समाज

व्यवसायी मोहन न्यौपाने आत्महत्या प्रकरण

उद्योगी-व्यवसायी भन्छन्— बैंकले तनाब दिएको थियो

बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग

बाबुराम भण्डारी |
माघ १३, २०७९ शुक्रबार १०:४२ बजे

विराटनगर - मंगलबार बेलुका ठिकठाक अवस्थामा सुतेका मोहन न्यौपाने बुधबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिए । विराटनगरमा एक दशकयता विद्युतीय सामग्रीको व्यापारमा संलग्न रहेका न्यौपानेले आत्महत्या गर्नुअघि लेखेको तीनवटा पानाको 'सुसाइड नोट' पनि भेटियो ।

विराटनगर महानगरपालिका–३ निवासी ५७ वर्षीय न्यौपानेले लेखेको सुसाइड नोटले आत्महत्या गर्नुको कारण बैंकको ऋण र त्यहाँबाट दिइने तनाबतर्फ संकेत छन् । सुसाइड नोटमा न्यौपानेले बैंक र सहकारीको ऋण र त्यसको नियमित किस्ता समेत गरेर एक करोड ७५ लाख जतिको ऋणको हिसाब उल्लेख गरेका छन् ।


उनले सांग्रिला विकास बैंकबाट १ करोड ४० लाख ऋण लिएको र त्यसको व्याज १० लाखभन्दा बढी भएको सुसाइड नोटमा खुलाएका छन् । आत्महत्याको अघिल्लो दिन मंगलबार सोही बैंकका कर्मचारीहरू उनको ‘शिखर इलेक्ट्रिक’ नामको पसलमै कागजातले भरिएका फाइल लिएर आएको र पसलमै उनलाई ती कागजातमा सहीछाप गराएका थिए ।

न्यौपानेले बैंकबाट लिएको उक्त ऋण रकम कुन कामका लागि खर्च गरेका छन् भन्ने कुरा भने खुलिसकेको छैन । तर बैंकहरूले ऋण लगानी गर्दा प्रेमपूर्वक व्यवहार गर्ने र लगानी गरिसकेपछि ऋणीहरू र उनीहरूका परिवारसम्मै तनाब दिएर साँवा व्याज असुली गर्ने आरोप यो घटनाले पुष्टि गरेको निजी क्षेत्र सम्वद्ध संस्थाहरूले बताएका छन् ।

इलामका प्रेमप्रसाद आचार्य पनि आर्थिक तनाबकै कारणले आत्मदाहसम्मको बाटो रोजेको घटनाले मुलुककै निजी क्षेत्र अहिले शोक, पीडा र आक्रोसमा छन् । लगत्तै लघुवित्तको ऋणको भारले सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले गरेको आत्महत्याले मुलुकै स्तब्ध बनेको छ । त्यसैबेला विराटनगरका व्यापारी न्यौपानेको आत्महत्याले यहाँको निजी क्षेत्रसम्वद्ध उद्योगी व्यवसायीहरू थप पीडामा परेका छन् ।

नेपालमा आत्महत्याको मुख्य कारणका रूपमा प्रेममा असफलता, ऋणको किस्ता वा व्याजको भार, जूवा तासको लत, मिटरब्याजीको चक्कर र पारिवारिक कलह रहेका छन् । यीनै कारणले धेरै मासिनहरूले आत्महत्या गर्ने गरेका घटना बाहिरिने गरेका छन् । 

प्रदेश १ मा वितेका साढे पाँच वर्षमा ७ हजार ५६ जनाले आत्महत्या गरिसकेको तथ्यांक छ । नेपाल प्रहरीका अनुसार प्रदेश १ पछि लुम्बिनी प्रदेशमा ६ हजार ५७ जनाले आत्महत्या गरेका छन् । डरलाग्दो संख्यामा बढेको आत्महत्याको श्रृंखलामा आर्थिक कारणभित्र पनि बैंकहरूको व्यवहार जोडिन थालेपछि निजी क्षेत्र निकै चिन्तित बनेको पाइएको छ ।

मोहन न्यौपानेको आत्महत्या पनि बैंककै कारण भएको ठहरमा पुगेका प्रदेश १ का उद्योगी व्यवसायी सम्बद्ध संघसंगठनहरू देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने वातावरण बन्द हुँदै गएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण देशको आर्थिक अवस्था भयावह रहेको भन्दै यस्तो अवस्थामा व्यवसायीहरूको आत्महत्याका घटनाले थप चिन्तित बनाएको बताए ।

