समाज

घर-घरमा खानेपानीका धारा आउँदा मरिणका स्थानीय दंग

इकागज |
मंसिर १७, २०७९ शनिवार २२:० बजे

सिन्धुली - मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो । 

वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन् । स्थानीय विमला तामाङले अहिले निकै सहज भएको बताइन् । 


`हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो`, उनले भनिने, `अहिले वर्षौँदेखिको खानेपानीको प्यास मेटिएको छ ।` आफैँलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उनले सुनाइन् । 

मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घर–घरमा पुगेको हो । विसं २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो । 

रु ६२ लाख १८ हजार आठ सय ६८ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । 

उनका अनुसार मरिणखोला नजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उनले बताए । `निःशुल्क खानेपानी हाम्रो अभियान हो`, उनले भने, `त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ ।`

उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएको उनले स्मरणसमेत गरे । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्नेमा उनको जोड छ ।
 
वडाध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दामात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाइ सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाए । 

गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको उनको भनाइ छ ।
 
ननुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी संकलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो । अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताए । रासस


Author

थप समाचार
x