समाज

न्यायको खोजीमा बिनुका ३ वर्ष : गाउँमा तिरस्कार, सहरमा पाइला पाइलामा दुर्व्यवहार

सृजना खड्का |
मंसिर २४, २०७९ शनिवार १६:२८ बजे

‘काठमाडौँमा घर दाइजो नपाएको भन्दै डाक्टरले नै गरे श्रीमतीलाई कुटपिट’

‘कपिलवस्तुका न्यायाधीश गिरीले श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप’


‘आफ्नै श्रीमतीको घाँटी रेटी हत्या, श्रीमान् पक्राउ’

‘काठमाडौँकै दर्दनाक घटनाः पुष्पा गेटमा जिउँदै जलिरहिन्, रमिता हेरेर बस्यो सुधनको परिवार’...

दाइजोको निहुँमा श्रीमती पिट्ने डाक्टर पंकज चौधरी, श्रीमती बन्धक बनाउने न्यायाधीश भुवन गिरी, श्रीमतीको घाँटी रेटेर हत्या गर्ने अम्मर आले मगर, इन्गेजमेन्ट तोड्ने सुधन संग्रौला प्रतिनिधि पीडक पात्र हुन् । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन । यो १६ दिनमा थुप्रै लैङ्गिक हिंसाका घटना हेडलाइन बने । यसरी नै पटक–पटक हिंसामा परेर समाचार बनेकोे एउटा नाम हो, बिनु यादव ।  

को हुन् बिनु ?

सोलुखुम्बुकी बिनुका तीन दिदीबहिनी र एकजना भाइ छन् । बिनुका बुवा सर्लाही र आमा सोलुखुम्बुकी हुन् । पढाइमा अब्बल बिनु बुवाको मृत्युपछि एक्लै परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी थिइन् । यही क्रममा उनले स्कुल पढाउनेदेखि निजी कम्पनीमा काम गर्नेसम्म गरिन् । लोक सेवा पढेर सरकारी जागिरे बन्ने उनको ठूलो सपना थियो । 

२०७४ सालमा काठमाडौँ बस्ने रामेछाप, मन्थलीका प्रदीप कठायतसँग बिनु प्रेममा परिन् । सम्बन्ध अन्तरङ्ग बन्यो । ०७५  सालमा बिनु गर्भवती भइन् । टिचिङ अस्पतालमा जँचाउन जाँदा उनको गर्भनलीमा गर्भ बसेकाले गर्भपतन गर्नुपर्ने भयो । गरियो पनि । डिस्चार्जपछि प्रदीपले बिनुलाई सिनामंगलको एउटा गेस्ट हाउसमा लगेर राखे । त्यहीँ उनले आफूमाथि जबर्जस्ती यौन सम्पर्क राखेको बिनुको आरोप छ । ‘उसले जबर्जस्ती गर्दा टाका फुस्किएर रगत बगेपछि ‘भर्‍याङबाट लडेको भन्नु’ भन्दै अस्पताल लग्यो,’ उनी भन्छिन् । उपचारपछि फेरि एउटा गेस्ट हाउसमा राखेर प्रदीप बेखबर भएको बिनु बताउँछिन् । त्यसपछि ०७६ मा बिनुले कालीमाटी महिला सेलमा प्रदीपविरुद्ध बलात्कार आरोपमा जाहेरी दिइन् । 

जाहेरीपछि प्रदीपको परिवारबाट धम्की आउन थाल्यो । प्रदीपका काका पवन कठायत, मामा डीएसपी सुरज कार्कीले आफूलाई लगातार धम्की दिएको उनी बताउँछिन् । ‘डीएसपी मामाले घरमै आएर पेस्तोल मुसार्दै ‘तेरो भाइलाई लागूऔषध मुद्दामा जेल पठाइदिन्छु’ समेत भन्न भ्याए,’ उनी भन्छिन्, भोलिपल्ट काका पवन, मामा सुरज, श्रीमान् प्रदीप र उनीहरूका केही साथीले म र आमालाई गाडीमा हालेर कालिमाटी लगे । बाटोभरी मुद्दा फिर्ता गर्न धम्क्याए । बिहे गर्ने भनेर फकाए ।’

अनि बिनुले इजलासमै विष पिइन्... 

