समाज

मिटरब्याजी साहुको ज्यादती : ९० हजारमा साढे पाँच कठ्ठा जग्गा हडपियो

कमल विष्ट |
चैत ३, २०७९ शुक्रबार १८:२२ बजे

मिटरब्याजी साहुको अन्यायमा परेर बासै उठेको मान्छेमा के बित्छ होला ?

आँखै अगाडि आफ्नो भूमिमा भूमाफियाको हलो चल्दा कति पीडा हुन्छ होला ? 


यो अरूले अनुभूत गर्न सक्दैनन् । यो त भोग्नेलाई मात्र थाहा हुन्छ । यो सिरहा लहानबस्तीपुरका विन्दु शाहलाई मात्र थाहा छ ।  

३९ वर्षीय विन्दुसँग पुर्खाको अन्तिम चिनोका रूपमा त्यही एक टुक्रा जमिन थियो । त्यो पनि मिटरब्याजी माफियाको चंगुलमा परेर गुमेको छ । अब उनीसँग बाँकी छ त विक्षिप्त मन । बाँकी छ त निभ्नै लागेको आशाको दियो । 

उनी अहिले विक्षिप्त मनमा त्यही निभ्न लागेको आशाको दियो बालेर न्यायको याचना गरिरहेका छन् । मिटरब्याजी साहुकारको ज्यादतीबारे सुनाउन सिरहादेखि संघीय राजधानी काठमाडौंसम्म भौतारिरहेका छन् ।

जीवनप्रतिको मोह भंग हुँदै गइरहेका विन्दुलाई आफूले न्याय पाउँछु भन्ने विश्वास भने छ । ‘अहिले हामीले हामी जस्ताका लागि बोलिदिने कोही भेटेका छौँ, तपाईं मिडियाहरू भेटिनुभएको छ । अब न्याय पाउँछु भन्ने विश्वास छ,’ मिटरब्याजी साहु र लघुवित्तको ज्यादतीविरुद्ध देशभरका पीडित किसानले मंगलबार संयुक्त रुपमा गरेको विरोधसभामा सहभागी हुन काठमाडौं आएका शाहले सुनाए ।

गत असारमा मिटरब्याजी साहुविरुद्ध देशभरका पीडित किसानले आन्दोलन छेडे । नवलपरासीका किसानले माइतीघर मण्डलामा विरोधसभा गरेर सरकारलाई मिटरब्याजीविरुद्ध कडा कदम चाल्न र नचाले आन्दोलन चर्काउने चेतावनी दिएपछि सरकार झस्कियो । त्यसपछि सरकारले देशभरका किसानलाई साहुविरुद्ध जिल्ला र प्रहरी प्रशासनमा उजुरी दिन आह्वान गर्यो । विन्दु पनि त्यो अभियानमा मिसिए र आफूलाई भूमिहीन बनाउने मिटरब्याजी साहुविरुद्ध सिडियो कार्यालयमा उजुरी दिए । 

विन्दु अहिले शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् । मुद्दा आफूले जित्नेमा विश्वस्त पनि छन् । 

कसरी भए विन्दु भूमिहीन ?

खेतीकिसानीले परिवार नचल्ने भएपछि २०६२ सालमा विन्दुले मलेसिया जाने योजना बुने । तर, उनीसँग पैसा थिएन । उनले गाउँकै रामु शाहसँग आफूलाई सहयोग गर्न आग्रह गरे । शाह तयार भए । शाहले उनलाई ९० हजार रुपैयाँ ऋण दिए, मासिक सयकडा साढे चार प्रतिशत ब्याज तिर्ने सर्तमा । शाहले एउटा अर्को सर्त पनि राखे– ब्याज र साँवा नतिर्दासम्म जमिन आफ्नो नाममा हुन्छ ।

बाध्यताले थलिएका विन्दुसँग दुवै सर्त स्वीकार्नुको विकल्प थिएन । मालपोत गएर पाँच कठ्ठा आठ धूर जग्गा शाहको नाममा गरिदिए । शाह नातेदार भएकाले उनले विश्वास गरे । त्यसअघि पनि उनले शाहसँग कारोबार गरेका थिए । 

सबै बन्दोबस्तो भएपछि उनी विदेश गए । चार वर्ष दिनरातलाई एक बनाएर काम गरे र थोरै पैसा कमाएर नेपाल फर्किए । तर, त्यो पैसा ब्याज र साँवा तिर्न पर्याप्त भएन । ‘मैले रामुलाई मसँग अहिले यतिमात्र छ, बाँकी पछि तिर्छु भनेर भनेँ,’ उनले भने । 

त्यसपछि विन्दुले बाँकी पैसा जुटाउन छरछिमेकको सहयोग मागे । पैसाको जोहो भएपछि उनलाई लाग्यो, अब जमिन फिर्ता हुन्छ । उनी खुसी हुँदै शाहको घरमा गए । तर, परिणाम उनले सोचेको जस्तो भएन । बरु उनले त्यहाँ जे सुने, त्यसले उनी आकाशबाट धर्तीमा जोडले बजारिए । 

‘रामुले मलाई तेरो जग्गा त मैले बेचिसकेँ भने । मलाई विश्वासै लागेन, आकाशबाट धर्तीमा जोडले बजारिए जस्तो भएँ । उनीसँग जग्गा फिर्ता गरिदिन लाख बिन्ती गरेँ, तर मानेनन्,’ विन्दुले दुःखको पोयो खोले । 

उनको परिवारले शाहको घरमा गएर रोनाधोना गर्यो । गाउँका बुद्धिजीवी तथा भद्रभलाद्मीसँग पनि गुहार माग्यो । उनीहरूले पनि शाहलाई सम्झाउने प्रयास गरे । तर, शाहले कसैको याचना सुनेनन् । तीन महिनापछि उनी फेरि मेलिसिया उडे । जीवन आगाडि बढाउनु जो थियो । 

