समाज

‘जात व्यवस्था उन्मूलन मोर्चा नेपाल’को दोस्रो राष्ट्रिय भेला सम्पन्न, ८ बुँदे समसामयिक प्रस्ताव पारित

इकागज |
जेठ १६, २०८० मंगलबार १६:२५ बजे

काठमाडौँ– ‘जात व्यवस्था उन्मूलन मोर्चा नेपाल’को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेला चितवनमा यही जेठ १० देखि १२ गतेसम्म चलेको थियो । 

देशका ७० जिल्लाका तीन सय बढी प्रतिनिधि सहभागी उक्त भेलाको बन्द सत्रले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलितको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पाँच सदस्य भने पछि थप्न सकिने प्रावधान राखिएको छ । 


भेलासँगै बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले नयाँ संगठनात्मक संरचनाअन्तर्गत तीन जना पछि थप्ने गरी सात सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा डोलराज विश्वकर्मा, दिपनारायण दास, शान्ती गजमेर, प्रेम गैरे र रवि नेपाली रहेका छन् । 

‘वर्णानुक्रमअनुसार चक्रीय प्रणालीमा ६–६ महिना नेतृत्व गर्ने गरी पहिलो चरणमा डोलराज विश्वकर्मालाई अध्यक्ष मण्डलको अध्यक्षमा चयन गरेको छ,’ भेला र नवगठित केन्द्रीय समितिले गरेका निर्णयबारे जानकारी दिन मोर्चाले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

बैठकले महासचिवमा रुपा सुनार, सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अश्मिता बादीलाई चुनेको छ । 

त्यस्तै, भेलाले सातै प्रदेशमा संयोजकहरू पनि चयन गरेको छ । जसमा कोशीमा पुजन हिङमाङ, मधेशमा जीवन विक, बागमतीमा लक्ष्मी विक, गण्डकीमा तारा सुनाम, लुम्बिनीमा अर्जुन विक, कर्णालीमा लक्ष्मण विक र सुदूरपश्चिममा मंगल बाजुरेलीलाई प्रदेश संयोजक बनाएको छ । मोर्चाले प्रदेश सम्पर्क समिति  संयोजकको जिम्मा भने बसन्त सापकोटा तिरुवालाई दिएको छ । 

त्यस्तै, भेलाले भ्रष्टाचार, महंगी, मिटरब्याज, नक्कली भुटानी शरणार्थी प्रकरणको न्याय लगायतका समसामयिक राजनीतिक विषयमा ८ बुँदे प्रस्तावसमेत पारित गरेको छ । 

राष्ट्रिय भेलाद्वारा पारित ८ बुँदे समसामयिक प्रस्ताव निम्नानुसार छन्–

१. यो भेला जात व्यवस्था विरुद्धको आन्दोलनमा आफ्नो ज्यान आहुति गर्नु हुने सबै योद्धाहरूको असीम स्मरण गर्दै जात व्यवस्था उन्मुलनको कार्यभारलाई पूरा गर्ने संकल्प गर्दछ ।

२. रुकुम–सोती नरसंहार र अजित मिजारको हत्याको न्यायोचित निरूपणका लागि हामी सरकारसँग जोडदार माग गर्दछौँ ।

३. जाली तवरले फसाइएका लालबहादुर विकको यथाशीघ्र रिहाइका लागि हामी सरकारसँग जोडदार माग गर्दछौँ । विद्यमान दलाल पूँजीवाद र यसले निर्माण गरेको न्याय प्रणालीका कारणले निम्तिने यस्ता घटना सदा अन्त्य गर्नका लागि संघर्षमा लामबद्ध हुन न्याय प्रेमी जनतालाई आह्वान गर्दछौँ ।

४. अन्तरजातीय विवाह गरेकै कारण निसीखोला गाउँपालिका वडा नं १ निवासी दिप टोमटा (दिलीप) गत भाद्र १६ गतेदेखि बेपत्ता छन् । हामी उनको अवस्था सार्वजनिक गर्न र दोषीउपर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं ।

५. कलेज शुल्क नतिरेका कारण आत्महत्या गर्न बाध्य बनाइएका जितबहादुर बयल कोटीको असीम स्मरण गर्दै हामी दोषीहरूमाथि कडाभन्द कडा कारबाही गर्न माग गर्दछौँ । साथै, उनलाई आत्महत्या गर्न बाध्य बनाउने दलाल पूँजीवादी शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको निर्माणका लागि आह्वान गर्दछौँ  ।

६. मिटर ब्याज, सहकारी, लघुवित्त, बैंकलगायत वित्तीय उत्पीडनविरुद्ध चलिरहेका संघर्षप्रति हार्दिक ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ । वित्तीय उत्पीडनको अन्त्य यही व्यवस्थामा असम्भव रहेकाले वैज्ञानिक समाजवादी अर्थतन्त्रको निर्माणमा जोडिन हामी सम्पूर्ण शोषित–उत्पीडित जनतालाई आह्वान गर्दछौँ ।

७. देशमा बढिरहेको अत्यधिक महँगीले आमजनताको जीवनयापन निक्कै कष्टकर बनिरहेको अवस्थामा महँगी​लाई नियन्त्रण गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । मंहगी दलाल पूँजीवादी व्यवस्थाको चरित्र रहेकाले हामी जनतामारा महँगीको अन्त्यका लागि वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा जोडिन सम्पूर्ण शोषित–उत्पीडित जनतालाई आह्वान गर्दछौँ । 

८. नक्कली भुटानी शरणार्थी प्रकरणले उजागर गरेको मानव बेचबिखन, भ्रष्टाचार र ठगीको घटनालाई निष्पक्ष छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गर्दछौँ । समाजमा यस्ता विकृतिपछाडि दलाल पूँजीवादी व्यवस्था रहेकाले हामी वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा जोडिन सम्पूर्ण शोषित–उत्पीडित जनतालाई आह्वान गर्दछौँ ।

जात व्यवस्था उन्मूलन मोर्चाको पहिलो राष्ट्रिय भेला २०७५ फागुनमा भएको थियो । मोर्चाले जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रूपमा मनाउँदै आइरहेको छ । 


Author

थप समाचार
x