समाज

चुनावी समीक्षाको समाचार लेखेपछि कुटिए पत्रकार, प्रहरी कार्यालय परिसरमा तनाव

इकागज |
मंसिर १९, २०७९ सोमबार १६:१६ बजे

मकवानपुर । गत आम निर्वाचन २०७९ को समीक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकारहरु कुटिएका छन् । नेपाली काँग्रेसभित्र आन्तरिक द्वन्द्व रहेको र अन्तरघातकै कारण गठबन्धनले हार व्यहोर्नु परेको समीक्षात्मक समाचार लेखेको कारण आपसमा भनाभनपछि हातपात भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ख बाट नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरेको घाइते पत्रकारहरुले बताएका छन् । बागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा इन्द्र र पत्रकार रामकुमार रिजाल एलनमाथि कुटपिट भएको हो । हेटौँडाको एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका टोलीले आफूहरुलाई एक्कसी कुटपिट गरेको पत्रकारहरुले आरोप छ ।


करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएकाे बताइएको छ । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको टोलीले कुटपिट गरेको र पत्रकार महासंघ बागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।

महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए । वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात-अन्तर्घातको समाचार प्रकाशित भएको थियो । मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झुट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।

पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकार एलन, रमेश माथिको कुटपिटको भत्सना गरेको छ । समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र कानुनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको र उक्त घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुर्व्यवहार भएकोले पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहार घटनाको घोर भत्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमार्फत माग गरिएको छ ।

यस कुटपिटमा संलग्न रहेको आरोपित पक्षले भने राजनीतिक आरोप प्रत्यारोपको कुरा भन्दा पनि मादकपदार्थ सेवन गरिरहेको बेला भनाभन भएको र सामान्य हात हालाहाल भएको दाबी गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसै बिषयलाई लिएर सामान्य झडपको अवस्था सिर्जना भएको छ । विवादका क्रममा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पत्रकारहरु माथि आक्रमण गर्दै नेपाली काग्रेस निकट तरुण दल सम्बद्ध युवाहरुले नारा जुलुस गरिरहेका छन् ।


Author

थप समाचार
x