समाज

चुनाव अवधिमा सम्प्रेषित १६६ सामग्री आचारसंहिता प्रतिकूल

इकागज |
मंसिर ८, २०७९ बिहीबार १८:११ बजे

फाइल तस्वीर

काठमाडौँ - प्रेस काउन्सिल नेपालले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित १ सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापा माध्यमका ४५ सामग्री, टेलिभिजनका ८ वटा सामग्री, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा सामग्री आचारसंहिता विपरीत पाइएको जनाएको हो । यस्तै ७ वटा वेबपोर्टल, १ समाचार स‌ंस्था र एक सञ्चार माध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ ।

यो अवधिमा २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत र २७ वटालाई स्पष्टीकरण सोधेको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ । १८ वटा सामग्रीका विषयमा मौखिक निर्देशन एवं ध्यनाकर्षण गराइएको र दर्तारसूचीकरण नभएका ७ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले स्थिर समयमा ५१ सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रष्ट पारेको छ ।


विगतको निर्वाचनको तुलनामा यस निर्वाचनमा पत्रकार तथा सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालबाट राजनीतिक दल र उम्मेदवार लक्षितको प्रचारप्रचारमा केही कमी पाइएको भन्दै काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारको विश्लेषणात्मक टिप्पणीसहितको सर्वेक्षण एवं विश्लेषणजन्य सामग्री बढेको उल्लेख गरेको छ । 

‘विद्युतीय सञ्चार माध्यमबाट स्थिर समयमा राजनीतिक दलका गतिविधि तथा प्रचारप्रसार सामग्री पनि न्यून सम्प्रेषण भएको देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा झैँ यसपटक पनि केही सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिताले तोकेको आकार र समयावधिभन्दा बढी हुने गरी सशुल्क समेत जनाउ नगरी राजनीतिक दलका साथै उम्मेदवारको प्रचारप्रसारसम्बन्धी विज्ञापन प्रकाशन ÷प्रसारणले निरन्तरता पाएको तर रेडियो सञ्चार माध्यमबाट भने यस्ता विज्ञापन प्रसारणमा केही सुधार भएको देखिएको छ ।’

काउन्सिलले ध्यानाकर्षण र सचेत एवं निर्देशन स्पष्टीकरणलाई सकारात्मक रूपमा लिई गल्ती सच्याउने तत्परता देखाउने सञ्चार माध्यमलाई धन्यवाद दिएको छ । मतगणना चलिरहेको समयमा संयम रहन र आधिकारिक पुस्ट्याइँ गरेर मात्र सम्प्रेषण गर्न अनुरोध गर्दै काउन्सिलले निर्वाचन सम्पन्न गर्न सञ्चार माध्यमले निभाएको भूमिकाको प्रशंसा गरेको छ ।


Author

थप समाचार
x