मुद्दा फिर्ता गरेको केही महिनापछि उनीहरूको बिहे भयो । बिहेपछि बिनुलाई रामेछाप मन्थलीस्थित काका पवनको होटलमा लगेर राखियो । होटलमै काकाद्वारा आफूमाथि दुर्व्यवहार भएको बिनु बताउँछिन् । यसबीच आफू गर्भवती भएको र श्रीमान् नभएको बेला कठायत परिवार मिलेर जबर्जस्ती गर्भपतन गराएको बिनुको आरोप छ । यस्ता कुरा श्रीमानलाई सुनाउँदा उल्टै हिंसा भोग्नुपरेको बिनु बताउँछिन् । ‘तँलाई मुद्दा फिर्ता गर्न र म्याद टार्न मात्रै बिहे गरेको हुँ’ भन्न थाल्यो,’ बिनु भन्छिन्, ‘मेरो परिवारले स्वीकार्दैन, अब म्याद सकियो जहाँ जाने हो जा’ भन्न थाल्यो । यही बीचमा उसको अरु केटीसँग सम्बन्ध रहेको थाहा पाएँ ।’

०७७ मा बिनुले शारीरिक र मानसिक कष्ट दिएको भन्दै रामेछाप जिल्ला अदालतमा उल्टै प्रदीपले सम्बन्ध विच्छेदको मुद्दा हाले । ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेदको फैसला सुनायो । ‘मलाई सम्बन्ध विच्छेदका लागि ज्यान मार्ने धम्की आउँदा पनि मैले मानेको थिइनँ,’ उनी भन्छिन्, अदालतले सम्बन्ध विच्छेदका पक्षमा फैसला सुनाउँदा मैले न्यायाधीशकै अगाडि विष पिएँ ।’

विषले बिनुको दुःख कम गरेन । विष पिएपछि पनि लामो समय मृत्युसँग लडिन् बिनु । मन्थलीको तामाकोसी अस्पतालमा १९ दिन आईसीयूमा बसिन् । अनि बाँचेर न्यायका लागि लड्ने प्रण गरिन् । जिल्ला अदालतको फैसलाविरुद्ध बिनुले गत असार १६ गते उच्च अदालत पाटनमा पुनरावेदन गरेकी थिइन् । आफ्नो मुद्दामा अहिलेसम्म पेसी नचढेकाले बिनु अहिलेपनि उसैगरी भौतारिएर सडकमा दौडिरहेकी छिन् । अहिले पनि प्रदीपको परिवारबाट लगातार धम्की आइरहेको उनी बताउँछिन् । 

न्यायलयबाट न्याय पाउने आश मरेपछि बिनुले लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहँदा केही दिनअघि मात्रै सर्वोच्च अदालतअगाडि गएर सेतो पहिरनमा रातो रङसहितको पानी फ्याँक्दै विरोध गरिन् । बिनुलाई यसरी बलियो बनेर विरोध गर्न ढाडस दिने व्यक्ति हुन्, अभियन्ता ज्यास्मिन ओझा । ‘बिनुले फ्याँकेको त्यो रातो रङ रङमात्रै थिएन,’ ज्यास्मिन भन्छिन्, ‘त्यो पीडक, समाज र न्यायालयले चुसेको बिनुको रगत थियो ।’ बिनुको पक्षमा आवाज उठाउँदा आफूमाथि रातबिरात फोन गरेर मार्छु, काट्छु भन्ने धम्की आएको ज्यास्मिन बताउँछिन् । ‘मलाई सुनसान गल्लीमा हिँडिरहेको बेला ढुंगा हानेर हमला गर्ने काम भएको छ,’ उनले भनिन् , ‘लोकेसन थाहा नपाउन् भनेर आजकाल फोन फ्लाइट मोडमा राखेर हिँड्ने गरेकी छु ।’ जिउज्यानको रक्षा गरिपाऊँ भन्दै उनले हालसालै राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । 

आफूमाथि भएको हिंसाले नेपालमा पीडितलाई साथ दिन कति गाह्रो रहेछ भन्ने कुरा पुनः चरितार्थ भएको ज्यास्मिन बताउँछिन् । त्यसैले नेपालमा पीडितहरू जतिसुकै हिंसाको भुङ्ग्रोमा परे बोल्न नसक्ने अवस्था झन् विकराल बन्दै गएको उनको अनुभव छ ।

बिनुको त्यो एक्लो यात्रा 

बलात्कारविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले बिनुलाई सोध्यो– कस्तो परिवारकी छोरी हौ ? परिवार र आफन्त कहाँ काम गर्छन् ? कुन–कुन पोस्टमा छन् ?

