समाज

भोजपुरका ग्रामीण क्षेत्रका नागरिकको साधन अटो

इकागज |
चैत ६, २०७९ सोमवार २०:५८ बजे

टक्सार (भोजपुर)- तराईका जिल्लामा मात्र छ्यापछ्याप्ती देखिने गरेको अटो टेम्पो अहिले भोजपुरका गाउँगाउँमा देख्न सकिन्छ । पहाडी जिल्ला भोजपुरमा सडकमा पहुँच पुगेसँगै ग्रामीण नागरिकमा पनि अटो मोह देखिन थालेको हो । 

हटियाको सामान ओसार्नदेखि लिएर मिल जान पनि अहिले अटोकै बढी प्रयोग हुने गरेको छ । भोजपुरमा मूल सडकभन्दा भित्री ग्रामीण क्षेत्रका नागरिकलाई आवतजावतका साथै साँझ–बिहान कोही बिरामी भएर स्वास्थ्य संस्थासम्म लानु परेमा पनि अटो भरपर्दो साधन बनेको छ । 'अटो टेम्पो चालकको फोन नम्बर राखेर बोलाउने हो, समस्यामा परेको बेलामा सहजता हुन्छ, कम दूरीको यात्रामा अटो सहज साधन भएको छ,' भोजपुर नगरपालिकाका–४ की दुर्गा प्रधानले भने ।


गाउँघरमा ठूला सवारी साधनको पहुँच नहुने भएकाले अटो प्रभावकारी सेवा दिने माध्यम भएको छ । भोजपुरमा अटो व्यवसाय चलाइरहेका गणेश श्रेष्ठ यात्रुलाई नम्बर दिने गरेको र अर्को पटक सोही नम्बरमा वरपर आउनजानका लागि बोलाउने गरिएको बताउँछन् । 

काम नभएर पहिला साथीभाइसँग गफिनेहरूसमेत अहिले अटो किनेर व्यवसायी बनेका छन् । त्यति मात्र होइन वैदेशिक रोजगारीबाट फर्केर आउनेहरूले समेत अहिले विकल्पका रुपमा अटो किनेर सेवा दिँदै आइरहेको देखिन्छ । ग्रामीण भेगमा सडकको स्तरोन्नति हुन सकेमा त्यस क्षेत्रका सर्वसाधारणका लागि अटो अझै राम्रो सवारीको साधन बन्ने गाउँवासीको भनाइ छ ।

सङ्घीयतासँगै स्थानीय निकायमा जमघट समेत बढी हुने भएकाले सदरमुकाममा भन्दा गाउँ बस्तीहरूमा टेम्पोको माग बढी देखिएको छ । 

विगतमा थोरै टेम्पोले सर्वसाधरणलाई सेवा दिइरहेको भए पनि अहिले छिनछिनमा टेम्पो कुद्ने गरेको छ । अहिले टेम्पोले दैनिक रूपमा शनिबारे हटियालाइन, बजार क्षेत्र, पानीट्याङ्की, देउराली, टक्सार, हस्पिटल, एयरपोर्ट लगायतका स्थानमा मात्र नभई सदरमुकाम आसपासमा रहेको बोखिम, भैँसीपङ्खा, श्यामिशिला लगायतका स्थानमा पनि यात्रु र सामान ओसारपसार गर्ने गरेका छन् । 

आफ्ना लागि छोटो दूरीको यात्राको आनन्द र किराना पसलका सामानहरू बजारदेखि ल्याउन टेम्पो एक मात्र सहज, सुरक्षित, सुलभ र रमाइलो साधन भएको भोजपुर नगरपालिकाका व्यवसायी दीपक श्रेष्ठको भनाइ छ । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका र भोजपुर नगरपालिकालगायत स्थानीय तहहरूमा अटोको सेवा पुगेको छ ।


Author

थप समाचार
x