समाज

रुखसँगको गुजारामा दुःख छ, दुःख देख्‍ने कोही छैन

पाँच वर्षमा रूखबाट लडेर ३४० को मृत्यु, ६५७ घाइते

सृजना खड्का |
असोज २९, २०७९ शनिवार ११:० बजे

बुटवलकी ज्योति अर्याल (३३) लाई त्यस दिन बुवाले घरबाट कतै नजानू भनेका थिए । रूख त झन् चढ्दै नचढ्नू भन्ने चेतावनी थियो । तर, रूखमा फलेका लटरम्म आँपले बुवाको चेतावनी बिर्सायो । उनी आँप टिप्न रूख चढिन् । टिप्न नपाउँदै भुइँमा पछारिइन् । लडेर बेहोस भएकी उनको होस अस्पतालको बेडमा खुल्यो । 

ज्योतिलाई ‘स्पाइनल कर्ड इन्जुरी’ भयो । दुवै खुट्टा राम्रोसँग चलेनन् । छ महिना अस्पतालमा बिते । ‘दुई वर्षसम्म उपचार गर्दा पनि खुट्टा निको हुने छाँटकाँट देखिएन,’ उनले भनिन्, ‘त्यो दिन संसारै अँध्यारो लाग्यो । पहिला हिँडेको/डुलेको मात्रै याद आइरहन्थ्यो । पछि ह्विलचियर नै मेरो साथी भयो ।’ 


ज्योति अहिले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा कम्प्युटर अपरेटरको काम गर्छिन् । उनी ह्विलचियर बास्केटबल खेलाडी पनि हुन् । 

०००
राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार विशेषगरी आँपको सिजनमा तराईबाट ‘फल इन्जुरी’को समस्या लिएर धेरै बिरामी आउँछन् । त्यस्तै, बेलौती टिप्न रूख चढ्दा लड्ने बच्चाहरू पनि धेरै ट्रमासम्म आइपुग्छन् । पहाडबाट भने डाले घाँस काट्न र स्याउला झार्न रूख चढ्दा लडेर आउनेहरू धेरै हुन्छन् । 

ट्रमा सेन्टरले केही समयअघि गरेको अध्ययनमा ५० प्रतिशत बिरामी ‘फल इन्जुरी’को समस्या लिएर इमरजेन्सी वार्डसम्म आइपुग्ने देखिएको छ । तर, यति गम्भीर र संवेदनशील विषयमा राज्यले चासो नदेखाएको डा. पौडेलको गुनासो छ । ‘विदेशतिर सेफ्टी बेल्ट नलगाई रूख चढ्न पाइँदैन,’ उनी भन्छन्, ‘रूख चढ्दा सेफ्टी बेल्ट लगाउनु भनेको बाइक चढ्दा हेल्मेट लगाउनु जस्तै हो । तर, हाम्रोमा त्यस्तो केही छैन । यहाँ दैनिक गुजारा गर्न मानिसहरू रूखसँग खतरा मोलिरहेका छन् ।’
 
बेवास्तामा गरिएको विकराल समस्या
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन गाउँघरमा ‘तपाईंहरूलाई कस्तो मेसिन सबैभन्दा बढी आवश्यक छ’ भनेर सोध्दा आउने जवाफ हो– हामीलाई डाले घाँस/स्याउला भुइँमै बसेर काट्ने मेसिन बनाइदिनुपर्‍यो ।

मानिसहरू घास–दाउरा गर्दा रूखबाट लडेर घाइते र मृत्यु हुन थालेपछि उनलाई यस्तो अनुरोध आउन थालेको हो । ‘डाले घास र स्याउला काट्ने मेसिनको डिमान्ड धेरै छ,’ उनी भन्छन्, ‘तर, सबै रूख एकनासको नहुने भएकाले हामीले बनाउन सकेका छैनौँ । यसका लागि कस्तो प्रकारको मेसिन बनाउने आइडिया नै फाइनल हुन सकेको छैन ।’

अध्यक्ष पुनको नजरमा यो बेवास्ता गरिएको विकराल समस्या हो । ‘गाउँघरतिर घाँस काट्न, स्याउला झार्न जाँदा लड्दा तत्कालै उद्धार गर्ने कोही हुँदैन,’ उनी भन्छन्, ‘गाईबाख्रा खेतिपाती नगर्नेलाई रूख नचढी सुख पनि छैन ।’

ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट डा. पौडेलका अनुसार अस्पतालमा हरेक हप्ता यस्ता केस आइरहन्छन् । बिरामी आईसीयूबाट वार्ड र वार्डबाट घर पठाउने क्रम चलिरहन्छ । सवारी दुर्घटनाभन्दा भयानक छ रूखबाट लडेर मृत्यु/घाइते हुनेहरूको कथा । तर, सवारी दुर्घटनाको जति चर्चा हुन्छ रूखबाट दुर्घटनामा पर्नेहरू उत्तिकै गुमनाम छन्् । उपचारका लागि दार्चुला र कालिकोटदेखि केन्द्रको ट्रमासम्म आउने उनीहरूबारे राज्यले खासै ध्यान दिएको देखिँदैन । 

सवारी दुर्घटनामा तत्कालै प्रहरीमा रिपोर्टिङ हुन्छ । बिरामी तुरुन्तै अस्पताल पुग्छ । तर, रूखबाट लड्नेको हकमा त्यस्तो हुँदैन । ‘स्याउला/घाँस झार्न सबैले साथी लिएर जान्छन् भन्ने छैन,’ डा. पौडेल भन्छन्, ‘गाउँघरको बस्ती बाक्लो पनि हुँदैन । टाढा–टाढा छरिएको बस्तीमा दुई–तीन दिनपछि बाटो हिँड्नेले घाइतेलाई देखेर उपचारमा ल्याउँछन् ।’

रूखबाट लडेर घाइते हुनेहरू सामान्य घाँसदाउरा गरेर जिविका चलाउने किसान हुन्छन् । ‘उनीहरू कसैसँग दुखेसो पनि गर्दैननन्, त्यसलाई आफ्नै दोष ठान्छन्’ उनी भन्छन्, ‘सवारी दुर्घटनामा परेर आउनेहरू डिमान्डिङ नेचरका हुन्छन् । सरकारी अस्पतालमा उपचार गराउँदैनौँ भन्दै निजीतिर जान्छन् । उनीहरूको दुर्घटना बिमा हुन्छ । तर, रूखबाट लड्नेको जीवनको कसलाई मतलब छ र ?’ 