बिनुको जवाफ थियो– सामान्य परिवार । बुवा बितिसक्नुभयो । उहाँ बितेपछि परिवारको जिम्मेवारी म आफैँले निभाउँदै आइरहेकी छु । 

यसैगरी प्रहरीले पीडकबारे पनि बिनुलाई सोध्यो । ‘धनी, कोही डीएसपी, कोही व्यापारी, कोही राजनीतिज्ञ’ बिनुले बताइदिइन् ।

पीडित र पीडकमा को बलियो ? आशयको यो सोधपुछमा परेपछि बिनुले त्यही बेला सुरक्षाकर्मीकै भीडमा असुरक्षित अनुभव गरेकी थिइन् । ‘पावर र पोलिटिक्समा जो छन्, समाज र न्याय उनीहरूकै पक्षमा हुने रहेछ भन्ने गन्ध मैले त्यही बेला पाइसकेकी थिएँ,’ उनी भन्छिन् । 

हिंसामा परेको कुरा बाहिर ल्याउँदा बिनु एक्ली भइन् । न परिवार, न समाज । ‘रामेछापको समाजले त झन् मलाई कहिल्यै साथ दिएन,’ बिनु भन्छिन्, ‘म त्यो ठाउँकी छोरी भएको भए मलाई पत्याउँथे । तर, त्यहाँ न मेरा आफन्त थिए, न साथीभाइ । जो मान्छे जहाँ हुर्किन्छ, उप्रतिको माया र विश्वास बढी हुने रहेछ । हाम्रो आँखा अगाडि हुर्केको केटा त्यसो गर्नै सक्दैन भनेर मलाई कसैले पत्याएनन् ।’

पीडा र यातना भोगेको देख्नेहरू पनि बिनुको पक्षमा उभिएनन् । पीडकविरुद्ध एक शब्द बोलेनन् । ‘भोलि मर्दापर्दा म पराइ केटीभन्दा त्यही कठायत परिवार उनीहरूलाई काम लाग्छ,’ उनी भन्छिन्,‘ मर्‍यो भने काँध थापेर तामाकोशी पुर्‍याउने उनीहरू नै हुन् । मरेपछि लाश जलाउने आशले रामेछापको समाजले म जिउँदीलाई लाश बनायो ।’ 

केहीले बिनुलाई सहानुभूतिका शब्द टक्राउँछन्, त्यो पनि फेसबुक म्यासेन्जरमा । भन्छन्, ‘हामी तिम्रो साथमा छौँ, तर अगाडि आएर बोल्न सक्दैनौँ ।’ 

उनीहरूलाई बिनु प्रश्न गर्छिन्– त्यसो भए फेसबुकमा सहानुभूति दिएर के जताउन खोज्नुभएको ? 

