समाज

कोशी प्रदेशको विरोधमा प्रदर्शन र झडप

प्रहरीद्वारा ४४ राउण्ड अश्रु ग्यास र २९ राउण्ड हवाई फायर, १८ प्रहरी र १३ प्रदर्शनकारी घाइते

बाबुराम भण्डारी |
चैत १४, २०७९ मंगलबार २०:४७ बजे

विराटनगर- कोशी प्रदेश खारेजको माग गर्दै मंगलबार विराटनगरमा भएको प्रदर्शनपछिको झडपमा प्रहरीले ४४ राउण्ड अश्रु ग्यास र २९ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रदर्शनकारी र प्रहरी गरी ३१ जना घाइते भएका छन् ।

जातीय पहिचान पक्षधर संघसंस्था तथा केही राजनीतिक दलसम्बद्ध कार्यकर्ताहरू र प्रहरीबीच विराटनगर–९ पाञ्चाली मोडमा झडप भएको हो । युएनडिपी नेपालले विराटनगरको बिग होटलमा आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी प्रदेश सभा सदस्यहरूको भूमिका विषयक अभिमुखीकरणमा सहभागी हुने कोशी प्रदेशका सभा सदस्यहरूविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।


जातीय पहिचानसहितको प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै उग्र प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूलाई रोक्ने क्रममा प्रहरीसँग झडप हुँदा उनीहरूले होटलको कफी सपमा अन्धाधुन्द तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरू होलटमै प्रवेश गर्न खोज्दा दोहोरो झडप भएको हो । उनीहरूले प्रहरीमाथि ढुंगा, ईटा र बोतल प्रहार गरेका थिए । प्रहरीले प्रदर्शनकारीहरू लक्षित गर्दै पानीको फोहोरा, अश्रु ग्यास र हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले झडपका क्रममा नेपाल प्रहरीले ३१ राउण्ड र सशस्त्र प्रहरीबाट १३ राउण्ड अश्रु ग्यासको सेल प्रहार गरेको जानकारी दिए । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा हान्नुका साथै नेपाल प्रहरीले २९ राउण्ड हवाई फायर समेत गरेको उनले बताए ।
झडपमा प्रदर्शनकारीहरूले हानेको ढुंगाले लागेर वडा प्रहरी कार्यालय (क) विराटनगरका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू घाइते भए । विपरीत दिशाबाट चलेको हावाले साथ नदिँदा प्रदर्शनकारीतिर हानेको अश्रु ग्यास प्रहरीतिरै फर्किंदा उनीहरूलाई समेत निकै कष्ट व्यहोरिरहेका देखिन्थे ।

झडपका क्रममा प्रहरीतर्फ जम्मा १८ जना घाइते भएका छन् । जसमध्ये १४ जना सामान्य रहेको र बाँकी ४ जना भने गम्भीर घाइते भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । घाइते मध्ये १२ जना नेपाल प्रहरी रहेका छन् ।

प्रहरीले सडकमा राखेको काँडेतारसहितको ब्यारिकेट प्रदर्शनकारीहरूले फालिदिएका थिए । करिब एक घण्टासम्म प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहँदा रोडशेष चोक र पाञ्चाली मोडबीचको सडक तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले हानेको ढुंगा, ईटा र बोतलका टुक्रा सडकभरी देखिन्थ्यो ।  त्यस्तै प्रहरीले हानेको अश्रु ग्यासले सडकको दुई किनाराका बासिन्दा समेत पीडित बने ।

यसअघि चैत ५ गते पनि प्रदर्शनकारी र प्रहरीबीच रोडशेष दक्षिण मुख्यमन्त्री कार्यालयको एक सय मिटर नजिकै झडप भएको थियो । उक्त झडपमा सहभागी भएका पदम लिम्बुको चैत १० गते उपचारकै क्रममा मृत्यु भएको थियो । लिम्बुको फोटोसहित प्रदर्शनमा उपस्थित भएका प्रदर्शनकारीहरूले उनको मृत्युको विरोधमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।

मंगलबारको झडपमा प्रदर्शनकारीहरूले गुलेलीले समेत प्रहरीमाथि आक्रमण गरेको सुरक्षा स्रोतले दाबी गरेको छ । उनीहरूले खुकुरी पनि देखाएको प्रहरीले जनाएको छ । 

झडपका आन्दोलनकारीतर्फ सुरज राई, अशोक राई, उदय लिम्बु, पदम केरुङ, शिव आङदेम्बे, ज्ञानप्रकाशन राई, एके दर्नाल, विशाल राई, पद्मलाल लिम्बु, आस्था राई, रेशम राई, विमल किराँती र रोयल राई घाइते भएको प्रदेश नं. १ पुनः नामाकरण संघर्ष समितिका अर्जुन जम्नेली राईले उल्लेख गरेका छन् । ज्ञानप्रसाद र एके दर्नालको भने टाउकोमा चोट लागेको छ । अन्यको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ । उनीहरूको विराटनगरस्थित पारस हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । 

कफी सप तोडफोड

अर्थ विज्ञहरूको प्रस्तुति तय गरिएको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन अभिमुखीकरण कार्यक्रम दुई दिनका लागि तय थियो । उक्त कार्यक्रमलाई युएनडिपीले सुन्दरहरैंचास्थित होटल नेपालीरिकामा राखेको थियो । 

सञ्चारकर्मीहरूको समेत पहुँच बाहिर राखिएको उक्त कार्यक्रममा आन्दोलनरत समूहबाट भौतिक असुरक्षा हुने निष्कर्षसहित अन्तिम समयमा मात्रै विराटनगरको बिग होटलमा सारिएको थियो । प्रदेश सभा सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन अवरोध पुर्‍याउने उद्देश्यले आक्रोशित बनेका प्रदर्शनकारीहरूले बिग होटल अगाडिको कफि सपमा ढुंगामुढा गरेका हुन् ।

कफी सपको अगाडिका सिसा फुटेका छन् । कुर्सी टेबुल, फ्रिज र सोफामा पनि क्षति पुग्दा करिब सात लाख रुपैयाँ बढीको क्षति भएको होटल व्यवस्थापनले जनाएको छ ।

होटलभित्र दिउँसो २ बजेबाट सुरु गर्ने तय भएको दुई दिने कार्यक्रम करिब ३ बजेमात्रै सुरु भएको थियो । प्रदेश सभाका सभामुख बाबुराम गौतम र उपप्रमुख सृजना दनुवारको उपस्थितिमा प्रदेश सभाका सदस्यहरूलाई लक्षित गर्दै आयोजना गरिएको अन्तरक्रियामा युएनडिपीले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्ले र डा. खिमलाल देवकोटा लगायतलाई विज्ञका रूपमा बोलाएको थियो ।

झडपपछि प्रदर्शनकारीहरूको नेतृत्व गरिरहेका पहिचान पक्षधर नेताहरूले कोणसभा गर्दै चर्का भाषण गरेका थिए । उनीहरू कोणसभा सकेर फर्किएपछि कोशी प्रदेशका प्रदेश सभाका सदस्यहरू होटल प्रवेश गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x