समाज

महानगरअगाडि प्रदर्शन

'भूमि भएकाहरु सुकुम्बासी हुन्छन् ?'

इकागज |
मंसिर २०, २०७९ मंगलबार १६:३६ बजे

काठमाडौँ- उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकासँग ऐक्यबद्धता जनाएको छ ।

मंगलबार समितिले सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएका छन् । समितिले सुकुम्बासीको खोल ओढेर र राजनीतिक दलहरूको छत्रछायामा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भन्दै समर्थनमा उत्रेका हुन् ।


 महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्बासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएका छन् ।

महेशलाल बज्राचार्यले सुकुम्बासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र तथ्यांक संकलन गरी सही व्यवस्थापनका साथै भूमिहीन सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले सुकुम्बासीको खोल ओढेर र राजनीतिक दलहरुको छत्रछाँयामा भइरहेका गतिविधिहरूको अन्त्य हुन जरुरी रहेको बताए। उनले सुकुम्बासीहरुले नगर प्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाए।

उनले सुकुम्बासी आयोग, भूमि आयोगलगायतका सम्बन्धित निकायहरूले सुकुम्बासीको समस्या समाधान भएपछि आफ्नो सेवा सुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताए।

प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलले नै सुकुम्वासीहरूलाई काखी च्यापेको आरोप लगाए। उनले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरूको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरूले हस्तक्षेप गरिरहेको बताए । उनले सुकुम्बासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताए।

प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्बासी भूमि बनाउन पाइँदैन, सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।


Author

थप समाचार
x