उनले व्यवसायीहरूले आफ्नो उत्पादन कटौती गर्न बाध्य भइरहेको, बजारबाट उधारो उठ्न नसकेको,  व्यवसायको प्रशासनिक खर्च धान्न धौ–धौ परेको, बैंक ब्याज लगायतका कारणले कारोबारमा समस्या भोग्नुपरेको बताए । ढकालले विराटनगरका व्यवसायी मोहन न्यौपानेले बैंकको ब्याजकै कारण आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आउनु निकै दुखद् भएको बताए । 

‘उद्योगी व्यवसायीहरूले भोग्नुपरेका समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि ठोस कार्यान्वयन हुन सकेको छैन’ ढकालले भने, ‘देशमा प्रेमप्रसाद आचार्य र मोहन न्यौपाने जस्ता कैयन् व्यवसायीहरू पीडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न ।’

सरकारको नीतिकै कारण व्यवसायीहरूले अनेकौं समस्याहरू झेल्दै आएको उनले गुनासो गरे । व्यवसायीहरूलाई आफ्नो कारोबार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन पनि सरकारसँग आग्रह गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीको आत्मदाह र आत्महत्याको घटनाले राज्य र राज्यका सञ्चालक, नीति नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै टिप्पणी गरेका छन् । उनले कुनैपनि व्यवसायिक असफलताबाट हतोत्साहित हुने र अप्रिय निर्णय लिने भन्दा आफूले भोग्नु परेका समस्यालाई आफ्ना पेशागत संघसंगठनमार्फत व्यक्त गर्न र पद्धति सुधारमा दवाव दिन आग्रह गरेका छन् । 

उद्योग संगठनले विराटनगरका व्यवसायी मोहन न्यौपानेको आत्महत्याको घटनाले देशभरका उद्योगी व्यवसायीहरू नै स्तब्ध भएको भन्दै उद्योगी व्यवसायीहरूले बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । यस्ता घटना नदोहोरिने वातावरण बनाउन उद्योगी व्यवसायीहरूको उचित गुनासो, मर्का र समस्यालाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा उद्योग संगठन मोरङले अपिलमार्फत जोड दिएको छ ।

‘देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको छ’ प्याकुरेलले भने, ‘उद्योग व्यवसायलाई पेशा बनाई दैनिकी जीवनयापन गर्दै आउनुभएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघ/संस्थाको माध्यमबाट पद्धति सुधारमा दवाव र पहल गरौं, संगठित बनौं ।’

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकले दिएको मानसिक तनाबले विराटनगरका व्यवसायी न्यौपानेले आत्महत्या गरेको दाबी गरे । उनले मुलुककै अर्थतन्त्र प्रभावित भएको बेलामा बैंकहरू मात्रै मोटाउने गरी राष्ट्रबैंकबाट गरिएको योजनावद्ध संरक्षण भएको भन्दै आक्रोस पोखे ।

मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीहरूलाई कामै गर्न नदिने अवस्था राज्यले नै सिर्जना गरेका कारण उनीहरूले आत्महत्याको बाटो रोज्न थालेको दाबी गरे । अध्यक्ष रिजालले बैंकको चर्को ब्याज र किस्ता समयमा भुक्तानी नभएको भन्दै परिवारका सवै व्यक्तिको नाम संचारमाध्यममा सार्वजनिक गरिदिने धम्की बैंकले दिएका कारण विराटनगर व्यवसायी न्यौपानेले आत्महत्या गरेको जिकिर गरे । उनले मुलुकमा अहिलेकै प्रणालीका बैंकहरू रहिरहे अर्थतन्त्र सिमित व्यक्तिको हातमा पुग्ने र राष्ट्रिय अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने भन्दै सवै बैंकहरू राष्ट्रियकरण गर्नुपर्ने बताए ।

व्यापार संघ अन्तरगतको वस्तुगत संस्था मोरङ इलेक्ट्रिक संघका पूर्वअध्यक्ष समेत रहेका न्यौपानेको आत्महत्याको घटनाले निजी क्षेत्र मर्माहत भएको भन्दै शुक्रबार दिउँसो शोकसभा समेत आयोजना गरेको संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले जानकारी दिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x