्धक बनाएर लुटेराहरूको समूहले ३८ लाख रुपैयाँ लुटेका छन् ।

मंगलबार दिउँसाे साढे १२ बजेको समयमा एनएमबी बैंकको सो शाखाबाट ३८ लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चार जनाको समूहमा आएका लुटेराहरूले बैंकबाट सो रकम लुटेर लगेका हुन् ।


सिसीटिभी फुटेजमा चारैजना लुटेराहरूले हातमा बन्दुक बाेकेकाे देखिन्छ । उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मीशैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएका छन् ।

लुटेराहरू पेशेवर वा कुनै सांगठनिक आबद्धता नभइ फ्रेसर युवाहरू रहेको सिसीटीभी फुटेजबाट देखिएको छ । लुटेराहरूको पहिचान कार्य भइरहेको मल्लले बताए । उनले भने, 'लुटेराहरूको पहिचान कार्य भइरहेको छ । दुई/तीन दिनभित्रै नियन्त्रणमा लिने छौं ।'

सिसीटिभीमा चार जना लुटेराहरू देखिए पनि लुटपाटमा अन्य व्यक्तिहरूकाे पनि संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ । लुटपाट गरेर उनीहरू जनकपुरतर्फ फरार भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x