समाज

के लत बस्यो आत्महत्याको, कहिले सुधार हुन्छ?

इकागज |
माघ ११, २०७९ बुधबार २१:२४ बजे

घटना -

सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे ।


परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा तनावमा थिए ।

घटना-

मंगलबार बिहानै झापाको एक चिया बगानमा एक युवक र युवती मृत फेला परे । दुवै जना एकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत भेटिनेमा ​कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेशकुमार गणेश र सोही ठाउँकी पवित्रा राजवंशी थिए । 

उनीहरू दुवैजना प्रेमी–प्रेमिका रहेको खुलेको छ । उनीहरूले करिब डेढ वर्षअघि भागीविवाह गरेका थिए । उनीहरूको सम्बन्धलाई केटी पक्षले स्वीकार गरेको थिएन । विवाह गरेर उनीहरू तीन महिनासँगै बसेका थिए ।

घटना-

मंगलबार काठमाडौँको बानेश्वरस्थित संसद भवन अगाडि इलामका प्रेम आचार्यले आत्मदाह प्रयास गरे । व्यस्त सडकमा दिउँसै शरीरमा पेट्रोल छर्केर आगो लगाए । तत्कालै उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पुर्‍याए ।

आचार्यको उपचारका क्रममा बिहानै मृत्यु भएको थियो । उनले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा डिप्रेसन, आर्थिक कारोबार बिग्रेको, सामाजिक र राजनीतिक जस्ता समस्यालाई उजागर गरेका छन् ।

विभिन्न समयमा उनले पटक-पटक आत्महत्याको प्रयास गरेको उल्लेख गरेका छन् । ‘ऋण बढ्दै जाँदा घर खर्च चलाउनै गाह्रो भयो । दुई छोरीको लालनपालन र शिक्षा दीक्षाको चुनौती पनि बढ्न थाल्यो । आर्थिक रुपमा असफल भएपछि उनले–‘सयौं पटक आत्महत्या गर्ने प्रयास गरे तर सकेनन्,’ उनले बताएका छन्,’ आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे तर सकेनन् । साहुको निरन्तरको फोन कलले उनी दुई वर्ष डिप्रेसनको सिकार पनि भए । रिटेलिङ व्यापारबाट केही हात नलागेपछि डिलरसिप लिएर पनि उनले व्यापार थाले । त्यसमा पनि उनी असफल भए । ‘

पछिल्लो समय विश्वभर आत्महत्याको कारण वृद्धि हुनुमा मानसिक स्वास्थ्य रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले जनाउने गरेको छ । संगठनका अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन् ।

नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार ६.५ प्रतिशत व्यक्तिहरूमा आत्महत्याको सोच र योजना हुने गरेको छ ।

संगठनले ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता न्यून तथा मध्यम आय भएका देशमा बढी हुने जनाएको छ । आत्महत्याका मुख्य कारण मानसिक स्वास्थ्य, आर्थिक आकांक्षाको वृद्धि र व्यक्ति समाजमा स्थापित हुन नसक्दा पनि घटना हुने गरेको छ ।

मानिसहरू डिप्रेसनमा जानुको विभिन्न कारणहरू रहेको चिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य अस्पतालका निर्देशक डा. अनन्त अधिकारी डिप्रेसन हुनुमा जैविक, सामाजिक र मनोवैज्ञानिक असर रहेको बताउँछन् ।

आत्महत्याको कारण सामाजिक र मनोवैज्ञानिक असरलाई हेर्नुपर्ने अधिकारी तर्क गर्छन् । ‘संसद् भवन अगाडि आत्महत्या गरेकाले प्रेम आचार्य चर्चामा आएका हुन्,’ उनी भन्छन्,’ नेपालमा हरेक दिन २० जनाले आत्महत्या गर्ने विभिन्न समयको रिपोर्टले उल्लेख गरेको छ । त्यसमा ८५ प्रतिशत मानिसमा डिप्रेसन वा मानसिक स्वास्थ्यको समस्या रहने गरेका छन् ।‘

उनका अनुसार मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्नुपर्छ । परामर्शमा जानुपर्ने र उपचारमा गइहाल्नुपर्छ । स्वय‌ व्यक्तिले आफूलाई ध्यान नदिएमा झनझन समस्या बढ्दै जाने गर्छ ।

