समाज

पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन माग

इकागज |
चैत ४, २०७९ शनिवार २१:३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ ।

महासंघको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो । 


“साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकमलाई दोब्बर बनाउन महासंघ काठमाडौँ शाखा यस घोषणपत्रमार्फत सरकारसँग विशेष माग गर्दछ”, घोषणापत्रमा भनिएको छ ।

महासंघले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन प्रदान गर्ने भनिए पनि कार्यविधि अभावका कारण हालसम्म कार्यान्वयन हुन नसकेको बताउँदै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन अनुरोध पनि गरेको छ ।

बैठकले सरकारबाट साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रू १० लाखबाट बढाएर रू २५ लाख बनाउनुपर्नेमा जोड दिएको छ । सरकारले पत्रकारका लागि लागू गरेको दुर्घटना बीमाको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने र त्यसलाई बीमामा रुपान्तरण गर्नुपर्ने महासंघको भनाइ छ ।
रासस


Author

थप समाचार
x