समाज

आचार्य आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग पनि प्रहरीले लियो बयान

इकागज |
माघ १८, २०७९ बुधबार ८:२५ बजे

काठमाडौँ- गत मङ्गलबार आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ । 

काठमाडौँको नयाँबानेश्वरस्थित संघीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्धामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मंगलबार बयान लिएको बताए ।


उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरीले ब्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेपछि प्रहरीले महतोसँग बयान लिएको हो ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
 
सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परेपछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो । 


Author

थप समाचार
x