समाज

आफै प्रहरीकोमा उपस्थित हुन चाहन्थे सन्दीप, प्रहरीले मानेन (भिडिओ)

इकागज |
असोज २०, २०७९ बिहीबार १४:१६ बजे

काठमाडौँ - नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार कतार एअरवेजको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेलगतै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । 

विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले लामिछानेलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो । त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालाको जिम्मा लगाएको हो । 


विमानस्थलबाटै हतकडी लगाएर उनलाई प्रहरीले बाहिर ल्याएको थियो । बाहिर ल्याएर भ्यानमा राख्दासम्म सन्दीपको हतकडी लगाएको हात रुमालले छोपिएको थियो । 

प्रहरीले नियन्त्रणमा लिएलगतै लामिछानेको स्वास्थ्यपरीक्षण गरिएको र गौशाला प्रहरीले उनीमाथिको आरोपको थप अनुसन्धान गर्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले जानकारी दिए ।

यस्तै लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थतिमा आत्मसमर्पण गर्न लामिछाने माग गरे पनि प्रहरीले अस्वीकार गरेको बताए । उनले भेट्न खोज्दा निवेदन दिनुपर्छ भनेर भनेको समेत बताए । अदालत खुलेपछि थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । 

प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए । उनी विरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन् । भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । 
 


Author

थप समाचार
x