उनी मलेसिया गए पनि यता उनको परिवार शाहको घर धाउन छाडेन । सात वर्षपछि उनी नेपाल फर्किए । छोरा र श्रीमतीसँग उनी फेरि शाहको घरमा दिनदिनै पुग्न थाले । तर, शाहको ‘ढुंगे मुटु’ उनीहरूको आँसुले पग्लिएन ।

‘नातेदार भनेर विश्वास गरेको थिएँ, तर उनले धोका दिए । जग्गा फिर्ता गरिदिनु भनेर लाख भिख माग्दा पनि फिर्ता गरिदिएनन्,’ विन्दुले आफूमाथि परेको अन्यायको बेलिबिस्तार लगाए ।

‘पछिपछि त उनको घरमा ताला लाग्न थाल्यो । हामी गएपछि उनकी श्रीमतीले रामु घरमा छैन भन्थिन् । तर, उनी भित्रै लुकेर बसिरहेको हुन्थे,’ उनले सुनाए । 

केही सीप नलागेपछि परिवारले शाहको आँगनमा अनुनयविनय गर्न छाडिदियो । परिवार धान्न उनले घरमा रंग लाउने काम सुरु गरे । जीवनमा फर्किए पनि उनको मन सधैँ वेचैन रहन थाल्यो । पुर्ख्याैली सम्पत्ति मान्छेका लागि सास जस्तो हुने उनी बताउँछन् । 

‘पुर्खाले छाडिगएको सम्पत्ति सास जस्तो हुने रहेछ । सास नै गुमेपछि मान्छेलाई बाँच्न पनि मन लाग्दैन रहेछ । बिस्तारै काममा पनि जाँगर लाग्न छाड्यो । विरक्तिन थालेँ,’ उनले भने, ‘केही वर्षपछि काम पनि छाडिदिएँ । बरालिएर हिँड्न थालेँ । सम्पत्ति नभएपछि श्रीमती र छोराहरू पनि टाढिँदा रहेछन् । उनी सप्तरीमा आफ्नी आमासँग बस्न थालिन् ।’

विक्षिप्त मनमा आशाको दियो

निरिह विन्दुका दिनहरू निरुपाय, निरुदेद्दश्य बित्न थालेका थिए । साहुको ज्यादतीले ‘सास’ गुमाएपछि विन्दुले जीवनको लय पनि गुमाएका थिए । गत आसरमा मिटरब्याजी साहुकारविरुद्ध देशभर किसानले छेडेको आन्दोलनबारे उनले थाहा पाए । त्यसपछि उनी त्यसमा सरिकमात्र भएनन्, मिटरब्याज पीडित संघर्ष समिति, सिरहाका अध्यक्षसमेत भए । 

उनले भदौमा शाहविरुद्ध सिडिओमा उजुरी दिए । सिडिओ कार्यालयले शाहलाई बोलाएर जग्गा फिर्ता गर्न निर्देशन दियो । तर, शाहले जग्गा फिर्ता गर्न मानेनन् । उल्टै उनले विन्दु र सिडिओले बिनाकारण आफूलाई धम्क्याइरहेको भन्दै उनीहरुविरुद्ध सप्तरीको सिडिओ कार्यालयमा उजुरी दिए । 

‘उनको उजुरीमाथि मैले फेरि उजुरी दिएको छ । अहिले यो मुद्दा सप्तरी जिल्ला अदालत हुँदै जनकपुर उच्च अदालत पुगेको छ । अदालतले वैशाखमा यसको सुनवाईका लागि पेसी तोकेको छ,’ आफ्नो न्यायिक लडाइँबारे उनले बताए । 

'रामुहरू'को अत्याचार  

शाहले जग्गा बेचिसकेँ भने पनि उक्त जग्गा नबेचिएको विन्दु बताउँछन् । त्यो जमिन शाहले कहिले श्रीमती त कहिले छोरीको नाममा नामसारी गर्ने गरेको उनको भनाइ छ । 

शाहले मिटरब्याजको चंगुलमा फसाएर थुप्रै किसानको जग्गा हडपेको उनको जिकिर छ । भन्छन्, ‘उनको कामै सोझासाझा किसानको जमिन कब्जा गर्ने हो,’ उनको आरोप छ । 

उनी मात्र होइन, शाहहरू जस्ता थुप्रै मिटरब्याजी देशैभर सक्रिय रहेको उनी बताउँछन् । आफूहरू जस्ता तमाम पीडितको पक्षमा आन्दोलन चर्काएर पीडकलाई कानुनको कठघरामा उभ्याउने उनको संकल्प छ । 

‘अब हामी देशभरका पीडित किसानसम्म पुगेर आन्दोलन अगाडि बढाउँछौँ । उनीहरूलाई जसरी पनि कानुनको अगाडि घुँडा टेकाउँछौँ । अब किसानहरू जागिसके,’ उनले आफ्नो आन्दोलनबारे बताए ।​

मिटरब्याजमा नेता, शिक्षक, प्रहरी, डाक्टरलगायत अन्य बुद्धिजीवी पनि संलग्न रहेकाले सरकारले कडा कदम चाल्न नसकेको आरोप उनको छ । ‘सरकार र राजनीतिक दल नै मिटरब्याजी साहुको पैसाबाट चलिरहेका छन् । यस्तो अवस्था भएपछि सरकार र राजनीतिक दलहरूले मिटरब्याजीलाई कारबाही गर्न सक्छन् त ?’ उनको प्रश्न छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x