समाज

‘लघुवित्तको ऋण महाकालीकाे पानी जस्तै रहेछ, जति तिरे पनि सकिँदैन’

कमल विष्ट |
चैत १, २०७९ बुधबार १७:५२ बजे

काठमाडाैं । नेपालमै बसेर परिवारको जीवनरथ नधानिने भएपछि दुई वर्षअघि हेमा खुलालका छोराले विदेश जाने निधो गरे । तर, छोरालाई विदेश पठाउन उनीसँग पैसा थिएन । उनी पैसाको जोहो गर्नतिर लागिन् । चिन्ताले गाँजिएकी खुलालको दिमागमा एउटा उपाय सुझ्यो– लघुवित्तबाट ऋण लिने । 

उनले आफैँ सदस्य रहेको ‘छिमेकी लघुवित्त’बाट लालपूर्जा धितो राखेर ४ लाख रुपैयाँ ऋण लिने भइन्, ब्याज र सावाँ स्वरूप मासिक २४ हजार तिर्ने सर्तमा । तर, उनको हातमा ३ लाख ६० हजार रुपैयाँ मात्र पर्यो, ४० हजार केही महिनाको ब्याज भनेर उतै काटियो । 


पैसाकाे बन्दोबस्तो भएपछि छोरा मलेसिया उडे । मेनपावरले सपना देखाए जस्तो काम सजिलो थिएन । तैपनि अहोरात्र खटिएर उनी हरेक महिना ब्याज र सावाँका लागि नेपाल पैसा पठाउन थाले । तर, उनले मालिकको प्रताडना धेरै सहन सकेनन् ।

विदेशिएको वर्षदिन नपुग्दै उनले रुँदै आमालाई फोन गरे र भने, ‘मालिकले साह्रै कुट्न थाल्यो । म त नेपाल फर्किन्छु आमा ! तर, फर्कने पैसा चाहिँ छैन ।’ 

छोराको बिलौनाले आमा भक्कानिनन् मात्र, दिन प्रतिदिन विक्षिप्त बन्दै गइन् । तर, उनलाई कमजोर भएर बसिरहने छुट कहाँ थियो र ? कसै गरी पैसाको बन्दोबस्तो गरेर छोरालाई नेपाल झिकाउनु थियो । छरछिमेकको सहयोग र बाख्रा बेचेर पैसा जुटाइन् र छोरालाई नेपाल फर्काइन् । 

तर, उनी अरवी साहुको ज्यादतीबाट छोरालाई मुक्त गराउन सफल भए पनि आफ्नै देशको लघुवित्तबाट मुक्त हुन सकिनन् । लघुवित्तले ब्याज र सावाँका लागि रातोदिन ताकेता गर्न थाल्यो । दैनन्दिन शत्रु हुँदै गइरहेको ‘छिमेकी’को अगाडि उनको केही लागेन । अन्ततः उनले वर्षौँदेखि साँचिराखेको मायाको चिनो बेचिदिइन् । 

‘ऋण र सावाँ घटाउन बुडाले मलाई विवाहमा दिएको नाकको फुली र कानको मुन्द्रा बेच्नुपर्यो । त्यो बेला मन धेरै रोयो हजुर,’ मंगलबार काठमाडौंको माइतीघर मण्डलमा मिटरब्याजी साहु र लघुवित्तको लुटतन्त्रविरुद्ध देशभरका पीडितहरूले संयुक्त रुपमा गरेको आन्दोलनमा भेटिएकी उनले सुनाइनन् । 

कञ्चनपुर पुनर्वासकी खुलालसँग काठमाडौं आउने पैसा पनि थिएन । आफू जस्तै पीडितहरूको सहयोगमा उनी काठमाडौं आएकी थिइन् । ४२ जना पीडित मिलेर दुई दिनका लागि बस रिजर्भ गरेका थिए । बस सीमित समयका लागि भएकाले उनीहरूलाई मंगलबार बेलुकै घर फर्किनु थियो ।

