समाज

चुनावको मुखमा भारत जानेहरू भन्छन्-

'भोटले भोको पेट भरिन्‍न'

दीपक उपाध्याय |
कात्तिक ३०, २०७९ बुधबार ११:४८ बजे

कैलाली - निर्वाचन आउन चार दिन बाँकी छ । निर्वाचनमार्फत् योग्य जनप्रतिनिधि छान्‍न आफ्नो मताधिकारको प्रयोग गर्ने बेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत जानेहरुको भने नाकामा लर्को देख्न सकिन्छ । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी भन्सार नाका हुँदै दैनिक सयौँ नागरिक भारत गइरहेका छन् । सबैको एउटै गुनासो छ कि ‘भोटले भोको पेट भरिन्न’ ।

दशकौदेखि भारतमै ज्याला मजदुरी गरेर परिवार पालिरहेका कैलालीको गौरिगंगा नगरपालिका ३ का विकास परियार बुधबार बिहानै त्रिनगर नाका हुँदै भारतको राजिस्थान जान सीमा नाका पुगेकाथिए । उनी दशैँमा बिदा नपाएपछि तिहारका लागि घर आएका थिए । अहिले पाँच कट्ठामा लगाएको धान काटेर पुनः उतै (भारत) जान लागेको परियारले बताए । उनलाई साहुले छिट्टै आउनु भने पनि केही दिन ढिला भएकोले फेरि काम नदिने होकी भन्दै केही चिन्ता थियो ।  ‘चुनाव भनेर के गर्नु, परिवार, बालबालिकाका लागि काम गर्न नगई हुँदैन,’ उनले बाध्यता सुनाए, ‘भोट हाल्ने मन त थियो नि, तर भोटले खान नपुग्ने रैछ ।’ 


त्यस्तै बाजुरा घर बताउँने ललित बोहरालाई चुनाव भनेपछि रिस उठ्छ । बोहराले भोट माग्ने बेला अनेकथरी आश्वासन दिन्छन्, तर  चुनाव जितेपछि आफ्नो दु:ख आफैसँग भन्दै अब कसैलाई पनि भोट नदिने भन्दै आक्रोश पोखे । श्रीमती र छोराछोरीसहित भारतको मुम्बई हिँडेका बोहरा उता काम पनि सजिलै पाइने र केही रकम बचत पनि हुने बताउँदै केटाकेटीको भविष्यको लागि बाध्य भएर विदेशिनु परेको गुनासो गरे ।

धेरैजसोले बिदा लिएर आएको र पुनः काममा फर्किन लागेको बताईरहँदा कैलालीकै धनगढी उपमहानगरपालिका १ का हिक्मत तिर्ताली भने साथीहरूसँग पहिलोपटक रोजगारीका लागि भारत जाँदै थिए । सँगैका साथीहरुले भारतमा काम गरेर केही सम्पति पनि जाडेको बताउँदै तिर्तालीले नेपालमा जति ज्यालामजदुरी गरे पनि खानलाउन समेत धौँधौँ हुने गरेकोले कामका लागि जान लागेको बताए । उनले मुखैमा आएको चुनावमा भोट हाल्ने रहर भए पनि बाध्यताले बिदेशिन लागेको बताए । 

कैलालीको त्रिनगर नाकाबाट मात्रै कार्तिक १ गते यता ५ हजार २९७ र सोही अवधिमा कन्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ जानेको संख्या ६ हजार ७६५ जना रहेको नाकामा खटिएका सुरक्षाकर्मीले बताए ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x