समाज

भ्यालेन्टाइनको मुखमा ‘ब्रेकअप’को चोट

सदिक्षा आचार्य |
फागुन १, २०७९ सोमवार १७:५९ बजे

काठमाडौं– ‘भ्यालेन्टाइन डे’मा प्रेमीलाई ‘सरप्राइज’ दिने योजना बनाएर बसेकी थिइन्, स्नेहा ।

स्नेहाका लागि यो ‘भ्यालेन्टाइन’ विशेष थियो किनकि यो उनीहरूको प्रेमी–प्रेमिकाका रूपमा अन्तिम ‘भ्यालेन्टाइन’ हुनेवाला थियो । यही वैशाखमा उनीहरूको विवाह हुने कुरा थियो । प्रेमीले यही भ्यालेन्टाइन डेकै अवसर पारेर घरमा स्नेहाको कुरा गर्ने वाचा गरेका थिए । 


भ्यालेन्टाइन सप्ताह सुरु भएसँगै स्नेहा एक्साइटेड थिइन् । ‘रोज डे’का दिन प्रेमीको सन्देश आउने आशमा बिहानैदेखि स्नेहा मोबाइल एकछिन नछाडी बोकिरहिन् । तर, स्नेहाको ‘रोज डे’ बिहान, दिउँसो, साँझ हुँदै यत्तिकै बित्यो । साँझसम्म पनि प्रेमीबाट कुनै खबर नआएपछि उनले पनि थोरै भाउ खोजिन् । आफूले पनि फोन गरिनन् ।

मनमनै मन बुझाइन्, ‘भोलि प्रपोज डे हो । सारा सस्पेन्स यही दिनका लागि त राखेको होला नी ।’

स्नेहाको ‘रोज डे’को रात राम्रैसँग कट्यो । भोलिपल्ट त झन् उनले फोन एकछिन पनि आँखाबाट ओझेल हुन दिइनन् । डर थियो, कहीँ प्रेमीको फोन मिस नहोस् ।

तर, ‘रोज डे’को दिनजस्तै ‘प्रपोज डे’काे दिन साराका फोन आए, आएन त उही आफ्नो प्रेमीको ।

स्नेहाले कुर्दाकुर्दै चार बजाइन् । बेलुका चार बजेसम्म पनि प्रेमीको फोन नआएपछि भने स्नेहाको धैर्यताको बाँध टुट्यो । उनले आफैँ प्रेमीलाई फोन गरिन् । प्रेमीको फोनमा घन्टी गइरह्यो तर उठेन । उनले फेरि फोन गरिन् । फेरि उठेन । स्नेहाले गनेर १० पटकसम्म फोन गरिन् । तर, फोन उठेन । स्नेहाको मन अमिलो भयो । मनमा अनेक कुरा खेलिरहे । 

‘केही काममा व्यस्त होला कि । कलब्याक गर्ला नी’ उनले आफ्नो मनलाई सान्त्वना दिइन् । तर, एक घण्टासम्म पनि प्रेमीको कलब्याक आएन । स्नेहाले प्रेमीको दिदीलाई फोन गरिन् । दिदीलाई प्रेमीले नै चिनाएका थिए । त्यो समयमा उसले दिदी चिनाउँदै भनेका थिए,  ‘मेरो दिदी तिम्रो पनि दिदी है ।’

यही समयमा नम्बर साटासाट पनि भएको थियो । अरु बेला खासै काम नपरेर फोन गरेकी थिइनन् उनले । तर, त्यो दिन काम लाग्यो । प्रेमीले फोन नउठाएपछि उनले दिदीलाई फोन गरिन् । दोस्रो घन्टीमै दिदीको फोन उठ्यो । 

स्नेहाले शिष्टाचार टक्र्याइन् । दिदीले स्वीकार गरिन् । अब भने स्नेहा  मुद्दामा प्रवेश गरिन् ।

भनिन्, ‘सतिस खै त दिदी, फोन नै उठाउँदैन । कलब्याक पनि गर्दैन ।’

यसपछि दिदीको जे जवाफ थियो त्यो जवाफ स्नेहाको संसार हल्लाउने जवाफ थियो । यो जवाफ सुनेर उनलाई लाग्यो, त्रेता युगमा सीताको जमिन भासिए झै उनको पनि जमिन भासियोस् र ठाउँका ठाउँ उनी पनि धर्तीमा विलिन हुन् ।  

‘सिन्दुर हाल्ने बेला भएको छ । त्यसैले फोन नउठाएको होला’ स्नेहालाई दिदीले क्याजुअल्ली सुनाएको खबर यही थियो ।

