समाज

बिचौलियाको काम गरेको आरोपमा धनुषाबाट तीन जना पक्राउ

सुभाष कर्ण |
माघ १४, २०७९ शनिबार १८:१५ बजे

जनकपुरधाम- धनुषा प्रहरीले जनकपुरधामबाट तीन जना बिचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट दुई र यातायात व्यवस्था कार्यालयबाट एक गरी तीन जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।


बिचौलियाको काम गरेको आरोपमा प्रहरीले मिथिला नगरपालिका–६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफालीसहित दुई जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनजान रहेको र काम छिटो गराइदिन्छु भनी प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाएका छन् ।

यसैगरी जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयबाट बिचौलियाको काम गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय प्रवीणकुमार झालाई प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई सोही कार्यालयका कर्मचारीहरूसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रुपैयाँ रकम लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्कले जनाएका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x