बिनुले जुनदिनदेखि न्यायको यात्रा गरिन्, एक्लै परिन् । सँगै पढ्ने, एउटै थालमा भात खाने साथीहरूले उनको साथ छोडे । उनीमाथि भएको हिंसाको घटना बाहिर आउनुभन्दा पहिला सबैको व्यवहार राम्रो थियो । घरमै जाने आउने, घुमघाम रमाइलो हुन्थ्यो । ‘अहिले केस चलिरहँदा तेरो मनमा के बितिरहेको छ, आइज फ्रेस हुन कतै जाउँ भन्ने कोही छैनन्,’ उनी भन्छिन्, ‘आफ्नो घर बिगार्नेले हाम्रो पनि घर बिगार्छे भन्छन् । यो लडाइँले बेरोजगार पनि बनायो । तीन वर्षदेखि एकसुको कमाएको छैन । पैसा माग्ली भनेर पनि धेरैजना अगाडि नै पर्दैनन् ।’ पहिला मरिहत्ते गर्नेहरू ले अहिले बिनुलाई साथी भन्न लजाउँछन् । युट्युबमा आउने, बलात्कार भयो भन्दै हिँड्नेलाई के साथी भन्नु भन्दै तर्किन्छन् । ‘मलाई कसैले पनि ऊ मेरी साथी हो भनेर चिनाउँदैनन्,’ उनी भन्छिन्, ‘कुनै चाडपर्व वा कार्यक्रममा भेला हुँदा मसँग फोटो खिच्न हिच्किचाउँछन् । धनी परिवार छानेर जाँदा त्यस्तै हो भन्छन् । अस्ति भर्खर बिहे गरेको होइन, श्रीमान् नै नदेखाइ डिभोर्स गरिछौ त भन्छन् ।’

बिनु र उनको परिवार कपनमा दुई कोठा भाडा लिएर बसेका छन् । उनको घटना बाहिर आएपछि घरबेटीले कोठा सर्ने संकेत दिइसकेका छन् । ‘सिधै भन्न सकेका छैनन्, हाम्रै आफन्तहरू आउने भए भनेर घुमाएर भनिरहेका छन्,’ उनी भन्छिन्, ‘मिडियामा आएकी केटी । यसको पछाडि गुण्डा लागेका हुन्छन् । १२–१ बजे पुलिसले ढोका ढकढकाउन सक्छ । हामीलाई असुरक्षा भयो भन्ने उहाँहरूको कुरा छ ।’ 

चरित्रमाथि प्रश्न 

जसलाई उनले हिंसामा परेको कुरा सुनाइन्, उल्टै उनको चरित्रमाथि प्रश्न उठ्यो । मान्छेसँग थाकेर उनी कतिपय व्यथा सामाजिक संजाललाई सुनाउँछिन् । त्यहाँ पनि समाजको मनोवृत्ति झल्किहाल्छ– केटी नै त्यस्ती भएर हो, यसकै चरित्र ठीक नभएर नै होला श्रीमानले छाडेको’ आदि इत्यादि । 

बिनुलाई लाग्छ, पीडितको साथमा पीडित मात्रै हुन्छन् । पीडितको पीडा पीडितले मात्रै सुन्छन् । ‘विष पिएर आईसीयूबाट निस्किएपछि मैले निहारिकालाई देखेँ, एउटा बच्चालाई लिएर त कोही न्यायको लागि लडिरहेको छ भने म किन नलड्ने ? भन्ने आत्मविश्वास पलायो,’ उनी भन्छिन्,  ‘तर, उनीहरूका पनि आफ्नै पीडा हुन्छन्, उनीहरूलाई थप के सुनाउनु जस्तो लाग्छ ।’

बिनु मिडियामा आउनुभन्दा पहिला धेरैले उनलाई भेटौँ भनेर बोलाए । सहयोग गर्छौँ भनेर आश्वासन दिए । ‘केही आइडिया देलान्, सहयोग होला भनेर जान्थेँ,’ उनी सम्झिन्छिन्, ‘लुगा पुरानो भएछ, म नयाँ किनिदिन्छु । तर, तिमीले पनि त मेरो आवश्यकता बुझिदिनुपर्छ भन्दै हात समाउन आउँथे । कतिपय ल फर्महरूमै मैले त्यस्तो व्यवहार पाएको छु ।’ मिडियामा आफ्नो कुरा राख्न थालेपछि भने कसैले यस्तो आँट नगरेको बिनु बताउँछिन् । ‘धेरैले मलाई मिडियाबाजी गरेको, चर्चामा आउन खोजेको भन्छन्,’ उनी भन्छिन्, ‘पीडित सजायको भागिदार नभए पनि उनीहरूलाई समाजले चिन्नुपर्छ भनेर म मिडियामा आएको हुँ । यसमा मेरो कुनै स्वार्थ छैन । मैले भविष्य सोचेर पैसा लिएर बसेको भए पनि हुन्थ्यो नि । तर, किन बाहिर आएँ ? किनकि, तीन वर्ष भयो म राम्ररी नसुतेको । एक कप चिया शान्तिसँग बसेर नखाएको । चाडपर्व राम्रोसँग नमनाएको ।’

