समाज

जिउ ज्यानको सुरक्षाका लागि अधिकारकर्मी ज्यास्मिनले गुहारिन् राष्ट्रिय महिला आयोग

इकागज |
मंसिर २२, २०७९ बिहीबार १२:१ बजे

काठमाडौँ - पीडितलाई सहयोग गरेको निहुँमा ज्यान मार्ने धम्की आएको बताउँदै अभियानकर्मी  ज्यास्मिन ओझाले जिउ ज्यानको सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी छिन् । उनले बुधबार भद्रकालीस्थित राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराउँदै पीडितलाई साथ दिएको निहुँमा पिडक पक्षले गाली गलौज र धम्कि दिएको निवेदनमा उल्लेख गरेकी छिन् ।

ज्यास्मिनले दिएको उजुरीमा बिनु यादवलाई न्यायिक लडाइँमा साथ दिएको भन्दै आफूमाथि शारीरिक र मानसिक हिंसाको प्रयोग भएको उल्लेख गरेकी छिन् । 
‘बुढानिलकण्ठ, कपन १० बसोबास गर्दै आइरहेकी पीडितलाई न्यायिक लडाइँमा सहयोग गर्दै गरेको पिडक पक्षले विभिन्न योजना बनाइ डर–धम्कि दिँदै आइरहेको छ । हुँदाहुँदा मलाई सुनसान गल्लीमा ढुङ्गा हानी शारीरिक हमलासमेत भएको हुँदा जिउ ज्यानको रक्षा गरी पाउँ भन्दै यो निवेदन दिएकी छु,’ उनले निवेदनमा उल्लेख गरेकी छिन् । 


उनले न्यायका लडाइँमा साथ दिने अधिकारीकर्मीलाई यसरी धाक धम्कि दिइन्छ भने स्वयं पीडितले कति असहयोग बेहोर्नुपरेको होला भन्दै प्रश्न पनि उठाएकी छिन् । 
बलात्कार तथा हिँसा पीडित बिनु यादवले केही दिनअघि सर्वोच्च अदालत अघि रातो रङ छ्याप्दै न्यायको अपिल गरेकी थिइन् । 

सोलुखुम्बुकी बिनु र रामेछापका प्रदीप कठायतबीच ०७४ फागुनमा काठमाडौंमा चिनजान भएर प्रेम सम्बन्ध बनेको र पछि प्रदीपले विवाह गर्ने आश्वासन दिई बलात्कार गरेको भनी उनले न्याय माग्दै अदालतको ढोका ढकढक्याएकी थिइन् । तर हालसम्म उनले न्याय नपाएको भन्दै विरोध र न्यायका लागि लडाइँ जारी रहेको बताएकी छन् । प्रहरी, प्रशासन, अदालत र नेताको आडमा आफूलाई न्यायबाट वञ्चित गरिएको उनको भनाइ छ । केही समयअघि उनले अदालतमै विष सेवन गरेकी थिइन् । 
यिनै बिनुलाई ज्यास्मिनले न्यायको लडाइँमा साथ दिँदै आएकी छिन् । 


Author

थप समाचार
x