समाज

वर्षामय हुनेभयो यस वर्षको दसैँ, टीका लगाउन जाँदा सावधानी अपनाउन विज्ञको आग्रह

इकागज |
असोज १९, २०७९ बुधबार ८:३८ बजे

फाइल तस्बिर

काठमाडौँ - यस वर्षको दसैँ वर्षामय हुने भएको छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । 

काठमाडौं उपत्यकामा गएरातिदेखिनै पानी परेको छ भने देशका अधिकांश ठाउँमा पानी परिरहेको छ । यस वर्षको दसैँ वर्षामय हुने भएकाले विज्ञहरूले टीका लगाउन जाँदा खहरे खोलानालहरूमा सावधानी अपनाउन आग्रह गरेका छन् । 


आज प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

टिकाको भोलिपल्ट अर्थात् बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।


Author

थप समाचार
x