आत्महत्याको भित्री कारण सामाजिक, आर्थिक र राजनीतिक हुने गरेको अधिकारीको भनाइ छ । मृत्यु हुने व्यक्तिको इच्छा र चाहना फरक फरक हुनाले आत्महत्याको कारणमा समानता नहुने उनको तर्क छ । ‘सामाजिक, आर्थिक, सुशासन र राजनीतिको कुरा उठ्दा यस्ता मुद्दाले राज्यलाई थोरै भए पनि घचघच्याउनु पर्छ,’ उनले थपे ।

समाजमा आत्महत्याको न्यूनीकरण गर्न मानसिक स्वास्थ्यको संरक्षण गर्नुपर्ने अधिकारी बताउँछन् । तनाव व्यवस्थापन गर्न सचेत गराउनु पर्छ । मानसिक लक्षण देखा पर्न साथ समयमा उपचार पद्धतिमा ध्यान दिनुपर्ने उनले सुझाए ।

उनका अनुसार डिप्रेसनका लक्षणमा लगातार दुई हप्ता समयसम्म निराश हुन्छ । बिनाकारण नरमाइलो हुन्छ । दिक्दारी हुन्छ, थकाइ लाग्छ । जीवनप्रति नकारात्मक धारणा आउँछ । आत्महत्याको सोच आउन थाल्छ । डिप्रेसनको लक्षण  हो कि मनमा कुरा खेल्ने गर्छ ।

डिप्रेसनका चरण हुने गर्छ । माइल्ड र मोर्डेट हुन्छ । माइल्डलाई मनोपरामर्शले पनि निको पार्न सक्छ । मोर्डेटको चरणमा पुगेपछि औषधि उपचारको जरुरी हुने गर्छ । बिरामीलाई सामाजिक मनो परामर्श र पारिवारिक सपोर्ट हुनुपर्छ ।

‍’मानसिक स्वास्थ्यको बिरामीलाई औषधि मात्र निराकरणको उपाय होइन्,‘ उनले सुनाए,’ डिप्रेसन हुन नदिन सामाजिक मान्यता, मनोवैज्ञानिक तथा समाजका अन्य पक्षलाई ध्यान दिनुपर्छ ।‘

मानिसहरूलाई सफलता मात्र नभइ असफलता पनि जीवनको पाटो हो भनेर बुझाउनुपर्ने समय आएको अधिकारीको भनाइ छ । आर्थिक महत्त्वकांक्षा, सबैलाई छिटो धनी हुनुपर्ने, आफ्नो स्टाटस समाजमा अन्य भन्दा फरक राख्ने चाहना बढ्दा र अपेक्षा गरेबमोजिम नपुग्दा मनोरोग बढ्दै गएका उनले सुनाए ।

‘शिक्षित मानिसले आफू सिद्धिनु परेपछि समाजप्रति ठूलो गुनासो गरेर आत्महत्या गर्छन्,’ मृतकले सुसाइट नोट लेख्नुको कारण खुलाउँदै उनी भन्छन्,’ सार्वजनिक स्थानलाई रोज्नुको कारणमा आफूले देखेको कुरालाई बुझाउन हो जस्तो पनि लाग्छ । मानसिक स्वास्थ्यको चिकित्सक भएकाले आत्मदाहको बारेमा चिकित्सक भएकाले थप केही भन्न मिल्दैन ।‘

बिरामीले डिप्रेसनको सिकार भएको जानकारी गराउँदा परिवारका सदस्यले उपचारको पहुँचमा पुर्‍याइदिन उनले सुझाव दिए । नागरिकको स्वास्थ्य र अन्य पक्षको संरक्षण गर्नुपर्ने राज्यको दायित्त्वको भए पनि सबै कुरालाई राज्यलाई दोष दिन नहुने उनको भनाइ छ । मानसिक स्वास्थ्यको समस्या हुनासाथ उपचारको पहुँचमा पुग्नुपर्छ ।

हाल एउटा गजल चर्चामा छ । गजलको भाकामा भन्दा अहिले आत्महत्याको लत नै देखिन्छ ।  मनको बिमारबाट मान्छेलाई कहिले सुधार हुन्छ?


Author

थप समाचार
x