रूखबाट लड्दा टाउको र छातीको भाग बजारियो भनेर बाँच्ने आश कम हुने डा. पौडेल बताउँछन् । ज्यान र खुट्टा पर्‍यो भने मान्छे बाँच्छ । तर, हिजोको हट्टाकट्टा मानिस आजबाट जीवनभरि प्यारालाइसिस भएर बाँच्नुपरेका उदाहरण धेरै भएको उनले पाएका छन् । यसलाई कम गर्न राज्यले यो विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने उनी बताउँछन् । ‘बिरामीको अपरेसन गरेर घर पठाउनु मात्रै समस्याको समाधान होइन,’ उनी भन्छन्, ‘राज्यले यसलाई हल्का रूपमा लिनुभएन । हजार रुपैयाँको सेफ्टी बेल्ट लगाएर मात्रै रूख चढ्न प्रेरित गर्ने हो भने अंगभंग हुने संभावना कम हुन्छ ।’

पाँच वर्षमा रूखबाट लडेर मृत्यु हुने ३४०, घाइते ६५७ 
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म रूखबाट लडेर मृत्यु हुनेको संख्या ३४० छ । यो संख्या प्रत्यक वर्ष बढ्दै गएको देखिन्छ । आ.व २०७४/०७५ मा ४० जनाले रूखबाट लडेर ज्यान गुमाएको देखिन्छ । यो संख्या आ.व २०७८/०७९ मा आइपुग्दा १०२ पुगेको छ । यो आर्थिक वर्षको तीन महिनाभित्र मात्रै रूखबाट लडेर १२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रूखबाट लडेर घाइते हुनेको संख्या झन् दोब्बर छ । पाँच आर्थिक वर्षमा रूखबाट लडेर ६५७ जना घाइते भएको तथ्यांकमा उल्लेख छ । यसरी घाइते हुनेको संख्या पाँच वर्ष अगाडि र पछाडि चार गुणाले बढेको देखिन्छ । आ.व २०७४/०७५ मा रूखबाट लडेर ५१ जना घाइते भएको तथ्यांकले देखाउँछ ।

यही संख्या आ.व २०७८/०७९ मा आउँदा १९० पुगेको छ । यो आर्थिक वर्षको तीन महिनाभित्र मात्रै रूखबाट लडेर १६ जना घाइते भएका छन् । यो त प्रहरी र अस्पतालसम्म आइपुगेको तथ्यांक मात्रै हो । उपचारका लागि केन्द्रसम्म धाउन नसकेर गाउँघरमै वैद्य र जडिबुटीको भरमा बाँच्नेहरूको यहाँ कुनै लेखाजोखा गरिएको छैन । 

खै चासो अनि चर्चा ?
सातै प्रदेशमा ट्रमा जस्तै अस्पताल हुने हो भने सबैको पहुँचमा उपचार पुग्ने डा. पौडेल बताउँछन् । ‘तर, राज्यलाई यो समस्या हो भन्ने नै लाग्दैन,’ उनी भन्छन्, ‘ट्रमाको दुई सय बेडको अस्पतालले कतिलाई नै सेवा दिन सक्छ र ?’

त्यस्तै, यसको अर्को पाटो खोतल्दै डा. पौडेल भन्छन्, ‘उपचारपछि उनीहरूलाई समाजमा कसरी पुनःस्थापना गर्ने भन्नेतिर कसैको ध्यान गएको देखिँदैन । हात खुट्टा भाँचिएर आएकालाई स्टिल हालेर पठाउँदैमा उनीहरूको जीवन चल्दैन ।’

दुर्घटनामा पर्नेहरूको आगामी जीवन कसरी सहज बनाउने भन्नेतर्फ पनि चासो दिनुपर्ने उनको जोड छ । ‘तराईमा काम गर्ने ह्विलचियरले पहाडमा काम नगर्न सक्छ,’ उनी भन्छन्, ‘पहाडबाट उपचारमा आएकाले अस्पतालबाट डिस्चार्ज भएपछि केमा हिँडडुल गर्ने ? खै हामीले यो विषयमा सोचेको ? यसमा गर्नुपर्ने काम धेरै भए पनि कुनै सुरसार देखिँदैन ।’ 

उनका अनुसार परिवारको कसैलाई ‘फल इन्जुरी’ हुँदा अर्को व्यक्तिले समेत रोजगारी गुमाउँछ । किनभने, त्यस्तो व्यक्तिलाई एक न एक जनाले पूर्ण रूपले हेरचाह गर्नुपर्छ । ‘यस्ता दुर्घटनाले धेरै परिवार गरिबीको रेखामुनि परेका छन्,’ उनी भन्छन्, ‘यसले आर्थिक रूपमा परिवारलाई मात्रै होइन राज्यलाई समेत थला पार्छ । त्यसैले, यो विषयलाई राज्यले समस्याको रूपमा हेर्नुपर्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x