समाज

जब पाँच दशकदेखि हराएको टुकुचा खोला जय नेपाल हलबाट देखापर्‍यो...

महानगरको दुई महिनाअघिको सूचनाले खोज्‍ने साहस बटुल्‍यो

अतिन आचार्य |
भदौ ३०, २०७९ बिहीबार २१:३६ बजे

काठमाडौँ- पछिल्लो समय काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका संरचना तथा भवन हटाउने कार्यलाई तीव्रता दिँदै आएको छ । फुटपाथमा भएका संरचना, बेसमेन्टलाई पार्किङका लागि प्रयोग नगरेका र नक्सा पास नगरी बनाइएका संरचनालाई हटाउने काम महानगरले गरिरहेको छ ।

बिहीबार भने वर्षौदेखि सहरको बीच भागबाट हराएको टुकुचा खोलालाई महानगरले उधिनेको छ । ठूला-ठूला भवनको तल परेर बगिरहेको खोलालाई महानगरबाट गएका प्रहरीसहितको डोजरले खन्यो । फराकिलो खोला साँघुरिएर बगिरहेको थियो ।


आज खोला मिचेर बनाइएका संरचना भत्काउन महानगरको डोजर जयनेपाल हलको परिसर पुग्यो । हल परिसरको भित्री भाग डोजरले खोतल्दै जाँदा पानी बगिरहेको खोला भेट्टायो । ५८ वर्षपछि हलको भागमा पानी बगेको खोला भेटियो । यसभन्दाअघि सोही ठाउँबाट खोला बग्थ्यो । पातलो बस्तीमा खोला बग्थ्यो । बस्ती बढ्दै गयो, खोला हराउँदै गए ।

२०२१ को नापीको नक्सामा काठमाडौँ प्लाजा–जयनेपाल हल क्षेत्रमा टुकुचा खोलो बग्थ्यो । केही समयअघि २०२१ मा नापीको नक्सा नापी विभागमा हुनुपर्ने उपत्यका विकास प्राधिकरणले समेत दाबी गरेको थियो ।

टुकुचा खोलालाई ढाकेर व्यापारिक भवन निर्माण गरिएका छन् । भवनले खोलालाई पुरेर पुतलीसडकमा पुर्‍याएको छ । लाजिम्पाटमा देखिएको खोला पुतलीसडकमा मात्र बगेको देखिन्छ । खोलाको केही भाग नारायणी संग्रहालय हुँदै बगेको छ ।

महानगरले टुकुचा खोला आसपासको संरचना हटाउन केही समयअघि सार्वजनिक रूपमा सूचना गर्‍यो । करिब दुई महिनाअघि महानगरको वडा १ को सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवनदेखि जयनेपाल हलसम्म टुकुचा खोलाका किनारमा नक्सा पासविना बनाइएका संरचना हटाउन सूचना गरेको थियो ।

गत साउन १२ गते महानगरको सहरी व्यवस्थापन विभागबाट नक्सा पासविना संरचना निर्माण गरिएको सूचना हटाउन भनिएको थियो ।

सूचनामा भनिएको थियो, 'नक्सा पासविना बनाइएका संरचना र टहराहरू ३५ दिन भित्रमा हटाउनु हुन सम्बन्धित घरधनीहरूलाई जानकारी गराइन्छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र कामपाको नियमानुसार कारबाही गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।'

टुकुचाको कथा

टुकुचा खोलो बूढानीलकण्ठबाट सुरु भएर लाजिम्पाट हुँदै नारायणहिटी उत्तरढोका हुँदै गैरीधाराको बीचबाट छिरेर नारायणहिटीमा पसेपछि गायब भएको छ । त्यहाँबाट गायब भएको यो खोलो एकैचोटि बागबजार हुँदै प्रदर्शनी मार्गको खसी बजारमा मात्रै बगिरहेको देखिन्छ । फोहोर र मलमुत्र मिसिएर डुङडुङ गन्हाउँदै ।

नारायणहिटीबाट बगेको टुकुचा साँघुरिएको छ । नक्सामा पानी बगेको देखिन्छ । तर, देखिँदैन थियो आज महानगरले खोजेको छ । जयनेपाल हल अगाडिको पर्खालसम्म खोलाको नक्सा छ ।

टुकुचालाई छोपेर आलिशान महल बनाइएको छ । न त खोलो छ न त खोला बग्ने पानीको एउटा थोपो नै । पानी छ त केवल नदेखिने गरी भित्रभित्र बगिरहेको छ ।

काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोलो नक्साबाटै गायब भएको छ । खोलो बग्ने ठाउँमा ६० भन्दा धेरै कित्तामा बाँडेर व्यक्तिको नाममा दर्ता गरिएको छ  ।

मापदण्डविना बनेका संरचनाले खोलालाई खायो

संरचना बनाउँदा खोला वारि र पारि ६ मिटर छोड्नै पर्ने हुन्छ । तर, जयनेपाल हल निर्माण गर्दा टुकुचा खोलालाई गायब बनाइएको थियो । खोलालाई छोपेर विशाल महल ठडिए । वर्षौदेखि राज्य निरीह बन्यो तर, यसपटक भने स्थानीय सरकार जुर्मुरायो । त्यसैगरी, खोलामाथि काठमाडौँ प्लाजा ठडिएको छ ।

कहाँ-कहाँ हरायो ?

टुकुचा खोलो महानगरपालिकाको १,३० र ३१ नम्बर वडाबाट हराएको छ । डिल्लीबजारस्थित नापी कार्यालयको रेकर्डमा पनि खोला गायब भएको २०३३ मा नापीले देखाएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x