समाज

स्वरोजगार श्रमिककाे चेतावनी : काठमाडौँ महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्छाैं

इकागज |
असोज ९, २०७९ आइतबार १४:५५ बजे

काठमाडौँ- नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौँ महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाड लक्षित गरेर निश्चित स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ ।


स्वरोजगार श्रमिकहरूको व्यवस्थापनका लागि कानुन तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरूलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ । यसैगरी, चाडवाड लक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकाको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।

स्वरोजगार श्रमजीवीहरूलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइदिनेगरी सामान नियन्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरू सदस्य रहेको बताइन् ।

संघका अनुसार सडक पेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर जीवन चलाउनेहरूको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरूको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेका छन् । संघले गत भदौ ३० गते महानगरलाई आफ्नो समस्याबारे ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । 


Author

थप समाचार
x