आफ्नो व्यथा बोकेर बिनु नगएको कुनै ठाउँ छैन । सुरुमै उनी ज्यास्मिनलाई खोज्दै हिँडेकी होइनन् । राष्ट्रिय महिला आयोग, मानव अधिकार आयोग, मधेसी आयोग, ओरेक नेपाल सबैतिर गएकी थिइन् । ‘व्यक्तिपिच्छे कथा सुनाउनु पर्दा म थाक्थेँ,’ उनी भन्छिन्, ‘गेटदेखि कथा सुनाउँदै सम्बन्धित मान्छेसम्म पुग्दा ‘तिमीले केही गर्न सक्दैनौ, सम्पत्ति लिएर बाटो लाग्नुमै तिम्रो भलाइ छ’ मैले पाउने जवाफ यही हुन्थ्यो ।’

आफूलाई जसले साथ दिन्छ उनीहरूलाई बारम्बार धम्की आइरहेको बिनु बताउँछिन् । यसलाई उनले पीडक पक्षको हार मानेकी छिन् ।  ‘मलाई साथ दिने वकिललाई त धम्की आउँछ भने परिवारभित्र कत्रो त्रासले हामी बाँचेका होलाउँ ?,’ उनी भन्छिन्, ‘उनीहरूले म, मेरो परिवार र मलाई साथ दिनेलाई धम्काउनु/थर्काउनु भनेको उनीहरूले हार्नु हो । आफ्नो गल्ती नभइ कसैले धम्काउने/थर्काउने हिम्मत राख्दैन ।’

आर्थिक अवस्थाका कारण १० रुपैयाँको फोटोकपी गर्न बिनु अहिले पनि दश पटक सोच्छिन् ।  ‘प्रत्येक ती अफिसमा मैले फाइलका चाङ फोटोकपी गरेर छाडेर आएकी छु,’ उनले भनिन्, ‘त्यहाँबाट मलाई न कुनै फोन आयो, न कुनै सन्देश । उनीहरूले के भयो भनेर सोध्दा शब्दभन्दा पहिला आँसु खसाल्ने अवस्थामा म त्यहाँ पुगेको थिएँ ।’ 

‘म सुरुमै ज्यास्मिनकहाँ पुगेको होइन,’ बिनु थप्छिन्, ‘एनजीओले डलर खान्छ । तेरो फाइल लगेर पैसा बटुल्छन् भन्छन् । तीन वर्ष मैले फाइल जताततै फ्याँक्दा कसैले वास्ता गरेन । उनीहरूले पैसा खाएरै भए पनि मलाई न्याय दिलाए हुन्थ्यो ।’

दमले अन्तिम स्टेजमा पुगेकी आमा अक्सिजनको सहारामा सास फेरिरहेकी छिन् । आमालाई इमरजेन्सी अस्पताल लैजानुपर्‍यो भने बिनुसँग उपचार गर्ने पैसासमेत छैन । ‘तीन वर्ष भयो केही काम गरेर खान्छु भन्ने हिम्मत जुटाउन नसकेको,’ उनी भन्छिन्, ‘गोजीमा सुको पैसा नहुँदा पनि तिनीहरूको पैसाले मलाई लोभ्याएन । ‘मैले भोगेको हिंसाको हिसाब गर्ने हो भने, तिनीहरूले आफ्नो सारा सम्पत्ति खर्चेर पनि चुक्ता गर्न सक्दैनन् ।’

यो लडाइँमा उनको निष्कर्ष छ– परिवार, समाज र वरपरको वातावरणले कतिसम्म अघि बढ्ने, कतिसम्म नबढ्ने, कतिसम्म बोल्ने कतिसम्म चुप बस्ने भन्ने कुरा निर्धारण गर्छ ।

बन्द कोठाभित्रको इजलासमा न्याय नपाएपछि अब बिनुको एउटै आशा छ, जनताको इजलासबाट न्याय पाउने । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x