समाज

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

इकागज |
जेठ १५, २०८० सोमबार १७:३६ बजे

फाइल फोटो

काठमाडौँ । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा दिवस मनाइएको हो । दिवससँगै सगरमाथामा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ पनि मनाइएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले जनाएको छ ।


सोह्रौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण संघको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा आरोहिलाई सम्मान गरिएको हो ।

सो अवसरमा एकसय सगरमाथा आरोहीलाई सगरमाथाको विशेष लोगो ‘सगरमाथा स्पेसल ब्याच’ प्रदान गरिएको थियो । कूल २८ पटक सगरमाथाको सफल आरोहण गरे विश्वकीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, विश्वका १४ वटा अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमानी आरोही सानु शेर्पालगायत अन्य स्वदेशी तथा विदेशी आरोहीलाई लोगो प्रदान गरिएको हो ।

त्यसैगरी, कीर्तिमानी आरोही सानु शेर्पा, सगरमाथा नेशनल अवार्ड तथा सगरमाथाको २७ पटक आरोहण गर्ने पासाङ दावा शेर्पा, किशोर अधिकारी र पासाङ शेर्पालाई तेन्जिङ हिलारी अवार्ड प्रदान गरिएको थियो । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोहीलाई अवार्ड वितरण गरेका थिए । 

सोही अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले ‘नेपाल पर्वत’ नामक स्मारिका विमोचन गरेका थिए । कार्यक्रममा वसन्त ऋतुमा सगरमाथा आरोहणमा ‘रोप फिक्सिङ टिम’ डोरी टाग्ने समूह र उत्कृष्ट कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले सगरमाथा आरोहीलाई आरोहण ब्याच वितरण गरेर आरोहीप्रति सम्मान प्रकट भएको बताए । उनले पर्यटन उद्योगमा हिमालको महत्वपूर्ण भूमिका रहेको भन्दै हिमाल आरोहणलाई अझै व्यवस्थित र सुरक्षित बनाउनका लागि सगरमाथा बेस क्याम्पमा आधारभूत सुविधाको व्यवस्थापन, सडक, सञ्चार एवम् आपत्कालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधाहरु व्यवस्थित गरिनुपर्नेमा जोड दिए । 

पर्यटन विभागको तथ्यांकअनुसार अहिलेसम्म सात हजार आठ सय ५० भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठवटा हिमाल नेपालमा रहेका छन् । 

पर्यटन राज्यमन्त्री ठकुरीले स्वदेशी र विदेशी पर्वतारोहीहरुको मागलाई ध्यानमा क्रमशः नयाँ हिमाल आरोहणका लागि खोल्दै गएको र यस वर्ष सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला अन्तर्गतका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको जानकारी दिए । 

अर्थतन्त्रलाई टेवा दिन र पर्वतारोहण व्यवसायलाई व्यवस्थित पार्नसमेत मन्त्रालय लागेको उनको भनाइ छ ।  पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले आठ हजार मिटर अग्लो हिमालका आरोहीको प्रोत्साहनका लागि सरकारले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिए । 

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मुलुकको पर्वतारोहणलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सबै संयन्त्रलाई सक्रिय रुपमा परिचालन गरिएको बताए । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादनमा संस्थाले भूमिका निर्वाह गर्दै आएको बताए । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको दिगो पर्वतीय पर्यटन विकास र  प्रवर्द्धनमा जोड दिए । रासस


Author

थप समाचार
x