समाज

धनकुटा महोत्सव भागदौड घटना : भित्तामा ढेपिएर बालबाल बाँच्यौँ

इकागज |
माघ १५, २०७९ आइतबार २१:१८ बजे

धरान- शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो ।

गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड नियन्त्रण गर्न हम्मे-हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज गर्‍यो । भीड झन् आक्रोशित हुँदै गेटतिर बढ्यो । अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन । पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए ।


उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो । भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन् । सोह्र जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । सोह्रमध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ ।

धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव गएकी थिइन् । उनकी २२ वर्षीया बहिनी अनिशा राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव गएकी थिइन् । उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे । रुशा र उनका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउँछिन् ।

'एक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो । भित्तामा छेउ लागेर बच्यौँ । कसरी यस्तो अवस्था भयो केही थाहा भएन । हामी कसरी बच्यौँ थाहा छैन । भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँ,' रुशाले भनिन् ।

शनिबार राति उपचारका लागि धरान ल्याइएकी अनिशाकी दिदी–बहिनी प्रतिष्ठानमा उपचाररत छिन् । बहिनीको आज बिहान मात्र होस खुलेको उनले बताइन् । अनिशाको अनुहार पूरै कालो भएको छ । पानी पेट र ढाड दुखिरहेको उनले सुनाइन्  । अनिशासँगै अन्य आठ जनाको विपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उपचारका क्रममा चिकित्सकले समय नदिएको उनीहरूको गुनासो छ । आयोजक संस्थाबाट आइतबार बिहान आएर बिरामीको अवस्था बुझे पनि उपचारका लागि अस्पतालसँग कुनै कुरा नगरेको रुशाले गुनासो गरिन् ।

'बहिनीको १२ जना साथी थिए, उनीहरू सबै बचेछन् तर बहिनी भने भीडमा च्यापिएर घाइते अवस्थामा भेट्यौँ,' विपी प्रतिष्ठानमा रहेकी रुशाले भनिन्, 'धन्य ! समयमा भेटेर बहिनीलाई बचाउन सफल भयौँ । एकछिन नभेटेको भए बहिनीलाई कुल्चिएर भीडले मार्ने थियो ।'

प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रहरी जवान रुपेशकुमार यादवका अनुसार नौ जनाको उपचार भइरहेको र घाइतेको अवस्था सुधारोन्मुख छ । चौध वर्षमुनिका सबै डिस्चार्ज भएको उनले बताए ।

यसैबीच उद्योग वाणिज्य सङ्घ धनकुटाले आइतबार साँझ नै पत्रकार सम्मेलन गरी घटना र घाइतेको अवस्थाबारे जानकारी गराएको छ । घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पनि घाइतेलाई प्रतिष्ठानमा पुगेर भेटेकी छन् ।

धनकुटामा यही माघ ६ गतेदेखि चलेको महोत्सवमा शनिबार साँझ गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति राखिएको थियो । उक्त प्रस्तुति हेर्न पुगेका दर्शकको भीड नियन्त्रणभन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । गायक खरेलेको प्रस्तुतिभन्दा पनि धेरैले स्कुटी उपहार रहेको हाउजिङको टिकट काटेका कारण भीड अत्यधिक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

मैदानको क्षमताभन्दा बढी मानिस भेला भएका थिए । गेटबाट भित्र छिरेपछि घटना भएको भए झन् बढी क्षति हुने उनको भनाइ छ । रासस


Author

थप समाचार
x