समाज

माया लुहार हत्याका आरोपी कोली पक्राउ

इकागज |
मंसिर १८, २०७९ आइतबार १६:३६ बजे

कैलाली- बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्‍नै लाग्दा समातिएको खुलेको छ। प्रहरीका अनुसार कोली भारततर्फ भाग्न भनेर कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए।

शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका हुन्। कोलीलाई समातिएको र अब अड्डासार गरी कोलीलाई बैतडी लैजाने तयारी थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


मंगलबार मायाको हत्यापछि कोली बैतडीबाट भाग्दै डडेल्धुरा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।

कोली भारततर्फ भाग्ने सुरमा महेन्द्रनगर पुगेको बेला बसपार्कमा डिउटीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले कोलीलाई बैतडी प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको बताए।

मायाको मंसिर १३ गते दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x