समाज

मधेशमा 'बच्चा चोर'को हल्ला, विद्यार्थी र अभिभावक त्रसित

प्रहरी भन्छ- भ्रामक सूचना र दृश्यको पछि नलाग्‍नुस्

सुभाष कर्ण |
असोज ७, २०७९ शुक्रबार १०:४४ बजे

जनकपुरधाम - केही दिनदेखि बच्चा चोरहरू आएको हल्लाले मधेशका अभिभावकहरूमा त्रास फैलिएको छ । खासगरी सामाजिक सञ्जालमा बच्चा चोरीको नाटकीय दृश्यहरू भाइरल भइरहेको घटनाले अभिभावकहरूमा त्रास देखिएको हो । बच्चा चोर आएको हल्ला चलेपछि जनकपुरस्थित निजी विद्यालयहरू सर्तक बनेका छन् । 

निजी विद्यालयहरूले अभिभावकलाई मात्र बच्चा लिन आउन सूचित गरेका छन् भने अभिभावकहरू स्वयं सतर्क भएका छन् । ३ देखि १० वर्षसम्मको बालबालिकालाई अभिभावकहरूले आफै विद्यालय लिएर जाने आउने गरेको देखिएको छ ।


रौतहटको राजदेवी नगरपालिका, पर्साको विरगञ्जमा बच्चा चोरी आरोपमा पक्राउ परेको र महोत्तरीको बनौलीमा विद्यालयबाट तीन जना विद्यार्थी हराएको भन्न‍े घटनाले अभिभावकलाई झन् त्रसित बनाएको छ । हुनत प्रहरीले ती घटनामा कुनै सत्यता नरहेको बताएको छ । 

अभिभावकहरूले स-साना बालबालिकालाई विद्यालय त के घरबाट बाहिर पनि खेल्न एक्लै निस्किन दिएका छैनन् । बच्चा घरमा रहुञ्जेलसम्म आ-आफ्ना घरका मूल ढोका बन्द नै राख्ने गरेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका ४ निवासी रञ्जित साहले केही दिनदेखि बच्चा चोरीको चलेको हल्लाले आफूहरूलाई त्रसित बनाएको बताए । ७ वर्षीय छोरा पहिला आफै स्कूल जाने/आउने गरेको भए पनि बच्चा चोरीको हल्ला फैलिएदेखि आफैँ विद्यालय लिएर जाने र ल्याउने गरेका छन् । 

त्यस्तै वडा नम्बर ६ का विकास यादवले पनि सबै काम छाडेर आफै छोरीलाई विद्यालय लिएर आउने जाने गरेका छन् । 

रञ्जित र विकास जस्ता यस क्षेत्रका सबै अभिभावक सतर्क भई साना विद्यार्थीहरूलाई आफै लिएर आउने जाने गर्छन् । जुन दिन आफैँ नगएपछि विद्यालयलाई फोनमार्फत् बच्चा लिन जाने व्यक्तिको नाम भनेपछि विद्यालयले सोधपुछ र विद्यार्थी चिनेपछि मात्र जिम्मा लगाउने गरेको छ ।

यस्ता घटनालाई लिएर सामाजिक सञ्जालमा भने केही दिनदेखि बच्चा चोरको आतंक नै फैलाएको छ । मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लामा फैलिएको हल्लाले अभिभावक मात्र होइन बच्चाहरू समेत डराएका छन् ।

सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्ने अभिभावक विजय चौधरी बताउँछन् । बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय जान पनि डराउन थालेको उनको भनाइ छ । 

न्यू भिजन सेकेण्ड्री बोर्डिंग स्कूलका सञ्चालक एवं प्यावसन मधेश प्रदेशका पूर्वसचिव विश्वलाल सिंहले बच्चा चोरीको हल्लापछि विद्यालयहरू सतर्क भएको बताए । सांगठनिक रूपमा कुनै निर्देशन नभए पनि सकेसम्म आफै बच्चा लिन आउन वा बच्चा लिन आउन नसक्दा फोन मार्फत् बच्चाले चिन्ने व्यक्तिलाई पठाउने त्यसको नाम ठेगानासहित पूर्व सूचना दिन अभिभावकहरूलाई जानकारि गराइएको उनले बताए ।