स्नेहाका लागि यो खबर मात्र थिएन, ४४० भोल्टको झट्का थियो । यो झट्काले स्नेहाको प्रेमको महल एक झमटमा खरानी बनाएको थियो । त्यो पनि प्रेमी–प्रेमिकाहरूको महान् चाड ‘भ्यालेन्टाइन डे’मा ।

‘जुन समयमा म नयाँ घर बसाउने कल्पनामा मग्न थिएँ, त्यही समयमा मेरो घर लुटिँदै रहेछ । यो भ्यालेन्टाइन डे म विशेष बनाउन चाहन्थेँ । विशेष त भयो तर मायाले हैन घाउ चोटले,’स्नेहाले इकागजसँग भनिन् ।

भ्यालेन्टाइन डे प्रेमी–प्रेमिकाको प्रेमलाई नयाँ उचाइ दिने पर्व हो । यस दिनमा प्रेममा रहेका प्रेमी-प्रेमिकाको माया गाढा हुन्छ भने यही दिनमा मनमा गुम्सिएका भावना पनि अभिव्यक्त हुन्छन् । तर, प्रेमिल सप्ताहमा दिल टुट्नेहरूको पनि जमात सानो हुँदैन । प्रेमीहरूको सप्ताहमा स्नेहा यसरी नै ब्रेकअप खाने प्रतिनिधि पात्र हुन् ।

भक्तपुरकी अनुराधाको प्लस टू पढ्ने बेलाबाटै सँगै पढ्ने आधारसँग माया बसेको थियो । उनीहरू ९ वर्षदेखि रिलेसनसिपमा थिए । तर, यो सालको भ्यालेन्टाइन डे अनुराधाका लागि पनि सुखद् रहेन । नौ वर्षपछि उनले थाहा पाइन्, आफूले सर्वस्व सुम्पिएको प्रेमी बेइमान रहेछ । उनीसँग मात्र होइन, धेरै केटीसँग उसले एकसाथ सम्बन्ध राखिरहेको रहेछ ।

अनुराधालाई ढाँटेर अरु केटीसँग पनि रात बिताउने गर्दो रहेछ । अनुराधा र आधारको पनि आउँदो वैशाखमा नै विवाह हुने कुरा थियो । दुवैले एक अर्काका परिवारसँग पनि चिनापर्ची गराइसकेका थिए ।

‘मलाई थाहै थिएन, उसका त कति हो कति प्रेमिका रहेछन्,’ अनुराधाले आफ्नो कथा सुनाउँदै भनिन्, ‘सुरुमा त विश्वास गर्नै गाह्रो भयो । तर, ऊसँगै सम्बन्धमा रहेका कतिले स्क्रिनसट पठाएपछि छांगाबाट खसे झै भएँ । अरुले जे गरे पनि मेरो आधार त्यस्तो छैन भन्ने लाग्थ्यो । तर, यो पालि मेरो सबै भ्रम तोडियो ।’

ललितपुरका रमेश त्रिविमा स्नातक अध्ययन गर्दैछन् । सिराहा घर भएका रमेश स्नातक अध्ययनको सिलसिलामा काठमाडौं आएका हुन् । उनको स्नातक अध्ययन गर्दैगर्दा ‘लभ’ पर्यो । तर, बिडम्बना उनको त्यो लभ भर्खरै गलत साबित भयो । पाँच वर्ष लामो सम्बन्ध चुट्कीको भरमा सकियो । यहाँ पनि प्रेमको नमिठो अन्त्य भयो । अर्थात् ब्रेकअप भयो ।

स्नेहा, अनुराधा, रमेश केही प्रतिनिधि हुन् जसले प्रणय दिवस धुमधामसँग मनाउने योजना बनाएका थिए । तर, यसैको मुखमा उनीहरू सिंगल हुन पुग्याे । भ्यालेन्टाइन डेको पहिलो दिन ‘रोज डे’को चर्चासँगै उनीहरू विगतमा फर्किएका छन् । सम्भवतः यो सालका बाँकी दिन पनि उनीहरूले सम्झनाकै सहारामा बिताउनेछन् ।

पछिल्लो समय प्रविधिले विश्व जगतलाई एउटै गाउँ जस्तै बनाइदिएको छ । सामाजिक संजालले विश्वलाई जोडिराखेकै बेला पूर्वका संस्कार पश्चिममा र पश्चिमाहरूका संस्कार पूर्वमा बडो हार्दिकताका साथ मनाएको देख्न पाइन्छ/पाइएको छ । त्यस्तै एउटा चाड हो प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ ।

