समाज

गाेठाटार गाेलीकाण्ड : पक्राउ परेकाहरु 'सामान्य सहयाेगी' मात्रै !

इकागज |
असोज १४, २०७९ शुक्रबार १७:४६ बजे

काठमाडौँ- असोज​ ३ गते गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन् । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौँ प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो ।


पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी परिसरले जनाएकाे छ । पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको छ ।

घटनाको अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

काठमाडौँ जिल्ला परिसरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका तीनमध्ये २ जना युवक र एक जना युवती गाेलीकाण्ड घटनामा सामान्य सहयाेगी मात्रै हुन् । पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्नहरुलाई सार्वजनिक गर्दै उनीहरुकाेबारेमा केही पनि बताउन सकेन । पक्राउ परेकी युवती भने यसअघि लागूपदार्थ काराेबारमा संलग्न रहेकाे आराेपमा पक्राउ परेकी थिइन् । उनी जेलसमेत बसेकाे प्रहरी तथ्यांकले देखाउँछ । तर बाँकी दुई जनाकाे पृष्ठभूमिबारे प्रहरीले आनाकानी गर्नुले उनीहरु सामान्य सहयाेगी रहेकाे प्रष्ट्याउँछ । अर्काे कारण प्रहरीले याे १० दिनमा कुनै सबुत फेला पार्न नसक्नु र मुख्य सुटर अझै फरार रहनुले पनि घटनाका मुख्य दाेषी पक्राउ परेकाहरु नभएकाे देखिन्छ ।

प्रहरीकाे दाबी छ - पक्राउ परेकाहरू हत्याको योजनाकार, हतियार व्यवस्थापक अनि लाल मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न छन् । प्रहरीले  दुई युवकलाई प्रहरीले वीरगन्जमा पक्राउ गरेर ल्याएको हो भने युवती काठमाडौँको कपनमा बस्दै आएकी थिइन्। 

यसअघि याे घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले एक भारतीय व्यक्ति पक्राउ गरेकाे थियाे । पत्रकार सम्मेलनमा उनीबारे प्रहरीले केही खुलाएन । न त अनुसन्धानको उपलब्धिमा हत्याको कारण समेत खुलाउन सक्याे । परिसरका एसएसपी भरतबहादुर बाेहराले अनुसन्धान जारी रहेकाे र मुख्य सुटरसम्म प्रहरी पुग्ने दाबी गरे । उनकाअनुसार पक्राउ परेका माेहरमले वीरगञ्जबाट पेस्ताेल बाेकेर ल्याएका थिए । '५० हजार पाउने लाेभमा उनले हतियार ल्याएकाे खुलेकाे छ, ' उनले भने, 'काठमाडौँ आए अनि माछा पोखरीमा एक व्यक्तिलाई हतियार दिएर उनी त्यही दिन वीरगन्ज फर्किएकाे देखिन्छ ।' घटनामा को-को संलग्न थिए अनि सुटर को हो भन्नेबारे खाेजतलास भइरहेकाे प्रहीले जनाएकाे छ ।

 


Author

थप समाचार
x