समाज

तिहारमा फ्रेस फूल कि प्लास्टिकको ?

सदिक्षा आचार्य |
कात्तिक ८, २०७९ मंगलबार १७:५३ बजे

काठमाडौं – कालीमाटी तरकारी बजारमा ६–७ वर्षदेखि तिहारका बेलामा फूल बेच्दै आएकी समीक्षा कार्कीको परिवार अहिले तिहारका अवसरमा सोही व्यापार गर्दै छन् । नौ कक्षामा अध्ययनरत कार्कीले अहिले आफ्नो परिवारलाई फूल व्यापार गर्दै सघाएकी छन् । समीक्षाकी सानी बहिनी पनि व्यापारमा जुटेकी छन् ।  विगतको जस्तो यो वर्ष फूल व्यापार नभएको उनको अनुभव छ । 

पहिले पहिले भारतबाट समेत फूलहरू आयात हुने गरेकामा यो वर्ष भने नेपालकै फूलले बजार पाएको उनले बताइन् । यो वर्ष खासै व्यापार छैन । कार्की भन्छिन्, ‘पहिले जस्तो मान्छेहरूको चहलपहल नै छैन ’। 


त्यस्तै कालीमाटीमा नै ५–६ वर्षदेखि फूल व्यापार गर्दै आएकी सन्जीता पाठकको पनि गुनासो उस्तै छ । अहिलेको तुलनामा भन्दा पोहोरकै वर्षहरूमा फूलको व्यापार राम्रो भएकोे उनको अनुभव छ । उनी भन्छिन्, ‘खै, आजकाल मान्छेहरू पोहोर परार जस्तो फूल किन्न आएका छैनन् ।’ 

यत्तिकैमा ग्राहक आइपुगेका थिए । पाँचवटा ढोकालाई पुग्छ । १५ सय हो त्यो सबै मालाको उनी बताउँदै थिइन् । यता उनलाई मूल्य सोधेर ती ग्राहक फेरि अर्को ठाउँतिर मालाको मोलतोल गर्न लागे । पाठकले भनिन्, ‘ल हेर्नुहोस्, यस्तै छ । यहाँ मोलतोल हुन्छ अनि महँगो लाग्छ अनि सस्तो, प्लास्टिकको खोज्छन् ग्राहकहरू ।’ 

पहिले कोभिडमा बिहान मात्र बजार खुलाउँदाको समयमा भने भ्याई नभ्याई थियो । अहिले त खडेरी लागेको जस्तै भएको छ, व्यापार पनि । अहिले व्यापार निकै कम भएको उनको ठम्माइ छ । बजारमा कागजका, प्लास्टिकका समेत फूलहरू छन् । त्यसैले पनि फ्रेस फूलहरूको व्यापार नभएको उनले अनुभव गरेकी छन् । 

फूल बेचिरहेकी एक जना महिलाको गुनासो छ, ‘यही तिहारमा त हो अलिअलि फूलको व्यापार हुने । खासै व्यापार नै छैन् । के भनौं मैले हजुरलाई ?’ 

उनको अनुहारमा उत्साह नै थिएन । चाडबाडका बेला परिवारबाट पर बस्नु परेपछिको गुनासो थियो कि ? अथवा व्यापार नभएको कुराको दुखेसो, त्यो त उनलाई नै थाहा होला । 

त्रिपुरेश्वरमा तिहारलाई नै लक्षित गरेर फूलको व्यापार भइरहेको छ । स्टल थापेर नै फूल बेच्नलाई व्यापारीहरू लागिपरेका छन् । उनीहरू खासै खुसी देखिँदैनन् । उनीहरूको व्यापार नै नभएको गुनासो छ । 

त्यस्तै त्रिपुरेश्वरस्थित एक फूल पसलमा एकजना पुरुष भ्याईनभ्याई गरेर माला बुन्दै थिए । छेउमै अर्को एकजना दाइ पनि सयपत्रीको माला उन्नमा व्यस्त थिए । तिहार लक्षित माला बनाउँदै थिए उनीहरू । काउन्टरमा अर्को एकजना दाइ थिए । इमाडोलका सौरभ श्रेष्ठले त्रिपुरेश्वरमा फूलकै व्यापार गर्न लागेको १९ वर्ष भयो । बुवाहरूले पनि यही व्यापार अँगालेको हुनाले उनले पनि यसलाई निरन्तरता दिएको श्रेष्ठले बताए । 

१९ वर्षको फूल व्यापारलाई फर्केर हेर्दा ४–५ वर्ष अगाडि मात्रै राम्रो व्यापार भएको उनी सम्झन्छन् । कोभिड, डेङ्गी, यस्तै महामारीले गर्दा व्यापार नै सोचे अनुरूप नभएको उनको दाबी छ । 

मान्छेहरूसँग पैसा नै छैन । कोभिडका वर्षमा त पसल खोल्नै पाइएन । कोभिडले गर्दा व्यापारीहरू कति ‘लस’मा छन् । कति घाटा लाग्यो, कति लेखाजोखा नै छैन । व्यापार छैन नि अहिले, उनी बताउँछन् । हामी अन्य समयमा सिजनअनुसारका फूलहरू बेच्ने गरेका छौँ । तर व्यापार नै छैन । 

हामीले कालीमाटीबाट नै फूलहरू ल्याएर व्यापार गर्ने गरेका छौँ । सकेसम्म हामी नेपालमा नै उत्पादन भएका फूलहरू बेच्ने गरेका छौँ । केही सीप नलागे मात्रै हामी इन्डियन फूलहरू ल्याएर बेच्छौँ । उनीहरूले पसलमा नेपाली फूलहरूलाई नै प्राथमिकतामा राखेर बेचेको बताउँछन् । 

प्लास्टिक लगायतका फूलहरू पनि बजारमा छन् । फ्रेस फूलहरूको मालाको मूल्य हेरीहेरी छ । प्लास्टिकका सस्ता पनि छन्, त्यसैले पनि मान्छेहरू ढोका, झ्यालहरू सजावटका लागि प्रायः फ्रेस फूलभन्दा पनि प्लास्टिककै फूलहरू प्रयोग गर्ने गरेको देखिएको उनको अनुभव छ । 


 


Author

थप समाचार
x