समाज

फुटपाथ व्यवसायी भन्छन् : गरिखान देऊ, महानगर भन्छ : हुँदैन

सदिक्षा आचार्य |
असोज ३, २०७९ सोमवार १६:१८ बजे

काठमाडौँ- चितवनका कृष्णबहादुर थापा मगरले काठमाडौँ मल अगाडिको फुटपाथ वरिपरि इयरफोन बेच्न लागेको करिब तीन वर्ष भयो । यही व्यवसायले उनी आफ्नो पेट र घर परिवार पाल्छन् ।

यसपालि पोहोर/परार जस्तो व्यापार नभएको उनको अनुभव छ । ‘हामीहरू जस्तो सानोतिनो व्यापारी कहाँ जाने ?’ उनको प्रश्न छ । ‘महानगरपालिकाले यसरी हटाएको नराम्रो होइन,’ उनी भन्छन्, ‘बिहान–बेलुका हातमुख जोर्नुपर्‍यो । मेरो काम, जागिर, व्यवसाय जे भने पनि यही इयरफोन बेच्ने हो ।’


कति बेला महानगर आउँछ र यी बेच्न राखेका सामान लैजान्छ भनेर त्रासमै उनको दैनिकी बित्ने गरेको छ आजकाल । उनका आँखा घरिघरि वरिपरि घुमिरहन्छ । महानगर आइहालेमा सामान कता र कसरी लुकाउने भन्ने डर उनीभित्र बास गरिरहेको हुन्छ ।

भदौ ८ मा काठमाडौँ महानगरपालिकाले डोजर लगाएर काठमाडौँ मल अगाडिका अनधिकृत संरचना हटाएपछि त्यस अगाडिका फुटपाथमा व्यापार गर्दै आएका फुटपाथ व्यापारीहरू अहिले मारमा छन् । ‘गरिखान देऊ’ भन्दै उनीहरू भदौ ३० गते महानगरअगाडि धर्ना एवम विरोध र्‍याली गरेका थिए । 

बनेपा घर भई फुटपाथमा व्यापार गर्दै आएकी रिबेका पुरीको कथा भिन्नै छ । शारीरिक अपाङ्गता भएकी उनमा काम गरेर खाने आँट बेग्लै छ । उनले महानगरभित्रै लत्ताकपडाको फुटकर व्यापार गर्दै आएको १४ वर्ष बित्यो । चाडपर्वका बेला विगतका वर्षमा जस्तो व्यापार नभएको उनको अनुभव छ । ‘हामी अपाङ्गता भएका धेरै छौँ, सबल मान्छेहरूसँग लडेर, जुधेर व्यापार गर्न निकै चुनौती छ,’ उनले आफ्नो दुःख बेसाइन्, ‘घरपरिवार पाल्नुपर्यो । मेरै काँधमा घरको पूरै अभिभारा छ ।’

अहिले बसिरहेको ठाउँबाट हटाए पनि अन्तै खुल्ला बजार बनाएर व्यवस्था गरिदिन उनको अनुरोध छ । भाडास्वरूप लागेको पैसा तिर्ने उनले बताइन् । ‘तर गरी खान चैं दिनुपर्छ,’ उनको एउटै माग छ ।

‘एक त सटरमा लाखौं भाडा तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘सटरलाई पनि पहिले नै डिपोजिट राख्नुपर्ने हुन्छ । आठदेखि १० लाख बुझाउनुपर्ने हुन्छ । कसरी सक्नु ?’ त्यही डिपोजिट राख्न नसक्दा यसरी व्यापार गर्न बाध्य भएको उनले सुनाइन् । ‘होइन भने घाम, पानी, महानगरको खेदाइ खप्न कसलाई मन हुन्छ र ?’ उनले भनिन् ।

पसल/व्यवसाय दर्ता गर्न पनि राजी भएको उनी सुनाउँछिन् । आफ्नो गच्छेअनुसार पैसा तिर्न तयार रहेको उनी बताउँछिन् । ‘महानगरले व्यापार सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुपर्यो,’ उनले भनिन्, ‘हाम्रो हातमुख जोर्ने बाटो नै यही त हो । कहाँ जाने भन्नु न ? घरमा सबै मैतिर मुख फर्काएर बसेका छन् । खै कसरी पो गुजारा गर्ने होला अब ?’

त्यस्तै फुटकर व्यापार गर्दै आफ्नो घर–व्यवहार धान्दै आएकी पासाङ शेर्पाको कथा फरक छ । बोरामा पोको पारेर अमला लिएर यताउता नजर डुलाउँदै बसेकी उनले पनि आफ्नो गुनासो पोखिन् । ‘महानगर आएर सामान लैजान्छ,’ उनले भनिन्, ‘बरु सानोतिनो जागिर लगाइदिए पनि हुने हामीलाई । बिहानदेखि बेलुकासम्म बेचेर जम्मा दुई–तीन सय नाफा हुन्छ, त्यही पैसाले गुजारा चलाउने हो ।’

यसैगरी सिन्धुपाल्चोककी सीता सेन्चुरीले काठमाडौँ मल वरिपरिका फुटपाथमा फुटकर व्यापार गर्न लागेको चार महिना पुग्यो । उनी झन् चाडबाडको मुखैमा महानगरको एक्सनमा परेकी छन् । ‘भाग्दा कतिबेला घाउचोट लाग्छ, जागिर छैन, यो त बाध्यता हो नि हाम्रो,’ उनले भनिन्, ‘अरू काम पनि त हुन्छ, जागिर दिए बरू जागिर गर्नु हुन्थ्यो । महानगर प्रमुखले कि त जागिर दिनुपर्यो होइन भने एउटा निश्चित ठाउँ तोकिदिनुपर्यो ।’

इकागजकर्मीले सीतासँग संवाद गर्दैगर्दा उनका सामान महानगर प्रहरीले मुट्ठीभरि पारेर लिएर गए । अभावको जिन्दगी बाँचिरहेकी सीताको आक्रोश बुझ्ने त्यहाँ कोही थिएन ।

महानगरका प्रवक्ता नवीन मानन्धरले फुटपाथ व्यवसायीहरूले ज्ञापनपत्र बुझाएको बताए । ‘यो कुरामा महानगरबाट बोर्डमा सल्लाह भएपछि मात्रै के कसो भनेर बोल्न मिल्छ,’ उनले भने, ‘बोर्डको बैठकमा पनि महानगर प्रमुखले भनेपछि मात्रै के गर्ने भनेर निर्णय गरिन्छ ।’ तत्कालै फुटपाथ व्यवसायीहरूको विषयमा महानगरले केही निर्णय नगर्ने मानन्धरले बताए ।

यसैगरी महानगर प्रमुखका स्वकीय सचिव भूपदेव शाहले फुटपाथ व्यवसायीहरूले गैरकानुनी काम गरेको बताउँछन् । ‘एक त गैरकानुनी काम गर्ने अनि ज्ञापनपत्र बुझाउने,’ उनले भने, ‘यो विषयमा महानगरको काम, कर्तव्य र अधिकार एकदमै ‘लिमिटेड’ (सीमित) छ । यसमा उहाँहरूले आफ्नो मागसहित सम्बन्धित मन्त्रालयमा कुरा गर्दा हुन्छ ।’

यो महानगरको मात्रै नभएर संघीय सरकारको समेत सरोकारको विषय भएको उनी बताउँछन् । समन्वयबाट केही न केही निकास आउने तर, गैरकानुनी काम गरेर ज्ञापनपत्र बुझाउनु कत्ति पनि उपयुक्त नभएको उनी बताउँछन् ।

 


Author

थप समाचार
x