समाज

मितेरी बर्थिङ सेन्टर

जसले जोगायो दुर्गमका गर्भवती आमाको ज्यान

लक्ष्मी भण्डारी |
जेठ ८, २०८० सोमबार १९:३९ बजे

सुर्खेत- पाँच वर्ष पहिले जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ मा नजिक बर्थिङ सेन्टर थिएन । गाउँमा कसैलाई सुत्केरी बेथा लाग्यो भने गर्भवती महिलालाई बोकेर टाढासम्म लैजानुपर्ने अवस्था थियो । यसरी टाढा स्वास्थ्य चौकीसम्म लैजाँदा बाटैमा सुत्केरीको ज्यान जान्थ्यो । समयमै उपचार नपाएपछि सुत्केरी आमा र बच्चाको ज्यान जोगाउनै मुस्किल थियो । यही अवस्थालाई मध्यनजर गर्दै गाउँमा बर्थिङ सेन्टर स्थापना भएको छ ।

पाँच वर्ष अघि सिंजा गाउँपालिका–६ दाँतमा बनेको मितेरी बर्थिङ सेन्टर केही दिन अघि गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ । एक्सन वर्कर्स नेपालको सहयोगमा २०७५ सालमा बर्थिङ सेन्टरको स्थापना भएको हो ।


वडा नम्बर ६  का  तत्कालीन वडाध्यक्ष कालीबहादुर बुढाले यो ठाउँमा २०७५ बर्थिङ सेन्टर स्थापना हुनु भन्दा अघि गर्भवती महिलालाई बोकेर शनिगाउँ, नराकोट, खलंगा लिनुपर्ने अवस्था थियो । ‘एक जना गर्भवती महिला बाटोमै सुत्केरी भइन्, नवजात शिशुको मृत्यु भयो । अर्की गर्भवती महिला बर्थिङ सेन्टरमा लैजाँदा लैजाँदै बाटोमा बच्चाको हात निस्कियो,’ विगतको घटना सुनाउँदै उनले भने, ‘ती गर्भवती महिलाको नराकोट बर्थिङ सेन्टरमा शल्यक्रिया गर्नुपर्ने अवस्था आयो र बच्चाको मृत्यु भयो ।’ यहाँका महिलाले धेरै दुःख पाएपछि २०७५ सालमा सिंजा गाउँपालिका–६ दाँतमा मितेरी बर्थिङ सेन्टर स्थापना भएको उनले बताए ।

साविकको शनिगाउँ गाविस संघीयतापछि जुम्लाको सिंजा गाउँपालिका ५ र ६ नम्बर वडामा पर्ने जोडु,भाडगाउँ, फुङ्ग्र, काडागाउँ, रुघा ,शनिगाउँ र गोेरा लगायत गाउँबस्ती छन् । दुर्गम गाउँ बस्तीमा पुग्ने कच्ची बाटो पुगेको छ तर, सवारी साधन भने नियमित आवतजावत हुँदैनन्, सडकको स्तरवृद्धि गर्नुपर्ने आवश्यकता छ ।

बर्थिङ सेन्टर स्थापनादेखि एक्सन वर्कस् नेपालले एक जना स्वास्थ्यकर्मी (अनमी) राखेर गर्भवती महिलालाई चेकजाँचदेखि सुत्केरी गराउँदै आएको तत्कालीन वडाध्यक्ष बुढाले बताए । बर्थिङ सेन्टरकी अनमी सारदा रोकायाले स्थापना भएदेखि ०८० वैशाख मसान्तसम्म ८५ जना गर्भवती महिला सुत्केरी भएको बताइन् ।  
‘यहाँबाट दुई जना गर्भवती महिलालाई मात्रै रेफर गरिएको छ,’ उनी भन्छिन्, ‘गर्भ चेकजाँच गर्न नमान्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुनु पर्छ भन्ने जानकारी नै नआएका महिलाहरू पछिल्लो समय सचेतीकरण भएर नियमित चेकजाँच र प्रसूति गर्न स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’

सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले दुर्गम ठाउँमा बर्थिङ सेन्टरले सेवा प्रवाह गर्दा गर्भवती आमा र बच्चाको ज्यान सुरक्षित भएको बताए । 
दुर्गम गाउँमा गर्भवती आमा र बच्चाको ज्यान सुरक्षित राख्ने आवश्यकता ठानेर स्थापना गरेको बर्थिङ सेन्टर पाँच वर्षपछि सिंजा गाउँपालिकालाई हस्तान्तरण गरेको एक्सन वर्कर्स नेपालकी अध्यक्ष सम्झना पौडेलले बताइन् ।

‘स्थानीय स्तरबाटै माग भएपछि सरोकारवाला निकायको समन्वयमा स्थापना भएको हो,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरको व्यवस्थापन, संरक्षण सबै गाउँपालिकाले गर्ने गरी हस्तान्तरण गरेका छौँ ।’

यसैबीच उक्त बर्थिङ सेन्टर गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ । वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार बर्थिङ सेन्टर हस्तान्तरणपछि सबै जिम्मेवारी पालिकाको काँधमा आएको बताए । यसको व्यवस्थापन देखि संरक्षणको गाउँपालिकादेखि समुदायको भूमिका रहने उनको भनाइ छ । 


Author

थप समाचार
x