समाज

मकवानपुरका स्वास्थ्य संस्थाहरू मापदण्डविपरीत, सञ्चो हस्पिटलको ल्याबमा प्रशासनको ताला

बिना अनुमति शल्यक्रिया

इकागज |
चैत १३, २०७९ सोमबार २१:२७ बजे

सांकेतिक तस्बिर

मकवानपुर- मापदण्ड तोकिएको निर्देशिका अनुसार चलाउन नसकेका स्वास्थ्य संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई दिनअघि पत्र काटेको थियो । आज हेटौंडाको एक हस्पिटलको ल्याबमा प्रशासनले ताला लगाएको छ ।

हेटौंडामा रहेको सञ्चो हस्पिटलको ल्याबमा आज प्रशासनले ताला लगाएको हो । अस्पतालको ल्याब स्वास्थ्य मापदण्ड अनुसार नभएको पाइएपछि प्रशासनले ताला लगाएको जनाएको छ ।


मकवानपुरको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गरिएको बजार अनुगमनपछि मापदण्ड पुर्‍याउन नसक्नेले स्वास्थ्य संस्थाहरू बन्द समेत गर्न सक्ने भन्दै दुई दिनअघि नै निर्देशन दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा गएको एकीकृत बजार अनुगमन समितिले हेटौंडा उपमहानगरपालिका वडा न १ मा रहेका मकवानपुर सहकारी अस्पताल र हेटौंडा सिटी हस्पिटलको अनुगमन गरी सुझाव तथा कारबाही गरिएको जनाएको छ ।

२५ शय्या अस्पताल संचालन स्वीकृत लिएको मकवानपुर सहकारी अस्पतालमा हाल मापदण्डभन्दा बढी शय्या राखि संचालन गरिएको पाइएकोले स्वीकृतभन्दा बढी संचालनमा रहेको २६ शय्या बन्द गरी मापदण्ड पूरा गरेपश्चात मात्र संचालन गर्न निर्देशन दिइएको छ ।

हेटौंडा सिटि हस्पिटल नवीकरण नगरि संचालन गरिएको पाइएकाले नवीकरण गर्न १६ चैतसम्मको समय सीमा दिइएको छ । उक्त हस्पिटलको इमर्जेन्सीमा मापदण्ड विपरीत राखिएका ६ शय्यामध्ये ३ शय्या प्रशासनले हटाएको छ ।

जनस्वास्थ्य ऐन तथा नियमावलीले तोकेको मापदण्ड पालना गरी निजी स्वास्थ्य संस्थाहरू संचालन गर्न समेत सरोकारवालामा प्रशासनले अनुरोध गरेको छ ।

यता मकवानपुरको हेटौंडा-१ मा रहेको सन्चो र मोडल अस्पताल स्वास्थ्य मापदण्ड विपरीत रहेको पाइएको छ ।

सन्चो अस्पतालको भवन पूर्वाधार मापदण्ड अनुसारको नरहेको पाइएको छ । स्वास्थ्य सेवा नियमावलीमा उल्लेख भए अनुसारको मापदण्ड अस्पतालले पूरा गरेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा त अस्पतालमा बिरामी राख्ने आकस्मिक कक्ष, ओपिडी र अन्य कक्षहरू कुनै पनि मापदण्ड अनुसारको नरहेको बताइएको छ ।

अस्पतालका कोठाहरू अस्पतालका लागि उपयुक्त नभएकाले बिरामीले उपचारका क्रममा सास्ती भोगिरहनु परेको गुनासो गर्दै आएका छन्  ।

निजी अस्पतालका नाममा चर्को सेवा शुल्क लिने गरेको यस अस्पतालले नियम र कानुनको बर्खिलाप स्वास्थ्य सेवाका नाममा कमाउ धन्दा गरिरहेको आरोप लाग्दै आएको छ । तर, सम्बन्धित निकायले भने कुनै पनि कारबाही गरेको छैन ।

२ दिनअघि जिल्ला प्रशासन कार्यालयलगायतको उपस्थितिमा भएको गरिएको अनुगमनमा प्रदेश स्वास्थ्य नियमावली २०७६ अनुसार न्यूनतम पूरा गर्नुपर्ने मापदण्डसमेत पूरा नगरी निर्वाध रूपमा अस्पताल संचालन गरिएको पाइएको हो ।

अस्पतालको कुल क्षेत्रफ़लको २५ प्रतिशत पार्किङ हुनुपर्ने प्रावधान छ । तर, यहाँ उपचार गराउन आउँदा सवारी बाटोमा पार्किङ गर्नुपर्छ । त्यस्तै प्रतीक्षालय हुनुपर्नेमा तोकिएको मापदण्ड अनुसारको छैन, अस्पतालमा खानेपानीको राम्रो व्यवस्था हुनुपर्नेमा यहाँ बिरामी र आफन्तले पानी समेत खान पाउने अवस्था छैन ।

यहाँका आकस्मिक वार्ड, ओपिडीलगायतका स्थान तोकिएको मापदण्ड अनुसार कुनै पनि छैनन् । तर, अस्पतालले भने सेवा वापतको चर्को शुल्क लिने गरेको छ ।

बिना अनुमति शल्यक्रिया

हेटौंडा कै मोडेल अस्पतालले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ । १० शय्याको अनुमति लिएको यस अस्पतालले क्षमता र अनुमतिभन्दा निकै बढी बेड संचालन गरिरहेको छ ।

अनुमति नै नलिएको अस्पतालले शल्यक्रिया कक्ष र प्रयोगशाला संचालन गरिरहेको छ ।  नियमानुसार यस अस्पतालले अप्रेसन थियटर संचालन गर्न पाउँदैन तर यहाँ सामान्य तथा जटिल प्रकारको शल्यक्रिया हुने गर्दछ ।

मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको टोलीले अनुगमन गरी अपरेसन थियटर शील गरेको थियो । तर, पहुँचका आधारमा केही दिन उक्त शील बिना जानकारी खोलिएको छ ।


Author

थप समाचार
x