त्यस्तै एनप्याबसनका केन्द्रीय सदस्य एवं मोर्डन सेकेण्ड्री बोर्डिंग स्कूलका सञ्चालक चन्द्रनारायण मण्डलले पनि विद्यालय सञ्चालकमा त्रासको माहौल नभए पनि सतर्क भएको बताए । 'अहिलेसम्म बच्चा चोरीको घटना त घटेको छैन तर जनकपुरधामस्थित सबै निजी विद्यालय सञ्चालकहरू पूर्व तयारी स्वरूप सतर्क भएका छन्,' उनले भने, 'सबै अभिभावकहरूलाई सुचित गरिसकेका छौँ । सकेसम्म जुन व्यक्ति सबै दिन विद्यार्थी लिएर आउने गरेका छन् त्यसैलाई लिएर जान पठाउन भनेका छौँ ।'

विद्यार्थीहरूलाई पनि विद्यालय परिसरबाट नजान भनेको र विद्यालयको मूल ढोकामा सेक्युरिटी गार्डलाई पनि कुनै पनि अपरिचित व्यक्तिलाई इजाजतविना प्रवेश गर्न नदिन वा बच्चा जिम्मा नलगाउन निर्देशन दिइसकेको उनले बताए ।

यता सामुदायिक विद्यालयहरूमा भने कुनै सतर्कता अपनाएको देखिँदैन । संकट मोचन रामरती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साहले भने ,'बच्चा चोरीको हल्ला भ्रामक हो, यसको पछाडि लाग्नुको कुनै अर्थ छैन । सधैं जस्तो एक्लै आउने विद्यार्थी आई नै रहेका छन् । तर सतर्कता अपनाउन पनि जरुरी छ । त्यस अनुरूप आफ्नो विद्यालयमा अपरिचित व्यक्तिलाई निषेध गर्नेछौँ।'

प्रहरी प्रशासनले बच्चा चोरीको हल्लाले आम जनतामा त्रास देखिए पनि प्रहरी सतर्क रहेको बताउँछ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले प्रहरी पनि सतर्क रहेको बताए । 'धनुषा जिल्लामा चालू आर्थिक वर्षमा बच्चा चोरी कुनै घटना भएको छैन । न त कुनै अभियुक्त त्यस आरोपमा पक्राउ परेका छन्,' उनले भने, 'न त्यस्तो घटनाको निवेदन नै हामी कहाँ आएको छ । त्यस्तो भए भने प्रहरी २४ औं घण्टा अलर्ट छन् ।

सामाजिक सञ्जालको माध्यमले भारतबाट बच्चा चोर्ने गिरोह मधेश पसेको अफवाहले विद्यालय, बालबालिका र अभिभावक मानसिक तनाव उत्पन्न भएको उनको भनाइ छ । त्यस्तो कुनै घटना वा अन्य अपराधिक घटना भए तत्काल प्रहरीलाई खबर गर्न आम जनतामा उनले आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरूबाट समूह नै बनाएर मानिसहरू चोरी गर्न पुरुषहरू महिला र मंगन्तेको भेषमा आउने र बच्चाहरूलाई खानेकुरा दिएर फकाउने गरेको भन्दै भिडियो र फोटोहरू पोष्ट गरिएका छन् । ती पोष्टहरू धेरै मात्रामा शेयर भइरहेको घटनाले त्रासको माहौल बनाएको उनले बताए ।

यता नेपाल प्रहरीको साइबर ब्यूरो समेतले पछिल्लो साता एक विज्ञप्ति जारी गरी बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जनाएको छ । सामाजिक सञ्जालमार्फत् नाटकीय भ्रामक सूचना र दृश्यको पछि नलाग्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरूमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजूरी र सूचना प्राप्त नभएकोले भ्रामक प्रचारमा विश्वास नगर्न प्रहरीले अनुरोध गरेको छ । 

बच्चा चोरी वा कुनै पनि अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्नुका साथै सामाजिक सञ्जालमार्फत् भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने चेतावनी ब्यूरोले दिएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x