अंग्रेजी क्यालेन्डरको फेब्रुअरी महिना प्रेमको महिना भनेर चिनिन्छ । एक साता त प्रेम दिवस मनाएर नै बित्छ । फेब्रुअरी ७ देखि १४ सम्म ‘भ्यालेन्टाइन’ सप्ताह मनाउने चलन छ । माया र प्रेमको अनेकन परिभाषा भएपनि, यो प्रेम सप्ताह भने युवाका प्रेम गाथा गाउने प्रेम सप्ताह हो ।

यहाँ युवाका प्रेमकथाहरू बन्छन् । कथाहरूले बिट मार्छन् । कुनै कथाको सुखद् अन्त्य त कुनैको दुःखद् ।

रमेशको प्रेम भ्यालेन्टाइनबाट सुरु भएर भ्यालेन्टाइनमै अन्त्य भयो । ‘आफू प्रेममा हुँदा यही भ्यालेन्टाइन कहिले आउँला भनेर बसेको हुन्थेँ । रमाइलो लाग्थ्यो । कति सम्झना छन्, छन् । तर, यो पटकको भ्यालेन्टाइन, यही सम्झनाका साथ कट्ने भो,’ रमेशको गुनासो थियाे ।

फूलहरूमा गुलाबको फूललाई प्रेमको प्रतीक मानिन्छ । तर, त्यही गुलाबको फूल दिएर सुरु गरिने प्रेम सप्ताहको पहिलो दिन ‘रोज डे’ हो । यस दिवसमा युवा युवतीले प्रेम प्रस्तुत गर्न एकअर्कालाई गुलाबको फूल दिने चलन चलिआएको छ ।

स्नेहाले आफू प्रेममा हुँदा गुलाब फूलको गुच्छैगुच्छा पाएकी थिइन् ।

‘मैले प्रेम प्रस्तावमा गुलाबको गुच्छा पाएकी थिएँ तर खै र, प्रेम गुलाब मात्रै पनि त होइन रहेछ, सँगै आएको काँडा पनि देख्न सक्नुपर्ने रहेछ । यतिका वर्षको प्रेम क्षणभरमै सकियो, विश्वास नै गर्न सकेको छैन,' उनले दुखेकाे पाेखिन् ।

अनुराधा पनि यसपालिको भ्यालेन्टाइनमा  कति योजना बनाएर बसेकी थिइन् तर उनको यो सपना सपनै रह्यो । आफ्नो माया गर्ने मान्छेबाटै ९ वर्षको सम्बन्धमा यस्तो विश्वासघात होला भनेर कल्पनासम्म गरेकी थिइनन् उनले । तर, घाउ खाटा बस्दै जाँदा विवाहपछि धोका पाउनुभन्दा अहिले नै पाएको कताकता ठीक भएको उनलाई लागेको छ ।

‘विवाहपछि ब्रेकअप हुँदैन, पारपाचुके हुन्छ । जे होस पछिको दुर्घटनाबाट जोगिएँ, मन बुझाउनलाई यही सोचेकी छु,' लामो सास फेर्दै उनले भनिन् ।

हिजोआज सामाजिक सञ्जालमा प्रेममा धोका खाएका विभिन्न भिडियो सार्वजनिक भएका छन् । युवापुस्ताहरू प्रेममा पाएका चोटहरू पोख्न आतुर देखिन्छन् । के साँच्चै नै हिजोआज प्रेम सस्तै भएको हो ?

समाज खुल्ला हुँदै जाँदा सामाजिक मूल्य मान्यता पनि खुकुला हुँदै जाँदाको परिणाम प्रेम सम्बन्धमा पनि देखिन थालेको समाजशास्त्रीहरू बताउँछन् । यसले गर्दा क्षणिक आनन्दको खोजीमा एक अर्कासँग नजिक हुने र यसले पुराना सम्बन्ध भत्कने गरेको उनीहरूको निष्कर्ष छ ।

भ्यालेन्टाइन डे इटालीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए ।

‘भ्यालेन्टाइन’ नामका व्यक्तिले सम्राट्को उक्त आदेशलाई उल्लंघन गरेका थिए । एक सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । त्यो दिन १४ फेब्रुअरी थियो । त्यसपछि उनै भ्यालेन्टाइनको सम्झनामा १४ फेब्रुअरीमा संसारमा ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको सुरुवात भएको पाइन्छ । 


Author

थप समाचार
x