समाज

११ दिन हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितको आन्दोलनमा मेयर बालेनको ऐक्यबद्धता

इकागज |
चैत १३, २०७९ सोमबार १८:१४ बजे

काठमाडौँ- मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका छन् ।

उनले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै पीडितको मागप्रति  ऐक्यबद्धता रहेको समेत प्रतिबद्धता जाहेर गरेका छन् । 'नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौ,’ उनले भनेका छन्, 'हामी चाहन्छौँ यस्तो अवस्था मा काठमाडौँ कोही आउन नपरोस्, गाउँ-गाउँमा सरकार पुगोस् ।'


मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारकाे आश्वासनमै सीमित रहेको टिप्पणी उनले गरेका छन् । 'काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ,' उनले अगाडि भनेका छन् ।

११ दिन हिँडेर काठमाडौँ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्था गरेको जानकारी उनले दिए । 'खाना र वासको व्यवस्था गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्यौं तर उहाँहरू खुल्लामञ्चमा बस्न खोज्नुभयो,' उनले भने ।

मिटर ब्याजीविरुद्ध आन्दोलन गर्न महोत्तरीदेखि चैत  २ गतेदेखि उनीहरू हिड्न सुरु गरेका थिए । उनीहरू  बर्दिवास हुँदै हेटौडाको बाटोबाट काठमाडौँ प्रवेश गरेका थिए ।

 

 

 

 

 

 


Author

थप समाचार
x