बुढ्यौलीले छपक्कै छोपिएकी खुलालले काप्दै गरेको आवाजमा सुनाइन्, ‘गरगहना बेचेको पैसाले ऋण तिर्न पुगेन । बुढेसकालको सहारा दुहूनो गाई र बाख्रा पनि बेचिदिएँ ।’

उनलाई लागेको थियो, आफूसँग भएको सबथोक बेचेर दिइसकेपछि त ऋण कसो चुक्ता नहोला ? तर, भएन । ‘छिमेकी’ले उनलाई भन्यो– अढाई लाख अझै बाँकी छ । उनले लघुवित्तलाई आफ्नो पासबुक देखाउन भनिन् । तर, देखाउन लघुवित्तले इन्कार गर्यो । 

‘मैले सावाँ र ब्याज सबै तिरिसकेँ, लघुवित्तले पुगेको छैन भनेर दिनदिनै पैसा माग्छ । पासबुक देखाऊ भन्दा देखाउँदैन,’ उनले भनिन्, ‘डेढ वर्षसम्म २४ हजारको दरले तिरेँ । त्यसपछि गहना, गाई, बाख्रो बेचेर लाखभन्दा बढी तिरेँ । अझै अढाई लाख तिर्न बाँकी छ भन्छ ।’

उनले अगाडि भनिन्, ‘अब म कहाँबाट ल्याउनु ?’

उनका श्रीमानलाई दमको रोग छ । राम्रोसँग हिँडडुलसमेत गर्न सक्दैनन् । छोरा नेपाल फर्केलगत्तै भारत गइहाले । घरमा कमाउने त परको कुरा बिरामी हुँदा तातो पानी तताएर दिने मान्छे पनि छैन । ‘छिमेकी’ले मागिरहेको पैसा आफूले तीन महिनायता तिर्न नसकेको उनी बताउँछिन् । 

कुनै दिन बुढेसकालको साथी बन्छु भनेर वाचा गरेको लघुवित्त नै अहिले उनको सबैभन्दा ठूलो शत्रु बनेको छ । ‘सुरुमा उनीहरूले हामीलाई बुढेसकालमा तपाईंहरूको सहारा बन्छु भनेको थियो । विश्वास गरेर हामी सबैले बचत गर्न सुरु गर्यौँ । म छिमेकीमा ९ वर्षदेखि बचत गर्दै आइरहेकी थिएँ,’ यति भनिसकेपछि उनको स्वर भासियो । गला अवरुद्ध भयो ।

आँखाका टिलपिल आँसु सारीको सप्कोले पुछ्दै भनिन्, ‘बुढेसकालको सहारा बन्छु भनेको थियो, अहिले चाहिँ दिनदिनै सताउँछ ।’

उनी ‘छिमेकी’सँग आफ्नो लालपूर्जा फिर्ता मागिरहेकी छन् । तर, लघुवित्तले ऋण कट्टी भएको छैन, सबै चुक्ता भएपछि मात्र पाइन्छ भनिरहेको छ । ‘पुर्खाको चिनोको नाउँमा त्यही थोरै जग्गाको लालपूर्जा थियो, त्यो पनि अहिले लघुवित्तले जफत गरेको छ,’ उनले सुनाइन् ।

उनले आफ्नो लालपूर्जा छुटाइमाग्न गाउँका मास्टरदेखि वुद्धिजीवीसँग हारगुहार गरिन् । तर, उनले सबैबाट एउटै उत्तर पाइन्– यसमा हामी केही गर्न सक्दैनौँ ।

‘जीवनभर त दुःख पाएँ पाएँ, बुढेसकालमा पनि सुख पाइनँ हजुर । यो लघुवित्तको ऋण महाकाली नदी जस्तै रहेछ, जति तिरे पनि सकिँदैन,’ उनले भनिन् । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x